आत्महत्या न्यूनीकरणका लागि प्रहरीले अभियान संचालन गर्ने
भदौ २४, २०७९ / नेपाल रेखा
कुमोद अधिकारी विराटनगर । आत्महत्याका घटना बढ्न थालेपछि त्यसको रोकथाम न्यूनिकरणका लागि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले अभियान संचालन गर्ने भएको छ । कार्यालयद्वारा विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा १ नम्बर प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक डिआइजी सुदिप गिरीले शनिबारदेखी प्रदेस–१ का १४ वटै जिल्लामा एकैसाथ आत्महत्या रोकथाम सचेतना अभियान सुभारम्भ गर्न लागेको जानकारी दिए । शनिबार बिहान प्रभातफेरी सहित अभियानको शुभारम्भ हुने जनाइएको छ । अभियान अन्तर्गत स्थानीय तह, टोल सुधार समिति, प्रहरी तथा बिभिन्न संघसंस्था विच समन्वय गरिनेछ । मानसिक रोगीहरुले आत्महत्या गर्ने गरेको पाइएको हुदा त्यस्ता विरामीलाई उपचारका लागि पठाउने, आत्महत्या समस्याको समाधान होइन समस्याको शुरुआत हो भन्ने कुरा स्थानीय स्त्तरमा बुझाउने, तनाव व्यवस्थापन सम्वन्धि तालिम संचालन गर्ने तथा आत्महत्या गर्न सक्ने लक्षण देखिएका मानिसलाई तत्काल मनोपरामर्शको व्यवस्था मिलाउन पहल गर्नेजस्ता कार्य संचालन गर्ने प्रहरी नायव महाननिरिक्षक गिरीले बताए । दिन प्रतिदिन आत्महत्याका घटना उल्लेखनीय रुपमा बढ्दै गएकाले अभियानलाई सफल बनाउन संचारकर्मीलाई लगायत सबैलाई उनले आग्रह गरे । वर्षभरि संचालन हुने न्यूनीकरण अभियानलाई प्रभावकारी र स्थानीय स्तरसम्म पुर्याउन पर्चा पम्पलेट, नाटकजस्ता कार्यक्रम संचालन गर्दै प्रचारप्रसारलाई तिव्रता दिइने जनाइएको छ । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रदेश १ मा गत आर्थिक वर्षमा १४ सय ८९ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये पुरुष ९ सय २२, महिला ४ सय ४३, बालक ६२ तथा बालिका ६२ रहेका छन् । कार्यालयको तथ्यांक अनुसार गत पाँच वर्षमा प्रदेस १ मा ६ हजार ७ सय ३ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये पुरुषको शख्या ३ हजार ८ सय ९७, महिला २ हजार १ सय ५९, वालक ३ सय तथा बालिका ३ सय ४७ रहेका छन् ।