इटहरी । पत्रकारिताका माध्यमबाट सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पूर्वी हटलाइन दैनिकका कार्यकारी सम्पादक राजन केडी, सप्तकोशी टेलिभिजनकी सञ्चालक तथा समाचार संयोजक रञ्जना पौडेल, ग्यालेक्सी फोकेका प्रकास तिम्सिना पदम पवित्रा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।
दुर्गाबहादुर विष्टले स्थापना गरेको पदम–पवित्रा पुरस्कार इटहरी उपमहानगरपालिका वडा नम्बर–६ मा रहेको स्वागत टोल विकास संस्थाको १८ औं स्थापना दिवसको अवसर पारेर तीन जना पत्रकारहरुलाई प्रदान गरिएको हो ।
पदम पवित्रा अक्षय कोषबाट प्रदान गरिएको पत्रकारिता पुरस्कारबाट सम्मानित हुने केडी, पौडेल र तिम्सिनालाई कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले जनही १५ हजार ५ रुपैयां सहित प्रमाण पत्रले सम्मान गरे ।
पत्रकारिता पुरस्कारका साथै मातापितालाई राम्रो स्याहार गर्ने मोहनप्रसाद गुरागाई, श्रीमती कमला गुरागाई र जमुना खुलाललाई नगद १० हजार ५ रुपैया सहित प्रमाण पत्रले सम्मान गरियो । त्यसै गरी स्वागत टोल विकास संस्थाले उत्कृष्ट नजिता ल्याएर एसइई पास गर्ने टोल विकासका सदस्यका सन्तती, दलित प्रोत्साहन, उत्कृष्ट खेलाडी, उत्कृष्ट सञ्चालक, अपागंता सम्मान लगायतका सम्मान गर्दै आएको छ । यस वर्ष आफ्नै टोलकी वासिन्दा मिना श्रेष्ठ प्रदेश सभा सदस्य बन्न सफल भएकाले उनलाई समेत सम्मान गरियो । कार्यक्रममा अध्यक्ष भद्रा थापा मगरले बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमला पोखरेलले प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख पौडेलले टोल विकासहरुको सक्रियताले विकास निर्माणका काममा स्थानीय सरकारलाई घच्घचाउने काम हुदै आएको भन्दै टोल विकासलाई स्थानीय सरकारले विकास निर्माणका काममा जोडेर सहयोग गर्ने समेत बताए ।
चण्डिका निरौलाको संयोजकत्वमा स्वागत टोल विकासको १८ औं स्थापना दिवस मनाइएको हो । स्वागत टोल विकास संस्था आफ्नै भवनमा रहेको आफनो टोलको विकासका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ । कार्यक्रममा नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्का, जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगाप्रसाद दाहाल, छिमेकी टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
