इटहरी । अनलाइन खबर डट कमका प्रधान सम्पादकसहित चार जना व्यक्तित्वहरुलाई शनिबार इटहरीमा सम्मान गरिएको छ ।
तारानिधि–धनमाया अधिकारी स्मृति प्रतिष्ठानले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका अग्रज पत्रकार गाउँलेलाई ३५ हजार एक सय १ रासीको नारायणप्रसाद रिजाल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । त्यसैगरि सुनसरीका अग्रज पत्रकार गिरीराज आचार्यलाई २५ हजार एक सय १ रासीकोे दीननाथ नारायणी स्मृति पुरस्कारबाट सम्मान गरियो ।
साथै पूर्वाञ्चल बाल सेवा आश्रमकी संचालिका सिता पोखरेलाई पनि २५ हजार एक सय १ रकमको पुरस्कारबाट सम्मान गरिएको छ त्यसैगरि, वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठलाई पनि ५१ हजार १ सय १ रुपैयाँले सम्मान गर्ने कार्यक्रम भएपनि मौसम प्रतिकूलताका कारण शनिबार उनको उपस्थिति हुन सकेन । मौसम अनुकूल भएपछि उनलाई सो पुरस्कार हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।
सम्मानपछि मन्तव्य व्यक्त गर्दै अग्रज पत्रकार शिव गाउँलेले यो सम्मानबाट नागरिक अधिकारको पक्षमा पैरवी गर्न र सत्ता र शक्तिलाई निरन्तर खबरदारी गर्न प्रेरणा मिलेको बताए । साथै सम्मानित हुने गिरीराज आचार्य र सिता पोखरेलले पनि आफ्नो सेवा क्षेत्रमा निरन्तरता दिने प्रेरणा मिलेको बताए ।
कार्यक्रममा इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेलले यस्ता सामाजिक संघसंस्थाको संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताए । उनले इटहरीलाई बस्नलायक सहर बनाउन इटहरीवासीसंग साथ, सहयोग पनि मागे । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष रामचन्द्र अधिकारीले गरेका थिए भने संचालन प्रतिष्ठानकै सचिव शिवकुमार डाँगीले गरेका थिए ।
