कुमोद अधिकारी
विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुबिचको गठवन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङले विराटनगरमा वुधबार आयोजना गरेको चुनावी आमसभालाई सम्वोधन गर्दै उनले राष्ट्रिय आवश्यकताअनुसार पाँच दलिय गठवन्धन बनेको प्रष्ट पारे ।
उनले प्रजातन्त्र र लोकतन्त्रलाई बलियो बनाउन स्थनीय तहको निर्वाचनमा गठवन्धन भएको भन्दै गठवन्धन दलहरुबिच कुनै प्रकारको शंका–उपशंका हुन नहुने बताए । उनले नेपाली कांग्रेसले कुनै पनि हालतमा कसैलाई धोखा नदिने बताए ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमंन्त्री देउवाले कांग्रेससंग बहुमत नरहेकाले आफुहरु गठबन्धनमा जानु परेको बताए । गठबन्धनका विषयमा कतिपय साथीहरुलाई चित्त बुझ्ला या नबुझ्ला अब ती सबै कुरालाई बिर्सेर स्थानीय तहको निर्वाचनमा गठबन्धनको उपयोग गर्न उनले आग्रह गरे ।
गठवन्धनका विषयमा उचाल्ने पछार्ने धेरै छन् अब त्यतातिर नलागी निर्वाचनमा केन्द्रित हुन उनले आग्रह गरे । उनले विराटनगरमा रहेको विराटराजाको दरबारको उत्खनन्देखि समग्र विराटनगरको विकासमा ध्यान पु¥याउने बताए ।
आफू प्रधानमन्त्री भएपछि मुलुकमा कुनै प्रकारको कसैमाथि अंकुश लगाउने काम नभएको तथा मुलुकमा शान्ति छाएको उनको भनाई थियो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षा गर्न गठवन्धन जरुरी रहेको बताए । स्थानीय तहको निर्वाचनमा कुनै प्रकारको दुविधा नराखी गठबन्धनको पक्षमा उभिन उनले आग्रह गरे ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय सरकारको जनप्रतिनिधि छान्ने चुनावी अभियानमा युवापुस्तालाई सक्रिय रुपमा सहभागी हुन आग्रह गरे ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले सुन्दर र सम्मुन्नत विराटनगर बनाउने अभियानमा जुट्न आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता महेश आचार्य, डाक्टर मिनेन्द्र रिजाल, कांग्रेस केन्द्रिय सदस्य डा. डिला संङ्ग्रौला, अमृत अर्याल, भीम पराजुलीले स्थानीय तहको निर्वाचनको महत्वमाथि प्रकाश पारेका थिए ।
कार्यक्रमा नेपाली कांग्रेस प्रदेश १ सभापति उद्धव थापा नेपाली कांग्रेस मोरङ सभापति डिकबहादुर लिम्बू, विराटनगर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला तथा उपप्रमुख पदका उम्मेदवार जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले पनि बोलेका थिए ।