राष्ट्रिय सुरक्षाको क्षेत्र व्यापक छ–प्रधानसेनापति शर्मा

  • फागुन ३०, २०७९ / नेपाल रेखा
alt

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाले राष्ट्रिय सुरक्षा सुनिश्चित र राष्ट्रियहित प्रवद्र्धन गर्ने हेतुले विभिन्न मन्त्रालय, निकाय र सुरक्षा सङ्गठनका नीति तर्जुमा तहमा रहने माथिल्लो अधिकृतका लागि उच्चस्तरीय राष्ट्रिय सुरक्षासम्बन्धी तालिम सञ्चालन गरेको छ ।
शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड कलेजमा सुरु भएको आठौँ समूहको उक्त १५ दिने तालिममा राष्ट्रिय सुरक्षाका बहुपक्षीय आयामलगायत राष्ट्रियहितका विविध विषयमा ज्ञान दिइनेछ ।
तालिममा राष्ट्रिय शक्तिका तत्व, राष्ट्रिय शक्तिका रुपमा कूटनीतिः अवसर र चुनौती, नागरिक–सैनिक सम्बन्ध, रणनीति निर्माण प्रक्रिया, राष्ट्रिय सुरक्षा, सुरक्षा नीतितर्जुमाका विषयमा विद्वानको अनुभव प्रस्तुति हुनेछ ।
प्रशिक्षार्थीलाई राष्ट्र, राज्य प्रणाली, शक्ति बाँडफाँटका संयन्त्र, यसका चुनौती र अबको बाटो, सैन्य कूटनीति, नेपालको भू–रणनीति र भू–राजनीतिका विषयमा सुरक्षा र कूटनीति क्षेत्रमा दख्खल राख्ने विज्ञले प्रशिक्षण दिनेछन् ।
नेपालको अर्थ व्यवस्था र यसका चुनौती, समृद्धिका लागि राजनीतिक स्थायित्व, भू–रणनीतिक सन्दर्भः सैन्य आवश्यकता, सङ्घीयता, सम्भावना र राष्ट्रिय सुरक्षा, अधिक सोत न्यून उपायोग, नेपालको अर्थ सामाजिक विकासका लागि ऊर्जाको सम्भाव्यता र सुरक्षा चुनौती विषयमा पनि गहन छलफल हुनेछ ।
विज्ञले मुलुकको सामाजिक, राजनीतिक र राष्ट्रिय सुरक्षामा तिनको असर, नेपालको सामाजिक तथा सांस्कृतिक बनावट, हिमाली क्षेत्र र राष्ट्रिय सुरक्षा विषयमा सिकाइ प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।
तालिम उद्घाटनका अवसरमा सुरक्षा क्षमता, सीमा सुरक्षा प्रवद्र्धन, क्षेत्रीय सहयोग प्रवद्र्धन, आन्तरिक द्वन्द्वको सम्बोधन र विपद् न्यूनीकरणमा सबै निकायबीच साझा प्रयासको खाँचो आँैल्याइयो । उक्त तालिमको सुभारम्भ गर्दै प्रधानसेनापति प्रभुराम शर्माले शीतयुद्धपश्चात्को परिवर्तित विश्वव्यवस्था तथा तीव्र गतिमा बढी रहेको विश्वव्यापीकरणले राष्ट्रिय सुरक्षाका क्षेत्रलाई व्यापक बनाउँदै लगेको बताए ।
उनले राष्ट्रिय सुरक्षामा पैदा हुने बाह्य खतराको सामना गर्न सैन्य शक्तिको महत्त्व तथा आवश्यकता यथावत नै रहेको तथ्यलाई विश्वका धेरै घटनाक्रम र विशेषतः जारी रुस–युक्रेन युद्धले पुष्टि गरेको धारणा व्यक्त गरे ।
नेपालको राष्ट्रिय सुरक्षा नीतिले राष्ट्रिय हितको अभिवृद्धि एवं राष्ट्रिय सुरक्षा सुदृढीकरणको दिशामा कोशेढुङ्गाको काम गर्ने बताउँदै प्रधानसेनापति शर्माले राष्ट्रिय हित, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका महत्वपूर्ण विषयमा व्यापक अध्ययन, अनुसन्धान तथा अन्तक्र्रियाका लागि आवश्यक राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनका लागि भौतिक संरचनाको निर्माण तीव्ररुपमा अघि बढी रहेको उल्लेख गरे ।
रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले तालिमबाट राष्ट्रिय सुरक्षाका विभिन्न आयम र पक्षमा ज्ञान हासिल भई मन्त्रालय, विभाग र अरु निकायमा रणनीतिक नीतितर्जुमा गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहुआयामिक चुनौती र आन्तरिक द्वन्द्व अन्त्य गर्न सेनालगायत अन्य सुरक्षा अङ्ग र सम्बन्धित मन्त्रालय एवं निकायको क्षमता अभिवृद्धि गर्न आवश्यकता छ ।”
सचिव शर्माले साना राष्ट्रले सुरक्षा, स्थिरता र समृद्धि माथि आइलाग्ने विभिन्न चुनौती सम्बोधन गर्न कूटनीति, समूह निर्माण, सैनिक क्षमता अभिवृद्धि, विपद् क्षति न्यूनीकरण तयारी, अर्थतन्त्रको विविधीकरणका साथै प्रभावकारी रणनीति तयार गर्न आवश्यक रहेको धारणा प्रस्तुत गरे।
उनले जनताको सुरक्षा, सीमा पार हुने आपराधिक क्रियाकलाप र आतङ्कवाद नियन्त्रण तथा प्राकृतिक विपद्का घटनामा क्षति न्यूनीकरण गर्न सुरक्षा समयन्त्रले काम गरिरहेकाले यसमा आउने थप चुनौतीको समाना गर्न सुरक्षा बलको आधुनिकीरण, नवीनतम प्रविधिको प्रयोग र तालिम आवश्यक रहेको बताए ।
तालिममा विभिन्न मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, सञ्चारमाध्यमलगायत सरकारी र गैरसरकारी निकायका वरिष्ठ अधिकारी ३० जनाको सहभागिता छ ।
यसअघि उक्त कलेजबाट प्रधानसेनापति शर्मासहित एक सय ६६ जना शिक्षार्थीले अनुशिक्षण पूरा गरेका थिए । प्रधानसेनापति शर्माले पहिलो समूहमा उक्त अनुशिक्षण लिएका हुन् ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]