राजन केडी
इटहरी । इटहरीको जनता बहुमुखी क्याम्पसमा भोली शनिबार संचालक समितिको निर्वाचन हुदैछ । संचालक समिति सदस्य पदका उमेदवारहरुको घोषणा गरिएको छ ।
बिहीवार इटहरीको होटल चिन्तन चौतरीमा पत्रकार सम्मेलन गरि १३ जना सदस्य पदका उमेदवारहरुको घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा घोषित उमेदवाहरु विकास केसी, रेवतीप्रसाद घिमिरे, युगप्रिय निरौला, शिवराज दाहाल, मुक्तिनाथ रिजाल, शेखर लुइटेल रहेका छन् ।
त्यसैगरि, सदस्य पदका अन्य उमेदवारहरुमा ईश्वर भट्टराई, विकल रेग्मी, मात्रिका रेग्मी, तिर्थराज पराजुली, दिनेशकुमार भट्टराई, अम्बिका श्रेष्ठ र भैरवप्रसाद सापकोटा रहेका छन् ।
पत्रकार सम्मेलनमा वितरित संयुक्त अपिलमा यी उमेदवारहरुलाई साझा उमेदवारकारुपमा चित्रित गरिएको छ । अपिलमा नेपाली कांग्रेस इटहरीका कार्यबाहक सभापति बालकृष्ण विष्ट, नेकपा एमाले इटहरी अध्यक्ष याम सुब्बा, माओवादी केन्द्र इटहरी नगर उपाध्यक्ष कविन्द्र केसी, राप्रपा इटहरी अध्यक्ष आकाश सुब्बा, रा.स्व.पा.का नगर सदस्य हिरामणि घिमिरे र जसपा नगर अध्यक्ष डिल्ली सुब्बाले हस्ताक्षर गरेका छन् ।
पत्रकार सम्मेलनमा उमेदवार विकास केसीले विद्यार्थी र समयको माग अनुसार शैक्षिक वातावरण बनाउन आफूहरुले उमेदवारी दिएको बताए । केसीले क्याम्पसमा छात्रवास निर्माण पहिलो प्राथमिकता भएको बताए । साथै अर्का उमेदवार रेवती घिमिरेले जनता क्याम्पसलाई विश्वविद्यालयको आंगिक क्याम्पसको मान्यता दिलाउन आफूहरु लागि पर्ने बताए ।
त्यसैगरि उमेदवार विकल रेग्मीले निजी क्याम्पसको भन्दा गुणस्तरीय शिक्षा, व्यवस्थित सूचनाप्रणाली तथा इन्टरनेटमा आधारित प्रशासनिक सेवा साथै प्रयोगात्मक र रोजगारमुखी शिक्षाका लागि वातावरण निर्माण प्रमुख ऐजेण्डा रहेको बताए ।
पत्रकार सम्मेलनमा अध्यक्ष याम सुब्बाले क्याम्पसको भविष्य निर्माणका लागि यो टिमको जित अपरिहार्य रहेको बताए । त्यसैगरि एमाले इटहरी सचिव रुपेश बस्नेतले संचालक समितिको निर्वाचनलाई व्यवस्थित गर्न आफूहरुले सर्वपक्षीय समिति निर्माण गरेको बताए ।
साथै, स्वतन्त्र रुपमा उमेदवारी दिनेहरुमा ठमनाथ लम्साल, नारायण सुवेदी, टंक खनाल, मात्रृका आचार्य, पेशल लम्साल, उर्मिला कटुवाल, गणेश बुढाथोकी, रमेश खत्री, कमल तिम्सिना लगायत १९ जना रहेका छन् ।
निर्वाचन सम्पन्न गराउन क्याम्पसको तर्फबाट पनि समिति बनेको छ, जसको संयोजकमा क्याम्पस प्रमुुख गिता अधिकारी (पौडेल) र सहायक क्याम्पस प्रमुख टोलनाथ काप्mले रहेका छन् ।
निर्वाचन समितिका अनुसार संचालक समिति सदस्यमा ३२ जनाको उमेदवारी परेको छ । क्याम्पसको विधान अनुसार परिषद सदस्यहरुले संचालक समिति सदस्य १३ जना छान्ने छन् र ती निर्वाचित सदस्यहरुले ४ जना सदस्य मनोनयन गर्नेछन् र ६ जना पदेन सदस्य क्याम्पस प्रमुख पदेन सदस्य सचिव, स्ववियु सभापति, प्राध्यापक संघ सभापति, सम्बन्धित वडाध्यक्ष, नगर प्रमुख र त्रीभुवन विश्वविद्यालयले नियुक्ति गरेको प्राध्यापक सदस्य गरी जम्मा २३ जना सदस्य हुने छन् । यीनै २३ जनाले संचालक अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष चयन गर्ने छन् ।
परिषद सदस्यहरु ७३० जना रहेकामा कतिपय विदेश गएका कतिपय इटहरीमा नभएका कारण बढीमा ४ सय मत खस्ने अनुमान गरिएको छ ।
क्याम्पसमा शिक्षा संकाय, व्यवस्थापन संकाय, मानविकी संकाय र विज्ञान संकाय गरि (कक्षा ११ र १२ बाहेक) करिब ६ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । ८८ जना प्राध्यापकहरु अध्यापन गरिरहेका छन् । २०४५ सालमा स्थापना भएको क्याम्पसको स्थापना कालको क्याम्पस प्रमुख दधिराम आचार्य थिए भने संस्थापक संचालक समितिको अध्यक्ष रमेश श्रेष्ठ थिए ।