कुमोद अधिकारी
विराटनगर । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत मोरङका न्यायाधीश उद्ववप्रसाद भट्टराईले गरे ।
ग्रामथान गाउँपालिकाको कार्यालयमा रहने गरि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
कार्यालय स्थापना पछि मुख्य निर्वाचन अधिकृत भट्टराईले सर्वदलीय छलफल गरेका छन् । उनले निर्वाचन स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने बताए । छलफलमा राजनीतिक दलले भयरहित निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
मुख्य निर्वाचन अधिकृत भट्टराईले निर्वाचन कार्यक्रम मंसिर २ गते देखि शुरू हुने बताए ।
पहिलो दिनको कार्यक्रम मनोनयन दर्ता रहेको उनले बताए। मनोनयन दर्ता विहान १० वजेबाट शुरू गरिने भएको छ ।
मनोनयन दर्ताका लागि राजनीतिक दलहरूलाई समय दिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आचारसंहिता, मनोनयन दर्ताकन लागि आवश्यक जानकारीबारे प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले जानकारी गराएका थिए ।
७ वटा वडा रहेको ग्रामथानमा उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता छन् ।
ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।