झापामा खर्चको अनुपातमा राजश्व संकलन बढी

  • मंसिर २, २०७९ / नेपाल रेखा
alt

झापा । झापामा खर्चको अनुपातमा राजस्व सङ्कलन बढी रहेको छ । गत आर्थिक वर्ष २०७८–७९ मा जिल्लामा खर्चभन्दा एक अर्ब ३१ करोड आठ लाख ६८ हजार बढी राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका कोष नियन्त्रक मधु पोखरेलले जानकारी दिए ।
गत आवमा झापामा २३ अर्ब ३८ करोड ९६ लाख ३० हजार राजस्व सङ्कलन र २२ अर्ब सात करोड ८७ लाख ६२ हजार खर्च भएको उनले बताए । ‘केही जिल्लामा खर्च धान्ने पनि राजस्व सङ्कलन हुनसकेको छैन’, उनले भने, ‘झापामा त्यस्तो अवस्था छैन, झापामा करमैत्री वातावरण बन्दै गएको छ ।’
झापामा करको दायरा बढाउने काम जारी रहेको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले बताए । चालु आव २०७९–८० मा आन्तरिक राजस्व कार्यालय भद्रपुरलाई तीन अर्ब ६९ करोड २० लाख ३१ हजार राजस्व सङ्कलनको लक्ष्य छ । चालु आवको असोजसम्ममा ६४ करोड २४ लाख ६५ हजार राजस्व सङ्कलन भएको छ।
कार्यालयको कार्यक्षेत्रमा करदाताको सङ्ख्यासमेत बढ्दै गएको उनको भनाइ छ । हाल करिब दुई लाख करदाता करको दायरामा आएका छन् । जसमा भद्रपुर कार्यालयअन्तर्गत एक लाख २६ हजार १६, करदाता सेवा केन्द्र इलामअन्तर्गत ३५ हजार चार सय ३७ र करदारता सेवा केन्द्र फिदिमअन्तर्गत २८ हजार पाँच सय २१ करदाता छन् ।
यसैबीच झापामा करदाता सप्ताह सुुरु भएको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले गरेको सो सप्ताहको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले उद्घाटन गर्दै कर्मचारीलाई करदातामैत्री बन्न आग्रह गरे । उनले कर उठाउने संरचनामा सुधार गरिएको र कर उठाउने काममा धेरै काम भएको बताए । ‘करको दायरा बढाउन निजी क्षेत्रलाई बृहत् परिचालन गर्न जरुरी छ’, उनले भने, ‘राष्ट्रिय लगानीमा ७० प्रतिशत योगदान निजी क्षेत्रको छ ।’विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीले व्यवसायीलाई कर शिक्षासम्बन्धी तालिमको आवश्यकता रहेको बताए । उनले खुला सीमाका कारण व्यवसायी धेरै मारमा परेको गुनासो गरे । झापा उद्योग सङ्घका अध्यक्ष यामबहादुर श्रेष्ठले कर तिर्नु भनेको देशको विकास भएको बताए । ‘कर छल्नु ठूलो अपराध हो’, उनले भने, ‘कर तिरेरमात्र उपभोक्ताले उपभोग गर्नुपर्छ ।’
नेपाल चाटर्ड एकाउन्टेन्ट सङ्घ झापाका अध्यक्ष सुशील अग्रवालले करदाता शिक्षामा धेरै ठूलो समस्या रहेको औँल्याए । करसम्बन्धी नयाँ योजना ल्याउँदा विशेषज्ञसँग छलफल गरेर ल्याउनुपर्ने उनको सुझाव छ । त्यस्तै अगुवा व्यवसायी गोविन्द पोखरेलले कर तिर्न निजी क्षेत्र तयार रहेको बताउँदै करको दरभन्दा पनि दायरा बढाउनुपर्नेमा जोड दिए ।
मङ्सिर १ गते सुुरु भएको कर सप्ताह ७ गतेसम्म सञ्चालन हुनेछ । सो अवसरमा कार्यालयले उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मानसमेत गर्ने भएको छ । भद्रपुर कार्यालयअन्तर्गत टे«डिङतर्फ कनिष्का ओभरसिज प्रालि मेचीनगर, उद्योगतर्फ अम्बे भवानी प्लाइबोर्ड उद्योग प्रालि विर्तामोड र सेवातर्फ ओमसाई पाथिभरा हस्पिटल भद्रपुरलाई सम्मान गर्ने भएको छ । इलामअन्तर्गत टे«डिङतर्फ फिक्कल उत्तम स्टोर र पाँचथरअन्तर्गत ट्रेडिङतर्फ शिवगौरी सप्लायर्स तथा सेवातर्फ ताप्लेजुङ बहुउद्देश्यीय सहकारीलाई सम्मान गर्न लागिएको प्रमुख कर अधिकृत रिजालले जानकारी दिए ।

चतरामा बरमझियाको पेड ...

सुनसरीको वराहक्षेत्र नगरपालिका-१, चतरास्थित कोसी पुल नज ...

मोटरबोटमा आन्तरिक पर ...

सुनसरीको वराहक्षेत्र नगरपालिका-६, बोराबाँधस्थित ...

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]