मोरङ । शालिग्राम मन्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कारबाट विराटनगरमा दुई जना पत्रकारहरुलाई पुरस्कृत गरिएको छ ।
पुरस्कृत हुने पत्रकारहरुमा वरिष्ठ पत्रकार यज्ञ शर्मा र लिलाराज भट्टराई छन् । उनीहरु दुबैलाई नगद २१ हजार सहित सम्मान पत्रद्वारा सम्मानित गरिएको छ ।
उनीहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै उनले पत्रकार भनेको समाजको ऐना भएकाले सत्यतथ्य समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरे ।
राजनीतिक स्थायित्व र मुलुकको संवृद्धिका लागि कलम चलाउन उनले आग्रह गरे । सञ्चारकर्मीहरुले समाजमा रहेको विकृति एवं विसङ्गति अन्त्यका लागि सत्य तथ्यका आधारमा आम नागरिकमा सूचना पस्कनु पर्ने उनले बताए ।
उनले चौतारी आबद्ध पत्रकाहरुले व्यवसायिक पेशागत क्षमताकाका आधारमा आफ्नो दक्षता प्रदर्शन गर्नुका साथै पार्टीको नीति तथा कार्यक्रमका सम्बन्धमा नागरिकहरुलाई जानकारी दिन दोहोरो भूमिका निर्वाह गर्न आग्रह गरे ।
पूर्वउपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय राजनीतिमा रहेको विकृति अन्त्यमा सही समाचार सम्पेषण गर्नुपर्ने आवश्यकता औल्याए ।
प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुईटेल, चौतारी प्रदेश अध्यक्ष अविजाल विष्ट, पुरस्कार छनौट समितिका सदस्य रामचन्द्र अधिकारीले सञ्चार माध्यमलाई प्रवद्र्धन कार्य र स्वतन्त्र अभिव्यक्तिमा पार्टीको ठूलो योगदान रहेको धारणा राखे ।
२०७६ मा स्थापना भएको उक्त पुरस्कार कोरोना महामारीका वितरण हुन नसकेकोमा २०७७ को शर्मा र २०७८ को भट्टराईलाई प्रदान गरिएको हो ।
