माक्र्सवादी ज्ञान केन्द्रको वर्ष उत्कृष्ट व्यक्तिको रुपमा सीता कडरियालाई सम्मान

  • भदौ २०, २०७९ / नेपाल रेखा
alt

सुनसरी । माक्र्सवादी ज्ञान केन्द्रको दोस्रो साधारणसभाको अवसरमा वर्ष उत्कृष्ट व्यक्तिका रुपमा नेकपा (माओवादी केन्द्र) १ नम्बर प्रदेश कमिटी सदस्य मोरङको सुन्दरहरैंचा निवासी सीता कडरिया (रक्षा) सम्मानित भएकी छन् ।
काठमाडौंको कमलादी प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ बिषयक गोष्ठिसहित उद्घाटन भएको साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कडरियालाई सम्मान गरेका हुन् ।
त्यसैगरी ज्ञान केन्द्रको अक्षयकोषका लागि आर्थिक सहयोग गर्ने झापाकी राधिका ओझा, उत्कृष्ट प्रदेशका रुपमा कर्णाली प्रदेश र उत्कृष्ट विभागका रुपमा वित्तिय विभागलाई सम्मान गरिएको छ ।
ज्ञान केन्द्रले प्रत्येक बर्ष कार्य सम्पादनको आधारमा एक जनालाई वर्ष उत्कृष्ट व्यक्तिको रुपमा सम्मान गर्ने गरेको छ । सोही अनुरुप कडरियालाई सम्मान गरिएको हो ।
ज्ञानकेन्द्रले कोरोना महामारीका बेला भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्दै आएको छ भने कोभिडकै कारण पहिलो साधारणसभा भर्चुअल माध्यमबाटै गरेको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको बनिबनाउ मोडेल नरहेको बताएका छन्। विचार गोष्ठीमा अध्यक्ष प्रचण्डले समाजवाद बदलिँदो परिस्थिति अनुसार समाज र आन्दोलनका यात्रीहरूले अनुसन्धान गर्नुपर्ने विषय भएको बताए ।
परिस्थितिको ठोस अध्ययन नगरी समाजवाद ल्याउने कुरा कल्पना मात्र हुने उनको भनाई छ । उनले भने, ‘अनुसन्धान गर्दा समकालीन परिस्थितिको आंकलन शक्ति सन्तुलन, उत्पादक शक्ति र उत्पादन सम्बन्धनको स्थिति, विज्ञान प्रविधिको विकाशको स्थिति सबैको कुल योगफलबाट एउटा प्रष्ट वैचारिक राजनीतिक मार्गचित्र बिना समाजवादको नयाँ मार्गचित्र बन्न सक्दैन ।’
यद्यपि कतिपयले समाजवादको बनिबनाउ सूत्र खोजिरहेको प्रचण्डले बताए । त्यस्ता मानिसहरू भ्रममा रहेको उनको भनाई छ । तिनीहरू माक्र्सवादलाई धर्मशास्त्र जस्तो बुझ्ने मानिसहरू भएको उनको टिप्पणी छ । प्रचण्डले समाजवादको यात्रा प्रारम्भ गर्नको निमित्त अहिलेसम्म भएका क्रान्ति प्रतिक्रान्ति र प्रयोगहरू, सबै मोडलहरू, सफलता,असफलता र विज्ञानले गरेका आविष्कार, तिनको महत्व र मानव समाजमा परेको प्रभावको सुव्यवस्थित तर्कसंगत व्याख्या आवश्यक रहेको बताए ।
उनले समाजवाद ल्याउन एउटा राजनीतिक वैचारिक मार्गचित्रमा अघि बढ्ने मानिसहरूको शक्तिको खाँचो औँल्याए । प्रचण्डले भने, ‘समाजवादमा अगाडि बढ्न शक्ति निर्माणको कुरा छ । विना शक्ति ठूला कुरा गरेर केही हुँदैन । स्पष्ट राजनीतिक वैचारिक मार्गचित्रमा अगाडि बढ्ने प्रतिवद्ध मानिसको आवश्यकता पर्छ । त्यो शक्ति सञ्चय गर्ने कुरा पनि महत्वपूर्ण छ ।’
उनले समाजवाद दिशामा अगाडि बढ्न आफूले गरेको पछिल्लो प्रयास असफल रहेको पनि बताए । प्रचण्डले अगाडि भने, ‘कम्युनिष्टहरुलाई एक ठाउँमा राख्ने, बलियो शक्ति निर्माण गर्ने, समाजवादको ठोस कार्य योजनासहित उत्पादन वृद्धि, श्रम र सांस्कृतिक रूपान्तरण जगैदेखि, स्थानीय तहदेखि एउटा नयाँ आन्दोलन सृष्टि गर्ने मेरो दिमागमा थियो। मैले जति बेला माओवादी केन्द्रको अध्यक्षको हैसियतले वाम गठबन्धन गरौं । कम्युनिष्ट एकता गरौं । देशमा वामपन्थी जनमत धेरै ठूलो छ। हामीले देशमा राजनीतिक स्थायित्व पनि र समाजवादको महान यात्रातिर जान सकिन्छ । बौद्ध भिक्षु रहेसम्म घण्टी बजाउने जस्तो तरिकाले हामी कहीँ पनि पुग्दैनौं । हामी पूर्वाग्रह छोडिदिऊ । हामी एक चोटि हामफालौं मैले भनेको हुँ । त्यो स्वतः, स्फूर्त रुपमा भएको होइन। सचेततापूर्वक गरिएको हो । सफल भएन । सफल हुन दिइएन ।’
उनले अहिलेको निर्वाचन प्रणाली कायम रहे समाजवाद नआउने दाबी पनि गरे । वर्तमान निर्वाचन प्रणालीले दलाल पुँजीवादको संरक्षण गर्ने भएकोले पहिले त्यसमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । उनले अहिलेको निर्वाचन प्रणाली कायमै राखेर भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्नु उचित नहुने समेत बताए ।
कार्यक्रमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गरेका छन् ।
अध्यक्ष नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर त्यो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताएका हुन् ।
गणतन्त्रको पक्षमा कांग्रेस नरहेको, माओवादीभित्र पनि सांस्कृतिक राजाको कुरा भइरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उनले बताए ।
अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै देशमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिस्टहरूले कहिल्यै पनि भुल्न नहुने पटक–पटक दोहोर्याए ।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूषाल, नेकपा बहुमतका अध्यक्ष बलराम बास्कोटालगायतको आतिथ्य रहेको थियो । ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा ज्ञान केन्द्रका महासचिव इन्द्रराज भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]