इटहरी । सुनसरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधीको लागि चर्च ब्वाइज युनाइटेड र बिभागीय टिम त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । इटहरी रंगशालामा बिहिबार सम्पन्न अन्तिम सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइजले आर्मीसंगको उपाधी भिडन्त पक्का गरेको हो ।
चर्च ब्वाइजका लागि समिर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ८९ औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनी खेलको म्यानअफ द म्याच समेत घोषित हुदै नगद १० हजार हात पारे ।
गत संस्करणको उपबिजेता चर्च ब्वाइजले अब उपाधीका लागि शनिबार फाइनलमा आर्मीसंग प्रतिष्पर्धा गर्नेछ । आर्मी साबिक बिजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी सुटआउटमा २–१ गोलको जीत हात पार्दै उपाधी नजिक पुगिसकेको छ । फाइनल खेलको बिजेताले नगद १० लाख रुपैया हात पार्नेछ । उपबिजेताले ५ लाख रुपैयामा चिक्त बुझाउनु पर्नेछ ।