कुमोद अधिकारी
विराटनगर । रेडियो नेपालको समावेशी प्रसारण समुदायको सहभागिता विषयक अन्तरक्रिया एवं समाचार उत्पादन तथा प्रसारण डिजिटल प्रविधिको प्रयोग सम्वन्धी तालिम शुरु भएको छ ।
विराटनगर महानगरपालिका–४ खार्जी स्थित तारिणीप्रसाद कोइराला स्मृति संचारग्राम रेडियो नेपालमा तालिम एवं अन्तरक्रिया शुरु भएको हो । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटाबाट प्रसारण हुदै आएको पूर्वेली थारु, राई वान्तवा तथा लिम्बू भाषाको समाचार तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा श्रोता समक्ष कार्यक्रमले पारेको प्रभाव तथा आगामि दिनमा सुधार गर्नुपर्ने बिषयमा रेडियो नेपालले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
तालिमको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विश्वसनीय र आधिकारीक माध्यमको रुपमा रहेको रेडियो नेपालले सबै भाषाभाषीको संरक्षण र सम्वर्धनमा जोड दिदै आएको बताए । उनले नेपालमा प्रसारण संस्थाको रुपमा अग्रस्थानमा रहेको रेडियो नेपालको इतिहास विराटनगरबाटै शुरुवात भएको र हाल रेडियो नेपालसंग सहकार्यमा विभिन्न कामहरु गरिरहेकाले संधै साथ र सहयोगमा आफु तयार रहेको बताए ।
उनले सबै जातजाति र समुदायको भाषा र संस्कृतिलाई सम्मान गर्दै कोशी प्रदेशलाई समृद्ध बनाउन लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा रेडियो नेपालले खेलेको भूमिका तथा तारिणीप्रसाद कोइराला र रेडियो नेपालको विगत र हाल सम्मको अवस्था देखाउने वृतचित्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा रेडियो नेपालका निर्देशक पुष्करराज गौतमले रेडियो नेपालले भाषा, कला, संस्कृतिको क्षेत्रमा गरेका कार्यक्रमहरुले स्थानीय क्षेत्रमा परेको प्रभाव र सुधार गर्ने विषयमा जानकारीको लागि सहयोग पु¥याउने बताए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय योजना अनुगमन तथा मुल्याङ्कन शाखा प्रमुख केशवराज सुवेदीले रेडियो नेपालले प्रसारण क्षेत्रमा पु¥याएको योगदानलाई सरकारले महत्व दिएको र रेडियोले आफूलाई थप प्रतिस्पर्धी बनाउँदै जानुपर्ने उल्लेख गरे ।
रेडियो नेपालका उपनिर्देशक तथा तालिम प्रमुख जर्नादन विष्टले कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए । यस्तै कार्यक्रममा नेपाल प्रत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरेले रेडियो नेपालले भाषिक रुपमा समावेशितालाई तल्लो तहसम्म पुग्नेगरी कार्यक्रम प्रशारण गर्दै आएको बताए ।
सो कार्यक्रम रेडियो नेपाल प्रदेशिक प्रसारण केन्द्र धनकुटाका प्रमुख उद्धवसिंह ढाट क्षेत्रीको अध्यक्षतामा भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा राई वान्तवा भाषामा दिलेन्द्रकुमार सुब्बाले कार्यपत्र प्रस्तुत गरेका थिए भने सन्जय सन्तोषी राईले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । त्यस्तै लिम्बु भाषामा दिलकुमार थेबेले कार्यपत्र प्रस्तुत गरेका थिए । पुर्वेली थारु भाषामा भुदेव भगतले कार्यपत्र तथा सर्वणकुमार सुतिहार र गगनसिंह थारुले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । तीनदिन सम्म चल्ने सो तालिममा कोशी प्रदेशका १४ वटै जिल्लाका रेडियो नेपाल सम्वाददाताहरुको सहभागिता रहको छ ।