लेटाङ्ग । विभिन्न कारणले आन्तरिक आयस्रोतमा कमी आएको तथा संघीय सरकारबाट प्राप्त हुने राजस्व बांडफाँड रकम समेत घटेका कारण लेटाङ्ग नगरपालिकाले अघि सारेका योजनाहरु प्रभावित बन्ने अवस्था आएको जनाएको छ ।
लेटाङ्ग नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि आन्तरिक आयस्रोतमा आएको कमीका साथै संघीय सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड रकममा कमी आएपछि योजनाहरु प्रभावित हुने अवस्था आएको जानकारी गराएको हो ।
नगरपालिका प्रवक्ता भुम सुर्यमगरले नगरवासीको अपेक्षालाई सम्वोधन गर्दै विभिन्न भौतिक तथा मानवीय विकासका योजनाका लागि नीति तथा कार्यक्रममा समावेस गरी समृद्ध नगर र सुखी नगरवासी बनाउने लक्ष्य र उद्देश्यका साथ अघि बढेको अवस्थामा घोषित नीति तथा कार्यक्रम कार्यान्वयनमा कठिनाई हुने अवस्था सिर्जना भएको बताएका हुन् । उनले आर्थिक वर्ष २०७८÷२०७९मा ९४ करोड १६ लाख ३९ हजार बजेट निर्माण भएकोमा चालु आर्थिक वर्ष २०७९÷२०८० मा ७८ करोड ६३ लाख २० हजारको बजेट ११ औं नगरसभाका पारित हुन पुगेको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५ करोड ५३ लाख १९ हजार कम रहेको जनाए । बजेट घटेका कारण कतिपय क्रमागत योजना र दायित्व भुक्तानीका लागि बजेटको ठुलो हिस्सा छुट्याउनु परेका कारण नयाँ ठुला योजना तर्जुमा तथा कार्यान्वयन गर्न वाधा पुगेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पत्रकार सम्मेलनमा नगरपालिकाको आर्थिक र विकास निर्माणका योजना प्रभावित हुने विषयमा प्रवक्ता मगर सहित लेखा अधिकृत डिकबहादुर सोडारी, इन्जिनियर भानुभक्त राई, वडाध्यक्षहरु वडा नम्बर १ का विष्णुकुमार मगर, वडा नम्बर २ का तेजप्रसाद तिम्सिना, वडा नम्बर ३ का डम्बर राई र वडा नम्बर ४ का रामकुमार श्रेष्ठ लगायतले पत्रकारहरुलाई जानकारी गराएका छन् । सो क्रममा नगरपालिकाले अघि सारेका अन्तर धार्मिक शान्तिपार्क, नगरपालिका प्रशासनीक भवन, अन्तर सांस्कृतिक संग्राहलय निर्माण, रंगशाला निर्माण, विभिन्न संघ संस्थासंगको साझेदारी कार्यक्रम, आर्थिक विकासका केही योजनाहरु प्रभावित हुने जनाइयो ।