इटहरी । नेपाल पत्रकार महासंघ सुनसरी शाखाले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
बिहीबार इटहरीको दुर्गा पार्टी प्यालेसमा विजय दशमी, नेपाल सम्वत, दीपावली, छठ, बकरइद, उद्यौली, ल्होसार, माघी पर्वलगायत चाडपर्वको अवसरमा सो कार्यक्रम गरिएको हो ।
शुभकामना आदान प्रदान कार्यक्रममा प्रेस चौतारी सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेल, चौतारीकै कोशी प्रदेश उपाध्यक्ष सुमन पुरी, प्रेस युनियन कोशी प्रदेश महासचिव संजिव वाग्लेले पत्रकारिता पेशा संकटमा पर्दै गएकोले यसको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
त्यसैगरि, शाखाका पूर्व अध्यक्षहरु कृष्णविनोद लम्साल, कृष्ण अधिकारी, महासंघ कोशी प्रदेश कार्यसमिति सदस्य पिवी दियाली, प्रेस सेन्टरका उपमहासचिव राजन केडीलगायतले पनि पत्रकारिता पेशाको संकट उजागार गर्दै तीनै तहका सरकारले त्यस्तो संकटबाट पार लगाउन सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य श्रीशीशा राईले सुनसरी जिल्लामा समिति कार्यक्रम गर्ने तयारीमा रहेको जानकारी दिए ।
महासंघ केन्द्रीय सदस्य भीषण राई, सुनसरी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले खोजमुलक र वस्तुनिष्ठ पत्रकारिता आजको आवश्यकता रहेको बताएका थिए ।
महासंघ सुनसरी शाखा सहसचिव तिर्थ कार्कीले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष अजित झाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सभापतित्व उपाध्यक्ष गणेश निरौलाले गरेका थिए । कार्यक्रममा महासंघ केन्द्रीय सदस्य अमर खड्कासहित सुनसरीमा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।