व्यावसाय दर्ता नवीकरण स्थानीय तहबाटै हुनुपर्ने आयुर्वेद औषधि व्यावसायीको माग
साउन २५, २०७९ / नेपाल रेखा
विजयनगर । नेपाल आयुर्वेद औषधि व्यावसायी संघका केन्द्रीय अध्यक्ष जंगराज गिरीले औषधि व्यवासायीलाई राजश्व तिर्न समेत कठिन भएको बताएका छन् । उनले राज्यलाई राजश्व तिर्न समेत काठमाण्डौ सहितका ठूला शहरमा जानुपर्ने वाध्यताले समस्या भएको बताए । नेपाल आयुर्वेद औषधि व्यावसायी संघ कर्णालीको साधारणसभामा कर्णाली प्रदेशमा आयोजित कार्यक्रममा अध्यक्ष गिरीले औषधि व्यवस्था विभागमा नै गएर नवीकरण गर्ने बिषय स्थानीय तहबाटै गरिनुपर्नेमा जोड दिए । उनका अनुसार नेपालको जडिवुटि भारतमा जाने फेरि नेपाली कम्पनिमा आउने कानूनी झमेला समाधान समेत नभएकाले समस्या भएको बताए । नेपाल आयुर्वेद औषधि व्यवासायी संघ कर्णालीका अध्यक्ष पूर्ण आचार्यको अध्यक्षतामा सम्पन्न दोस्रो साधारणसभामा उद्योग वाणिज्य संघका नेता, प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकर रिजाल, नेपाल औषधि व्यावसायि संघ कर्णालीका अध्यक्ष प्रेम भण्डारी, नेपाल आयुर्वेद औषधि उत्पादक संघका केन्द्रीय सदस्य सदस्य अर्जुन पौडेल, नेपाल आयुर्वेद औषधि व्यावसायी संघ केन्द्रीय सदस्य बेदव्यास सुवेदी, नेपाल आयुर्वेद औषधि व्यावसायी संघका प्रदेश संयोजक कविन्द्र अधिकारी, यूवा वैज्ञानिक राजेन्द्र बिष्टसहितका सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो । साधारणसभामा औषधि व्यावसायीहरुले दर्ता र नविकरणका सवाल संघीयतामा पनि स्थानीय तहमा हुन नसक्नु समस्या भएकोमा जोड दिएको र औषधि पसल दर्ता तथा नवीकरण स्थानीय तहवाटै गर्न पाउनुपर्ने माग गरेको कपिलवस्तु जिल्ला अध्यक्ष गोपाल बन्जाडेले जानकारी दिए ।