‘गोक्यो स्कूलको भिजन भनेको रूपान्तरणसहितको शिक्षा दिनु हो’

  • चैत्र १४, २०८० / नेपाल रेखा
alt

इटहरीका निजी विद्यालयहरुको भीडमा छ इटहरी–३ को गोक्यो स्कुल । कुनै बेला तालतलैया एकेडेमी नामले चलेको गोक्यो स्कुल नयाँ व्यवस्थापन पाएपछि गोक्यो इन्टरनेशनल स्कुल बन्यो । यो स्कुल अन्य स्कुलभन्दा भिन्न भएको दाबी यसका निर्देशक प्रज्वल पराजुलीको छ । जिन्दगी, कला र कौशलसँग रमेका पराजुलीसहितको टिमले इटहरीको दुर्गम तर, चर्चित तालतलैयानजिकै गोक्यो स्कुललाई चम्काइरहेको देख्न सकिन्छ । गोक्यो स्कुलका निर्देशक पराजुलीसँग शिक्षा र विद्यालयकै सेरोफेरोमा रहेर गरेको कुराकानीः

गोक्यो स्कुल अरूभन्दा किन फरक छ ?

– सामान्य भाषामा हामी शिक्षाप्रदायक संस्था नै हौँ, जसरी अन्य विद्यालयहरूले शिक्षा प्रदान गर्छन् । तर, हामी विद्यार्थीलाई औपचारिकभन्दा पनि अनौपचारिक हिसाबले पढाउने र विद्यार्थीसँग भएको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउने काम गर्छौं । ठूलो मास अथवा माहौलमा गएर निर्धक्कसँग बोल्न सक्ने कसरी बनाउन सकिन्छ भनेर मिहिनेत गर्छौं । अनि ग्लोवल्ली कम्प्यारेटिभ शिक्षा इटहरीमै दिन्छौँ, जसले गर्दा उमेर र तहको वृद्धिसँगै अष्ट्रेलिया तथा अमेरिकामा कक्षा ७ मा पढ्ने विद्यार्थी र इटहरीमा हामीले पढाएको विद्यार्थीले एउटै लेभलमा सिकोस् र एउटै हिसाबले उसको विकास होस् भनेर शिक्षा दिन्छौँ । त्यो हाम्रो अरू विद्यालयभन्दा फरकपन हो ।

गोक्योको भिजन नै यही हो त ?

– हाम्रो भाषामा भन्नुपर्दा गोक्योमा अध्ययन गर्नु भनेको लोकल ग्राउण्डमा इन्टरनेशनल गोल गर्नुजस्तै हो । हाम्रो भिजन भनेको रूपान्तरणसहितको शिक्षा दिनु हो, जुन आजको आवश्यकता छ । विद्यार्थीसँग के क्षमता छ ? उसँगको आन्तरिक क्षमतालाई फर्मल अर्थात् औपचारिक भएरभन्दा पनि इन्फर्मल अर्थात् अनौपचारिकरूपबाट पहिचान गर्न सकिन्छ । बच्चा कुन कुरामा सक्षम छ ? के बन्न सक्छ ? कुन कुरालाई सहजै टिप्न सक्छ ? भन्ने कुराको पहिचान गरेर हामी शिक्षा प्रदान गर्छौं ।

तपाईंले तय गरेको भिजनलाई अभिभावकसँग कसरी काउन्सिलिङ गरिरहनुभएको छ । यसमा अभिभावकको भूमिका के रहन्छ ?

– वास्तवमा अभिभावकको अपेक्षा धेरै रहन्छ । उहाँहरू बच्चालाई विद्यालय पठाएपछि आफ्नो कर्तव्य पूरा भएको सम्झनुहुन्छ । तर, बच्चासँगको अभिभावकको जिम्मेवारी भनेको त्यतिमात्रै होइन । हामीले अहिले बच्चाको जुत्ता कसरी पोलिस गर्ने अथवा बच्चालाई कसरी पोलिस गर्न सिकाउने साथै बच्चाको टाई कसरी बनाउने भनेर अभिभावकलाई तालिम प्रदान गरिरहेका छौँ । बच्चाले होमवर्क गरेको छ कि छैन भनेर हेर्ने जिम्मा पनि अभिभावकको हो अनि विद्यालयमा बच्चाले गर्ने क्रियाकलाप र उसको पढाइमा चासो राख्न हामी अभिभावकलाई ऊर्जा भरिरहन्छौँ । बच्चा विद्यालय नआउँदासमेत त्यसको रेकर्ड राखेर हामी उहाँहरूलाई फोन गरेरै बच्चाको बारेमा जानकारी गराउँछौँ र बुझ्छौँ । अभिभावकले बच्चा र उसको शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

 गोक्योमा अहिले कस्तो टिम छ । भिजनअनुसारको रिजल्ट पाउन कसरी अध्यापन गराइरहनुभएको छ ?

– हामीले एक समय त भारतबाटै एक जना शिक्षक ल्याएर अध्यापन गरायौँ । अहिले पनि दक्ष जनशक्तिमार्फत् शिक्षा प्रदान गरिरहेका छौँ । अतिरिक्त क्रियाकलापसहित हामीसँग २५ जना शिक्षक शिक्षिका हुनुहुन्छ । सिकाइ प्रक्रियाको लागि म पढाउँछु भन्नुभन्दा पनि भित्रैदेखि अध्यापनमा रुचि भएको व्यक्ति आवश्यक पर्छ । हामीले पढाइसँगै नाटक, अभिनय, नृत्य, फुटबल, सङ्गीतलगायतका अतिरिक्त क्रियाकलापका शिक्षकहरू राखेका छौँ, जसले हाम्रो भिजन प्राप्त गर्न इँटा थपिरहनुभएको छ । हामी विद्यार्थीलाई हरेक गतिविधिमा संलग्न गराउँछौँ अनि कुन विधामा त्यो विद्यार्थी बाई इन्ट्रेस्ट लागिपर्छ, त्यो विषयमा उसलाई फोकस गराउँछौँ । सबैले आफ्नो क्षमता र रुचिअनुसारको शिक्षा गोक्योमा पाउँछन् । कतिपय समय हामीले कलालय, स्किल क्याम्पससँगको सहकार्यमा पनि सिकाइका क्रियाकलाप सञ्चालन गरिरहन्छौँ, जसले बच्चाको सिकाइको दायरालाई फराकिलो बनाउँछ ।

इटहरीको स्थानीय सरकारले निजी विद्यालयहरूको नियमन तथा अभिभावकत्व निर्वाह गरेको पाउनुभएको छ ?

– उपमहानगर भइकन अहिले शिक्षामा केही अग्रसर भएको छ । छात्रवृत्तिका कुरादेखि विद्यालय व्यवस्थापकका कुरा र शुल्क निर्धारणका साथै अन्य नियमनमा इटहरी उपमहानगरपालिकाले आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।

 गोक्योको निकट भविष्यमा के योजना छ ?

– अभिभावक शिक्षा पनि हाम्रो योजनाभित्रको कुरा हो । थप हामी अझ परिष्कृत हुँदै रूपान्तरणसहितको शिक्षा दिन तत्पर हुँदै आएका छौँ । इटहरीको बजारभन्दा टाढा पनि यति राम्रो विद्यालय छ भन्ने बनाउन लागिपर्छौं । चाँडै सिक्किम तथा दार्जिलिङ साइडबाट एक जना आवासीय शिक्षक ल्याउने योजना पनि छ । एउटा सहरको विद्यार्थी पढ्न बाहिर पठाउनु भनेको अन्याय हो । बच्चाहरू पढाउन बाहिरको सहर लैजाने प्रवृत्ति रोक्न हामी इटहरी–३ को यो गोक्यो स्कुलमै उत्कृष्ट शिक्षा प्रदान गर्छौं ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]