मोरक्को र क्रोएसियाबीचको खेल बराबरी

  • मंसिर ८, २०७९ / नेपाल रेखा
alt

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्गत समूह एफको खेलमा मोरक्को र क्रोएसियाबीचको खेल बराबरीमा सकिएको छ ।
कतारको अल बायत स्टेडियममा भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यस बराबरीसँगै क्रोएसिया र मोरक्कोले समान एक–एक अङ्क जोडेका छन् ।
साथै, बेल्जियमले कतारमा जारी विश्वकप फुटबलमा सुखद सुरुवात गरेको छ । समूह एफ अन्तर्गत अहमद बिन अली रंगशालामा बुधबार राति भएको खेलमा बेल्जियमले क्यानडालाई १–० गोलले हरायो ।
बेल्जियमको जितमा मिसी बात्सुआईले निर्णायक गोल गरे । बात्सुआईले ४४ औं मिनेटमा टोबी एल्डरवेरल्डको लामो पासमा प्राप्त बललाई नियन्त्रणमा लिँदै गोल गरेका हुन् ।
बल पोसेसनमा अब्बल देखिएको बेल्जियमले दोस्रो हाफमा थप गोल गर्न सकेन । यता क्यानडाले पनि पाएको अवसर सदुपयोग गर्न नसक्दा हार खेप्यो । जितसँगै बेल्जियमले तीन अंक बनाएको छ ।
त्यसैगरि, फिफा विश्वकप अन्तर्गत समूह ‘ई’ को आफ्नो खेलमा स्पेनले कोस्टारिकामाथि गोलको वर्षा गरेको छ । अल थुमामा स्टेडियममा बुधबार राति भएको खेलमा स्पेनले कोस्टारिकालाई ७–० गोलले हरायो ।
एकपक्षीय खेलमा स्पेनलाई जिताउन फेरान टोरेसले दुई गोल गरे । गाभी, ड्यानी ओल्मो, अल्भारो मोराटा, कार्लोस सोलेर र मार्को असेन्सियोले एक एक गोल गरे ।
पहिलो हाफमा तीन गोल गरेको स्पेनले दोस्रो हाफमा चार गोल थपेको थियो । खेलभर बल नियन्त्रणमा राखेको स्पेनले ११औँ मिनेटमा ओल्मोको गोलमा सुरुवाती अग्रता लिएको थियो ।
ओल्मोको यस गोल विश्वकपमा स्पेनको सयौँ गोल हो । २१ औँ मिनेटमा असेन्सियोले जोर्डी अल्बाको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
३१ औँ मिनेटमा फेरान टोरेसले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा स्पेनलाई बलियो बनाए । डिबक्सभित्र अल्बालाई कोस्टारिकाका ओस्कार डुवाटे लडाएपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो ।
त्यसपछि ५४ औँ मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल थपे । ७४ औँ मिनेटमा गाभीले अल्भारो मोराटाको पासमा गोल गरे । ९० औँ मिनेटमा कार्लोस सोलेर र इन्जुरी समयमा मोराटाले गोल गर्दै स्पेनलाई सानदार जित दिलाए ।
पहिलो जितसँगै स्पेन समूहको शीर्षस्थानमा छ । जापानको पनि तीन नै अङ्क छ । बुधबार साँझ भएको खेलमा जापानले जमर्नलाई २–१ गोलले हराएको थियो ।
चार पटकको विश्वकप विजेता जर्मनीलाई कतारमा जारी विश्वकप फुटबलमा एसियाली देश जापानको नमिठो धक्का लागेको छ। खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा बुधबार साँझ भएको समूह ‘ई’ को खेलमा जापानले जर्मनीलाई २–१ गोलले हरायो ।

जापानको जितमा रित्सु डोन र ताकुमा असनोले गोल गरे । जर्मनीका लागि इल्के गुन्डोगानले पहिलो हाफमा गरेको गोल सान्त्वना बन्यो । पहिलो हाफमा लय गुमाएको जापानले दोस्रो हाफमा उत्कृष्ट पूनरागमन गरेको हो ।
खेलमा सुरुवाती अग्रता जर्मनीले लिएको थियो । ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । डिबक्सभित्र जर्मनीका डेभिड रमलाई जापानका गोलरक्षक सुइची गोन्डाले फल हानेर लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो ।
जसलाई गुन्डोगानले सही सदुपयोग गरेका थिए । पहिलो हाफमा बल पोसेसनमा अब्बल देखिएको जर्मनीले इन्जुरी समयमा पाएको अर्को गोललाई भिएआरको सहायतामा अफसाइड दिइएको थियो ।
यता दोस्रो हाफमा आक्रामक देखिएको जापानले ७५औं मिनेटमा बराबरी गोल फर्कायो । रित्सुले गोल गर्दै जापानलाई खेलमा फर्काए । त्यसपछि ८३ औं मिनेटमा ताकुमा असनोले को इताकुराको पासमा उत्कृष्ट गोल गर्दै जापानलाई जिताए ।
जर्मनीले दोस्रो हाफमा पाएको अवसर सदुपयोग गर्न नसक्दा हार खेप्यो । दोस्रो हाफमा जर्मनीको प्रयासमा जापानका गोलरक्षक बाधक बनेका थिए । जर्मनीले सन् १९५४, १९७४, १९९० र २०१४ को विश्वकप विजेता टोली हो ।
जितसँगै जापानले तीन अंक बनाएको छ । उपाधि दावेदार जर्मनीले हारबाट कतार विश्वकपको सुरुवात गरेको छ ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]