मोरङ । युवा विद्यार्थीमा राष्ट्रिय एकताको भावना जागृत गराउने तथा नेतृत्व क्षमता विकास गरी असल नागरिक बनाउने उद्देश्यले नेपाली सेनाले विद्यार्थीहरुका लागि सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल जुनियर तर्फ सि.सं.४९ को दीक्षान्त समारोह सम्पन्न गरिएको छ ।
नेपाली सेनाको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङ्गसिला ब्यारेकमा बिभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको सि.सं ४९ को दीक्षान्त समारोह सम्पन्न गरिएको हो ।
कोशी प्रदेशका मोरङ, पाँचथर, संखुवासभा, ओखलढुङ्गा, खोटाङ्ग र उदयपुर, मधेश प्रदेशका सिराह, महोत्तरी, धनुषा, सर्लाही, रौतटह र बाग्मती प्रदेशका सिन्धुली गरी जम्मा १२ वटा जिल्लाका १५ विद्यालयका ५ सय ४० जना विद्यार्थीहरुको सहभागितामा दीक्षान्त समारोह सम्पन्न गरियो । नेपाली सेनाको पूर्वी पृतनापति उपरथी आशबहादुर तामाङ्गको प्रमुख आथित्यमा दीक्षान्त समारोह सम्पन्न गरियो । राष्ट्रिय सेवा दलद्वारा शिक्षा मन्त्रालयको समन्वयमा विद्यालय तथा विद्यार्थी छनौट गरी १ सय दिने तालिम सञ्चालन गरिदै आएको छ ।
विद्यार्थीहरुको अध्ययनमा समस्या नहोस भनेर दुई चरणमा तालिम आयोजना गर्ने गरिन्छ । पहिलो चरणमा ७९ दिन आफ्नो विद्यालयमा तालिम दिने र दोस्रो चरणमा २१ दिन वार्षिक सामूहिक क्याम्प गरी गर्ने गरिन्छ । यस क्रममा ड्रिल, खुकुरी, तेक्वान्दो, एरोबिक्स, साधारण सैनिक ज्ञान प्रदान गर्ने गरिएको जानकारी गराइयो । यस पटकको तालिममा खोटाङ्गको त्रिभुवन मावि ऐसेलुखर्ककी छात्रा स्पन्दना राई प्रथम हुन सफल भइन् । पशुपति आवासीय मावि मोरङका छात्र प्रमन कार्की प्रथम हुन सफल भए। पशुपति आवासीय मावि मोरङकै छात्रा आरती दाहाल मोडल बृफिङ्ग तर्फ सर्वोकृष्ट, सगरमाथा इङ्गलिस बोर्डिङ्ग स्कुल उदयपुरकी छात्रा आश्था श्रेष्ठ बेस्ट स्पिकर र मनकामना रत्न अम्बिका मावि संखुवासभा बेस्ट प्लाटुन भई प्रथम विद्यालयमा बन्न सफल भएको जानकारी गराइयो । कार्यक्रममा सहाभागी विद्यालयहरुमा प्रमाणपत्र वितरण गरिएको थियो । यसै विच नेपाली सेनाको श्री कृष्णदल गण सुनसरीको समन्वयमा सुनसरीको वराहक्षेत्रको महेन्द्र मावि, इटहरीमा रहेको जनता मावि र धरानमा रहेको पव्लिक हाइस्कुल गरी तीन विद्यालयका एक सय सात जना विद्यार्थीहरुलाई एनसिसी सिनियर डिभिजन तालिम गराइरहेको नेपाली सेनाको कृष्ण दलका गणपति प्रमुख सेनानी अमित तामाङ्गले जानकारी गराए ।
दीक्षान्त समारोहमा तालिममा सहभागी विद्यार्थीहरुले दीक्षान्त कवाज सहित ड्रिल, खुकुरी ड्रिल लगायतका कलाकौशल प्रदर्शन गरेका थिए ।
