राजन केडी
इटहरी । स्वदेशमै स्वरोजगार सिर्जना उद्देश्यले संचालन गरिएको इटहरी कृषि फार्म प्रा.लि.मा आधुनिक खोर निर्माण गरिएको छ ।
सुनसरीको इटहरी–७ बज्राहमा संचालित फार्मको आधुनिक खोरमा उन्नत जातका १० बोका र १ सय ११ बाख्रा पालन गरिएको छ । मासुको लागि खसी, बोका पालन, पाठापाठी उत्पादनका लागि बोका–बाख्रा पालिएको फार्मका व्यवस्थापक निर्मल श्रेष्ठले बताए । उनले फार्मबाट आफूसहित ७ जना स्वरोजगार भएको बताए । श्रेष्ठका अनुसार भर्खरै फार्ममा उन्नत जातका बाख्रा खरिद गरि ल्याइएको छ ।
फार्ममा ५ हजार लोकल कुखुरासमेत पालन गरिएको छ । त्यसबाट दैनिक ३ सय केजी मासु बजार पठाइरहेको श्रेष्ठले बताए ।
फार्म संचालनको लागत १ करोड २ लाख ८० हजार रहेकोछ । यसकालागि नेपाल बंगलादेश बैंकबाट ३० लाख ८४ हजार ऋण लिइएको श्रेष्ठले जानकारी दिए । नेपाल सरकार, कृषि तथा पशुपंछी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग इकाई विराटनगरले ५१ लाख ४० हजार अनुदान दिएको उनको भनाइ छ । यो फार्मको आयोजनाकी प्राविधिक भारती लिम्बू बोखिम, ७ नम्बर वडा अध्यक्ष देवनारायण चौधरीलगायतले अनुगमन गर्नुका साथै स्थानीयवासी र फार्म संचालक समूहका सदस्यहरुसंग अन्तरक्रिया गरेका छन् ।
आगामी दिनमा १ हजार जनालाई रोजगारी दिने योजना रहेको श्रेष्ठको भनाइ छ ।