काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ ।
दोहास्थित अल जानुब स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद् सुरुआत गरेको हो । फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक–एक गोल गरे ।
यता अष्ट्रेलियाका लागि भने क्रेग गुडविनले एक गोल गरे । खेलमा सुरुआती अग्रता भने अष्ट्रेलियाले लियो । खेलको नवौँ मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर खेलको २७ औँ मिनेटमा फ्रान्सका एड्रिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ३२ औँ मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।
खेलको ६८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए । खेलको ७१ औँ मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ४–१ को सहज जित निकालेको हो । यस जितसँगै फ्रान्सले पहिलो खेलमै तीन अङ्क जोडेको छ । समूह ‘डी’को फ्रान्स शीर्षस्थानमा रहेको छ भने अष्ट्रेलिया पुछारमा रहेको छ ।
पोल्यान्ड र मेक्सिको बराबरी
पोल्यान्डका अनुभवी ट्राईकर रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्यान्डले विश्वकप फुटबलको पहिलो खेलमा मेक्सिकोसंग अङ्क बाँडेको छ ।
कतारको दोहास्थित स्टेडियम ९७४ मा मंगलबार राति भएको समूह ‘सी’ को खेलमा पोल्यान्ड र मेक्सिको गोलरहित बराबरीमा रोकिए ।
पोल्यान्डको लगातार प्रहारमा मेक्सिकोका गोलरक्षक गिलेर्मे ओचोआ बाधक बनेका थिए । यसै सिजन स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध भएका पोल्यान्डका ट्राईकर लेवान्डोस्कीले ५८ औँ मिनेटमा पेनाल्टी मिस गरेका थिए ।
लेवान्डोस्कीको पेनाल्टी प्रहारलाई मेक्सिकोका गोलरक्षक ओचोआले विफल पारे। पेनाल्टीबाहेक पोल्यान्डका थप प्रहारमा मेक्सिकोका गोलरक्षक बाधक बनेपछि दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।
यस समूहमा तीन अङ्क बनाएको साउदी अरब शीर्षस्थानमा छ ।
डेनमार्क र ट्युनिसिया बराबरी
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत समूह डीको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् ।
दोहाको एजुकेसन सिटी स्टेडियममा भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यसखेलसँगै डेनमार्क र ट्युनिसियाले समान एक–एक अङ्क बाँडेका छन् । जारी विश्वकपमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो ।