इटहरी । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको उपलक्ष्यमा इटहरीस्थित चुरे उत्थानशील आयोजनाको प्रदेश परियोजना व्यवस्थापन इकाईले अन्तर मा.वि. चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।
‘जैविक विविधता र चुरेको भविष्य’ विषयक प्रतियोगितामा इटहरी उपमहानगरपालिकाका १३ विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ३५ विद्यार्थीले भाग लिएका छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार ५००० पार्वती माविकी छात्रा एलिसा चौधरीले प्राप्त गरिन् । दोस्रो पुरस्कार ४००० जन सहयोग माविका छात्र सनिस लिम्बुले पाए । तेस्रो पुरस्कार ३००० राष्ट्रिय माविकी छात्रा अञ्जु सेनले पाइन् । सान्त्वना पुरस्कार २००० जन सहयोग माविकी छात्रा सेबिका तामाङ र २००० जन सहयोग माविकी छात्रा युजिन राईले पाए ।
प्रथम पुरस्कार विजेता एलिसा चौधरीले एकातर्फ मानवीय कृयाकलापले प्रकृतिको विनाश भएको र अर्कोतर्फ मानिसले प्रकृतिलाई माया गरेपछि प्रकृति हराभरा भएको चित्र बनाएकी छिन् । “हामीले प्रकृतिको सेवा गर्नुपर्छ र त्यसो गरेमा प्रकृतिको संरक्षण हुन्छ र मान्छेलाई पनि राम्रो हुन्छ भन्ने सन्देश मेरो चित्रमा छ, ‘प्रथम पुरस्कार विजेता एलिसा चौधरी भन्छिन् ।’
इटहरी उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका द्रोणप्रसाद दाहाल, वन तथा वातावरण शाखाका नोबलकिशोर भट्टराई, र कलाकार महेन्द्र राई प्रतियोगितामा तीन जना निर्णायक रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश वन निर्देशक इन्द्रमणि भण्डारीले पुरस्कार वितरण गरेका थिए । उनी भन्छन्,–‘विद्यालय स्तरको यस्तो प्रतियोगिताले जैविक विविधता र त्यसको संरक्षण गर्नुपर्ने हाम्रो जिम्मेवारीको बारेमा चेतना फैलाउँछ । यहाँ सहभागीले गरेको चित्र बनाउने अभ्यासले उनीहरूका घरपरिवार र साथीभाइमाझ जैविक विविधताको बुझाइ बढाउनेछ ।
आयोजनाका प्रदेश संयोजक राजकुमार गुप्ता भन्छन्,–‘चुरे क्षेत्रमा धेरै जैविक विविधता रहेको छ । चुरे उत्थानशील आयोजनाले वन प्राकृतिक रुपमा पुनःस्थापना तथा संरक्षण, पोखरी तथा छेकबाँधहरुको निर्माण लगायतका कामहरूको माध्यमबाट जैविक विविधताको संरक्षणमा काम गर्ने गरेको छ । माध्यमिक तहका विद्यार्थीहरूमाझ जैविक विविधताको बुझाइ र छलफल बढाउने उद्देश्यले हामीले यो प्रतियोगिताको आयोजना गरेका हौँ ।’