इटहरी । सुनसरीको गढी गाउँपालिका वडा नम्बर १ मा संचालिन श्री सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ ।
साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष संजयकुमार चौधरीले गरेका थिए भने प्रमुख अतिथि गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी रहेका थिए ।
साधारणसभाको सुरुवातमा संस्थाका अध्यक्ष संजयकुमार चौधरीले २०८०÷८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको लेखा संयोजक राजुकुमार चौधरीले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक स्थितिको विस्तृत विवरण दिएका थिए ।
कार्यक्रममा संस्थाले जेष्ठ बचतकर्ता महिला तथा पुरुष, फरक क्षमता भएका बचतकर्ता, उत्कृष्ट बचतकर्ता र ऋणी सदस्यहरूलाई प्रमाणपत्र र सम्मान स्वरूप उपहार प्रदान गरेको थियो।
श्री सहयोगी बचत तथा ऋण सहकारी संस्था २०६४ सालमा स्थापना भएको हो। हालसम्म संस्थामा १ हजार ५ सय ६० शेयर सदस्य छन् । संस्थाको कुल शेयर पूँजी २७ लाख ६७ हजार ५ सय रहेको छ भने आर्थिक वर्ष २०८०÷८१ मा संस्थाले १० लाख ४६ हजार ९ सय ४६ खुद नाफा आर्जन गर्न सफल भएको छ । सहकारीले आफ्नै भवन निर्माणको योजनालाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ प्रभावकारी सेवा दिन प्रतिबद्ध रहेको छ ।
गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीले सहकारी संस्थाको विकासका लागि टिमवर्क र प्रतिबद्धताको महत्वबारे चर्चा गर्दै सहकारीले गाउँपालिकाको आर्थिक विकासमा उल्लेखनीय भूमिका खेलिरहेको बताए । उनले सहकारीको सुदृढ भविष्यका लागि सम्पूर्ण शेयर सदस्य र नेतृत्व टिमले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गढी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रदीपकुमार चौधरी, जिल्ला सहकारी संघ लिमिटेड सुनसरीका अध्यक्ष गंगाप्रसाद दाहाल, संस्थाका संस्थापक अध्यक्ष अरुणकुमार चौधरी, बचत संघ सुनसरीका वरिष्ठ उपाध्यक्ष प्रलाद दाहाललगायत अन्य सहकारी संघका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, र संस्थाका शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अवसरमा जेष्ठ बचतकर्ता, फरक क्षमता भएका व्यक्ति, उत्कृष्ट बचतकर्ता, र उत्कृष्ट ऋणी सदस्यहरूलाई प्रशंसा गर्दै सम्मान गरिएको थियो। सम्मानित सदस्यहरूको योगदानले सहकारीलाई अझ गतिशील बनाउन सहयोग पुग्ने संस्थाका अध्यक्ष संजयकुमार चौधरीले बताए ।
यो साधारणसभाले संस्थाको आर्थिक पारदर्शिता, सामाजिक उत्तरदायित्व र भावी योजनालाई सुदृढ बनाउँदै आगामी दिनमा थप प्रगतिको आधार तयार गर्ने उद्देश्यलाई बलियो बनाएको छ ।
