इटहरी । नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय इटहरीमा निःशुल्क होटल म्यानेजमेन्ट अध्यापन गराइने भएको छ ।
आइतबार सुनसरीको धरानमा पत्रकार सम्मेलन गरी शिक्षालयले एसएलसी उत्तिर्ण वा एसर्ईई परीक्षामा सामेल भएको साथै जुनसुकै ग्रेड ल्याएका विद्यार्थीहरुलाई निःशुल्क होटल म्यानेजमेन्ट तालिम दिने शिक्षालयका अध्यक्ष एकचन्द्र (निर्मल) बरालले बताए ।
बरालकाअनुसार प्राविधिक शिक्षा तथा तालिममा सहभागी हुन इच्छुक प्रशिक्षार्थी १६ वर्ष उमेर पुरा भै २५ वर्ष सम्मका नेपाली नागरिक हुनु पर्नेछ ।
लिखित र मैखिक परीक्षामा उत्तिर्ण ४० जना प्रशिक्षार्थीहरु होटल म्यानेजमेन्ट अध्ययन सहित तालिममा सहभागी हुन पाउने अध्यक्ष बरालको भनाइ छ । प्रशिक्षार्थीहरुले औद्योगिक अभ्यास तालिम गरेवापत न्यूनतम् पारिश्रमिक ज्यालाको २५ प्रतिशत प्रोत्साहन रकम पाउनेछन् । हाजीरी अनुसार दैनिक १ सय रुपैया यातायात खर्च प्राप्त गर्नुका साथै पोशाक खर्च वापत २५ सय रकम उपलब्ध हुनेछ ।
प्रशिक्षार्थीहरु उद्योग र व्यवसायमा गएर अनुभवि कामदारको प्रत्यक्ष मातहतमा रही दैनिक उत्पादन प्रक्रियामा सहभागी भै सीप र क्षमताको अनुभव प्राप्त गर्ने अध्यक्ष बरालले बताए ।
तालिम २४ महिनाको हुनेछ । साथै २४ महिनाको अवधिमा प्रशिक्षार्थीहरुको करिव साढे ३ महिना शिक्षालयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञानआर्जन गर्ने छन् । साथै प्रशिक्षार्थीहरुले साढे १९ महिना उद्योग व्यवसायमा व्यावहारिक सीप र कार्यस्थलको अनुभव प्राप्त गर्ने छन् ।
सो अवधि भित्र हप्ताको १ दिन शिक्षालयमा उपस्थित भै सीप तथा ज्ञान लिनुपर्ने छ । प्रशिक्षार्थीहरुलाई उद्योग तथा व्यवसायले ६ महिनाको अन्तरालमा ३ पटक आन्तरिक मूल्यांकन गर्ने छ भने तालिम अवधिको अन्तिम १ महिना शिक्षालयमा आएर सिक्न बाँकी रहेको सीप सिक्दै र परीक्षाको तयारी गर्नु पर्ने साथै अन्तिम मूल्याङकनका लागि प्रविधिक शिक्षालय तथाा व्यवसायिक तालिम परिषद सिटीभिटीले परीक्षा नियन्त्रण गर्ने जानकारी दिएको छ ।
प्रशिक्षार्थीहरुले तालिम समापन पश्चात प्रि–डिप्लोमा तहको प्रमाणपत्र प्राप्त गर्नेछन् । तालिममा उत्कृष्ठ प्रशिक्षार्थीहरुले नेपाल सरकारको लोक सेवा आयोगद्धारा लिइने सम्बन्धित बिषयको पदमा प्रतिस्पर्धा गर्न सक्ने अपेक्षा गरिएको छ ।
तालिममा सहभागी हुन चाहने इच्छुक विद्यार्थीहरुले आवेदन असोज ७ गतेसम्म फारम भर्न पाउने छन् । लिखित र मैखिक परीक्षा नरबहादुर कर्माचार्य बहुउद्देश्यीय शिक्षालय इटहरीमा हुनेछ ।
प्राविधिक शिक्षा अध्ययन सहित तालिमको कार्यान्वयन कोशी प्रदेश सामाजिक बिकास मन्त्रालय र प्राविधिक सहयोग हेलभेटासको रहेको छ । औद्योगिक प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षालय र उद्योग व्यवसाय दुवै ठाउँमा सिकिने सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन सहितको शिक्षाको लागि यो कार्यक्रम ल्याइएको हो ।