नेपालको जिडिपी वृद्धिदर खुम्चिने–विश्व बैंक

  • आश्विन १८, २०८० / नेपाल रेखा
alt

काठमाडौँ । विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ ।
विश्व बैंकले साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो । नेपालले सन् २०२४ मा तीन दशमलव नौ प्रतिशत र सन् २०२५ मा पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
यस वर्ष न्यून आर्थिक वृद्धिदर (१.९ प्रतिशत), बढ्दो चालू खाता घाटा र मुद्रास्फीतिलाई विश्व बैंकले चुनौतीका रुपमा देखाएको छ । यस वर्ष जिडिपी तुलनामा चालु खाता घाटा छ दशमलव एक प्रतिशत हाराहारी पुग्ने र वार्षिक औसत मुद्रास्फीति सात दशमलव आठ प्रतिशत रहने अनुमान गरिएको छ ।
नेपालले आउँदा दुई वर्ष चर्को मुद्रास्फीति खेप्ने विश्व बैंकको प्रक्षेपण छ । मुद्रास्फीति सन् २०२४ मा साढे सात प्रतिशत र सन् २०२५ मा छ दशमलव चार प्रतिशत रहने प्रक्षेपण गरिएको छ । सन् २०२० मा कोभिड–१९ महामारीका कारण नेपालको आर्थिक वृद्धिदर नकारात्मक गएको थियो । त्यसयताको सबैभन्दा खराब अवस्था नेपालले यस वर्ष भोगेको छ । नेपालको यस वर्षको आर्थिक वृद्धिदर पछिल्लो एकदशकयताको औसत आर्थिक वृद्धिदरभन्दा न्यून हो ।
नेपालले अवलम्बन गरेको कसिलो मौद्रिक नीति र आयातमा गरिएको कडाइका कारण आर्थिक वृद्धिदरमा सङ्कुचन देखिएको विश्व बैंकले जनाएको छ । विद्युत् उत्पादनका क्षेत्रमा राम्रो प्रगति देखिएकाले त्यसको सकारात्मक प्रभाव औद्योगिक क्षेत्रमा देखिएको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । कर्जाको माग बढ्न नसक्नु र समग्र बजार माग खुम्चिँदा निजी क्षेत्रको लगानी बढ्न नसकेको प्रतिवेदनमा जनाइएको छ । त्यस्तै पशु चौपायामा देखिएको लम्पी स्कीन रोग र सिँचाइ अभावका कारण धान उत्पादनमा कमी आउँदा समग्र कृषि क्षेत्रको वृद्धिदरमा सङ्कुचन आउनसक्ने अनुमान विश्व बैंकको छ ।
सन् २०२५ सम्ममा नेपालको चालू खाता घाटा जिडिपीको तुलनामा तीन दशमलव सात प्रतिशत पुग्ने अनुमान गरिएको छ । त्यस्तै नेपालको जिडिपी अनुपातमा बढ्दो सार्वजनिक ऋण र त्यसको साँवाब्याज भुक्तानी गर्दा बजेट खर्चमा देखिने दायित्वको अंश बढ्ने देखिएको छ ।
केही दिनअघिमात्र एशियाली विकास बैंक (एडिबी) ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको थियो ।
एडिबीले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]