बाँकेमा कोदोखेतीको सफल परीक्षण

  • कार्तिक २८, २०८१ / नेपाल रेखा
alt

बाँके । बाँकेमा कोदोखेतीको सफल परीक्षण गरिएको छ । सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित गाभर भ्यालीमा कोदोखेतीको सफल परीक्षण गरेको हो । बैजनाथको चिसापानीमा गत साउनमा रोपिएको कोदो अहिले लहलह झुलेको छ ।

पहाड र हिमालको चिसो मौसममा मात्रै उत्पादन हुने कोदोको गर्मी हुने तराईमा सफल खेती गरिएको हो । “हामी दैलेखबाट बसाइ सरी बाँके आएको झण्डै दुई दशक भयो, अहिलेसम्म यहाँ कोदोखेती भएको देखेको थिइन”, बाँके सैनिकका रामबहादुर बुढाले भन्नुभयो, “गाभर भ्यालीमा कोदो फलेको देखेपछि मलाई पनि खेती गर्न मन लागेको छ ।”

सामुदायिक जिन बैंक सञ्जालका संयोजक पुरमल बस्नेतका अनुसार डेढ कट्ठाभन्दा बढी जग्गा भाडामा लिएर कोदोका विभिन्न प्रजातिको बिउ परीक्षणका लागि रोपिएको थियो । उहाँले भन्नुभयो, “एक÷दुई प्रजातिबाहेकका प्रजातिको सफल खेती भएको छ ।” उहाँले मङ्सिरको पहिलो सातातिर कोदो काट्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोदोखेतीको सफल परीक्षणले हामीलाई उत्साहित बनाएको छ । आगामी दिनमा तराईमा पनि कोदो उत्पादन गर्न सकिने सम्भावना देखिएको छ ।”

बस्नेतका अनुसार पाँच वटा प्रजाति जिन बैङ्कले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुईवटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विकास गरेका र अन्य दुई प्रजाति किसानले उत्पादन गरेका कोदोका जात छन् । “नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का प्राविधिकसँगको समन्वयमा परीक्षण गरिएको हो, उहाँहरु मङ्सिर पहिलो साता आउनुहुनेछ, उहाँहरु आएपछि टिप्ने योजना बनाएका छौँ”, बस्नेतले भन्नुभयो । रैथाने बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण उत्पादन गरिएको उहाँको भनाइ छ ।

विसं २०७८ मा चिसापानीको गाभर भ्यालीमा नेपालमै पहिलो सामुदायिक जिन बैङ्क स्थापना गरिएको थियो । जिन बैङ्कका सचिवसमेत रहनुभएका घरबास सञ्चालक सङ्घका महासचिव कृष्ण चौधरीले गाभर भ्यालीमा कोदोखेतकिो सम्भावना देखिएकाले परीक्षण गरिएको र त्यो सफल भएको बताउनुभयो । जिन बैङ्कले तराईमा कोदोसँगै विभिन्न रैथाने अन्नबाली, वनस्पति, पशुपन्छी, मौरी, सूक्ष्म जीवाणु र जलीयकुण्ड क्षेत्रमा काम गर्दै आएको छ ।

 

 

 

 

 

 

 

सडककाे दुरावस्था ...

केही दिनदेखिकाे वर्षाका कारण सुनसरीको इनरुवा नगरपालिका- ...

पुलको ड्याम पुर्ननिर ...

कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली ...

समाजका लागि केही गर् ...

हामीले सुरु गरेको ‘व्यक्तित्व परिचर्चा’ कार ...

कोशी प्रदेशसभामा बजे ...

विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकमा आगामी आर्थि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]