इटहरी । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले कृषिजन्य वस्तुको प्रवद्र्धनका लागि उचित बजारको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत र समाजवादी पार्टीका साझा उमेदवारहरुले संयुक्तरुपमा हातेपर्चा प्रकाशन गरेर उक्त प्रतिबद्धता जनाएका हुन् ।
किसानले उत्पादन गरेका दूध, फलफूल, अन्नपात, साग सब्जीको उचित व्यवस्थापन, जनतालाई कृषि तथा स्थानीय उत्पादनमा आत्मनिर्भर बनाई आर्थिकरुपमा सवल बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
युवाहरुलाई सिपमुलक तालिम दिइ रोजगार बनाउने, उद्योगमा आधारित प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने, सुनसरी उद्योग करिडोरमा उद्योग व्यापारको समस्या हटाउन पहल गर्ने, मजदुरहरुको तलवमान बृद्धि र नियमिततामा ध्यान दिने, घरवारबिहिन दलित श्रमिकहरुलाई आवास र रोजगारीको निम्ति पहल गर्ने, उद्योगी, व्यापारीहरुलाई पर्ने दोहोरो करको भार हटाउने, सुनसरी क्षेत्र नम्बर तीनमा पर्ने व्यवासायिक क्षेत्रहरुलाई निर्वाध रुपले सुरक्षित व्यावसाय गर्ने वातावरण बनाउने, उद्योग कलकारखानालाई निर्वाधरुपमा थ्रि सिफ्ट संचालन गर्ने वातावरण बनाउनेजस्ता बुँदाहरु प्रतिबद्धतापत्रमा समेटिएको छ ।
गठबन्धनका उमेदवार तथा कार्यकर्ताले उक्त प्रतिबद्धतापत्र निर्वाचन क्षेत्रका १७ वटै वडाका मतदाताको हातहातमा पुर्याइसकेको नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष एवम् सुनसरी प्रतिनिधिसभा–३, प्रदेशसभा क्षेत्र १ का चुनाव प्रचार प्रसार समितिका इन्चार्ज शिवकुमार डाँगीले बताए । यस क्षेत्रका अधिकांश बासिन्दा उद्योग, बजार र कृषिमा आधारित रहेकाले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको प्रतिबद्धतालाई निकै महत्वका साथ हेरिएको छ ।
गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदार तथा प्रदेशसभा क्षेत्र (१) मा नेकपा (माओवादी केन्द्र) बाट निवर्तमान प्रदेश १ उपसभामुख सरस्वती पोखरेल (डाँगी) उमेदवार रहेका छन् ।
वामलोकतान्त्रिक गठबन्धनका यी उम्मेदवार यतिबेला आ–आफ्नो पक्षमा माहोल बनाउन मतदाताको घरदैलो तथा चुनावी सभामा व्यस्त छन् । चुनावीसभाकै क्रममा शुक्रबार दुहबी–८ मा महिलाहरुको बृहत सभा गरिएको छ । उक्त सभालाई उमेदवार पोखरेलले सम्बोधन गरेकी थिइन् । चुनावी सभामा सहभागि महिलाहरुलाई सम्बोधन गर्दै उनले बढ्दै गएको महिला हिंसा, जातीय अपमानलाई नियन्त्रण गरी समुदायको सुरक्षालाई सुदृढ बनाउने बताइन् । दलित, पिछडा वर्ग, हेपाई र बन्चितिमा परेका महिलाको समस्या समाधान गर्न सक्रिय सिस्टमको व्यवस्था गर्ने पनि उनले बताइन् ।
यसैबीच, लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त महिला भेलाबाट हसिनाकुमारी चौधरीको संयोजकत्वमा २०१ सदस्यीय संयुक्त निर्वाचन महिला परिचालन समिति गठन गरिएको छ । साथै गठबन्धनका उमेदवारले दुहबी ८ र ९ का मतदाताको घर घरमा पुगेर भोट मागेका छन् ।
