विराटनगरमा निकालियो भीमसेनजात्रा

  • असोज २, २०८१ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर–१० सनसारीमाईस्थानस्थित भीमसेन मन्दिर सेवा समितिको आयोजनामा मंगलबार भीमसेनजात्रा निकालिएको छ ।
मन्दिर परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले भीमसेनको मूर्तिमा पूजापाठ गरेर जात्राको शुभारम्भ गरेका थिए । मन्दिर परिसरबाट झ्याँकीसहित निकालिएको भीमसेनजात्रा ट्राफिकचोक, महेन्द्रचोक, शनिमन्दिर, भृकुटीचोक, डिएसपी रोड हुँदै अतिथिसदन, जलजलाचोक, बुधहाटचोक, रेम्बो गल्ली हुँदै झिः पुचमा पुगेर समानपन भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको बताए । उनले नेपालमा बसोबास गर्ने सबै जातजातिको आ–आफ्नै भाषा, कला र संस्कृति रहेको उल्लेख गरे । आर्थिक रुपमा नेपाल कमजोर भए पनि कला र संस्कृतिमा नेपाल विश्वमै धनी मुलुक भएको मन्त्री मण्डलको कथन थियो । नेवारी संस्कृति ऐतिहासिक र धनी संस्कृति भएको उनले बताए । नेवारी संस्कृतिले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाएको भन्दै मन्त्री मण्डलले भने, ‘नेपालभित्र रहेका सबै जातजातिका आ–आफ्नै कला र संस्कृति छन् । सबैको फरक विशेषता छन् । विराटनगरमा निकालिने भीमसेनजात्रा पनि एउटा महत्वपूर्ण संस्कृति हो भन्ने मलाई लाग्दछ ।’
उनले जात्रालाई निरन्तरता र मन्दिरको संरचना निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठले हरेक वर्ष भीमसेनजात्रा भव्य हुँदै गएको बताए । उनले जात्रामा मोरङ जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने नेवारी समुदायका व्यक्तिहरूको उपस्थिति हुने क्रम पनि बढेको उल्लेख गरे । ‘भीमसेनजात्रा परारभन्दा पोहोर भव्य भयो । अझै पोहोरभन्दा यसपटक झनै भव्य भयो,’ श्रेष्ठले भने ।
भीमसेनजात्राले युवापुस्तालाई आफ्नो भाषा, कला र संस्कृतिप्रति आकर्षित गर्न सहयोग पुग्ने मन्दिर व्यवस्थापन समितिका महासचिव भविसकुमार श्रेष्ठले बताए । नेपाली कला र संस्कृतिमा पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै गइरहेका बेला भीमसेनजस्ता नेपाली मौलिक संस्कृतिले युवापुस्तामा आफ्नो संस्कृतिप्रति जागरण ल्याउने दाबी गरे । हरेक जातजातिले आफ्नो भाषा, कला र संस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको महासचिव श्रेष्ठको भनाइ थियो । भीमसेनलाई लक्ष्मीको अर्को रुपमा पनि हेर्ने गरिएको श्रेष्ठले बताए । विगत १२ वर्षदेखि हरेक वर्ष इन्द्रजात्राका दिन विराटनगरमा भीमसेनजात्रा निकालिने गरेको श्रेष्ठले जानकारी दिए ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]