स्थानीय तहको भूमिका जवाफदेही र नागरिकमैत्री हुनुपर्छ–प्रधानमन्त्री दाहाल

  • पुस २, २०८० / नेपाल रेखा
alt

पाटन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको भूमिका जवाफदेही, पारदर्शी र नागरिकमैत्री हुनुपर्ने बताउनुभएको छ । आज ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहका क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताउँदै नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही पारदर्शी र नागरिकमैत्री हुनुपर्छ भन्नुभएको हो ।
“नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही पारदर्शी र नागरिकमैत्री हुनुपर्छ, समग्र स्थानीय सरकारको विश्लेषण गर्दा त्यो जिम्मेवारी जवाफदेही पूरा गर्न सफल भएकामा ललितपुर महानगरपालिकाका जनप्रतिनिधिसमेत सम्पूर्ण परिवारमा धन्यवाद ज्ञापन गर्दछु”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।
उहाँले ललितपुर महानगरपालिकाले मूर्त र अमूर्त सम्पदा संरक्षणमा लिएको चासो र गरेको चिन्तन प्रशंसनीय रहेको धारणा राख्दै उहाँले महानगरभित्र निर्माण भइरहेका देवालय, शिवालय यसका ज्वलन्त उदाहरण भएको बताउनुभयो ।
प्रधानमन्त्रीले संस्कृतिलाई आयआर्जनसँग जोड्ने काममा विशेष ध्यान दिनु जरुरी छ भन्दै पर्यटन प्रवद्र्धनमा ललितपुर महानगरको अग्रणी भूमिका रहेको बताउनुभयो । उहाँले विकास निर्माण र सेवा प्रवाहका सन्दर्भमा महानगर विवादरहित ढङ्गले बढिरहेकामा खुसी व्यक्त गर्नुभयो ।

सङ्घीयता भनेको सङ्घ मात्रै होइन, सङ्घसँगै प्रदेश र स्थानीय तह पनि हो भन्दै प्रधानमन्त्री दाहालले सङ्घीय निजामती ऐन ल्याएर प्रदेश र स्थानीय तहलाई बलियो बनाउन आफू लागिपर्ने जानकारी गराउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सङ्घीयताको कार्यान्वयनमा सङ्घीयताको मर्मअनुरुप संविधानले समन्वय सहकार्य र सहअस्तित्वको व्यवस्था गरेको र मिलेर विकास निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले उपत्यकालाई धुलोरहित बनाउन र यातायातको व्यवस्था सहज बनाउन लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । ललितपुर क्षेत्र नं २ बाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर महर्जनले ललितपुरलाई सांस्कृतिक महानगरका रुपमा विकास गर्न धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
त्यसैगरी बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले जनताको समस्या समाधानका लागि महानगरले गरिरहेका कामको प्रशंसा गर्दै वातावरण सुधारदेखि संस्कृति सम्पदा संरक्षणमा गरेको काम उत्कृष्ट रहेको धारणा राख्नुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँ र ललितपुर दुई परस्पर सम्बन्ध भएका महानगर रहेको बताउँदै दुवै महानगरको विकास समानान्तररुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय तहका अधिकारसम्बन्धी केही कुरा सङ्घीय कानुनमा बाझिएका प्रष्ट गर्दै यसलाई सहजीकरण गरेर समाधान गरिदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले विकास निर्माण र सेवा प्रवाहका सन्दर्भमा नेपाल सरकारसँग हातेमालो गर्दै आइरहेको जानकारी दिँदै धेरै ललितपुर महानगर धेरै कुरामा राम्रो काम गर्न सफल भएको धारणा राख्नुभयो । उहाँले ग्वार्कोको फ्लाइओभरको व्यवस्थापन नहुँदा उपत्यकाकै ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै ग्वार्को, सातदोबाटो, एकान्तकुनाका तीनवटै फ्लाइओभर एकै पटक बनाउन प्रधानमन्त्रीसँग आग्रह पनि गर्नुभयो ।
संविधानसभा सदस्य तथा पूर्वनगर उपप्रमुख चन्द्र महर्जन स्मार्ट स्टेटलाइट, संस्कृति सम्पदा संरक्षणमा ललितपुर महानगरले गरेको कामको जनताले प्रशंसा गरिरहेको बताउनुभयो । उहाँले संविधानका बारेमा जनतामा चेतना जगाउन विद्यार्थीमा जानकारी गराउनुपर्ने र पाठ्यक्रममा समेटिनुपर्ने धारणा राख्नुभयो ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरवासीलाई पानीको व्यवस्था गर्न र यहाँबाट उत्पन्न हुने फोहरमैलाको व्यवस्थापनका लागि सहयोग र सहजीकरणका लागि प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।
विसं २०७८ को जनगणनाअनुसार ललितपुर महानगरको जनसङ्ख्या दुई लाख ९४ हजार ९८ छ । ‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा पूर्वाधार’ भन्ने नारासहित सेवा प्रदान गर्दै आएको महानगरले आजदेखि आफ्ना नागरिकको स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । प्रधानमन्त्रीले आपाङ्गता भएका दुई व्यक्तिलाई स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरेसँगै यो कार्यक्रमको सुभारम्भ भएको हो ।
विसं १९७५ पुस २ गते सरसफाइ अड्डाका नामबाट स्थापित सरकारी कार्यालय पछि नगरपालिका र उपमहानगरपालिका हुँदै विसं २०७३ चैत १० गते ललितपुर महानगरपालिकामा परिणत भएको थियो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]