खगेन्द्र कार्की
गोठगाउँ (सुन्दरहरैंचा, मोरङ) । मोरङसुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना’ मूल नाराका साथ स्थापित मोरङसुनसरी सेवा समाज नेपालको दशौं साधारणसभा सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ स्थित अगेनो होटलको प्राङ्गणमा शनिबार सम्पन्न भएको छ । सो साधारणसभाको बन्द सत्रबाट टेकनाथ बरालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा द्वय विवेक भट्टराई र बिमला चौहान चुनिएका छन भने महासचिवमा पुनः ललितबहादुर निरौला चयन भएका छन् । यसैगरी समितिको सचिवमा भिम प्रसाद घिमिरे, कोषाध्यक्षमा पुनः खगेन्द्र प्रसाई, सहकोषाध्यक्षमा सूर्य बहादुर थापा चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष टेकनाथ बरालले बताए । अध्यक्ष बरालका अनुसार सदस्यहरुमा योगनारायन सिकदार (गगन), पुस्पा कार्कि( सनम), लिलाधर बास्तोला(ज्ञानु), खिनामाया गुरुङ( ज्योति), सन्तोष दाहाल, शुसिला गेलाल, मिलन कार्की र भुपेन्द्र तिमिल्सिना रहेका छन् । निर्वाचन समितिका संयोजक विनोद प्रसाद भट्टराईले १५ जना निर्विरोध निर्वाचि भएको घोषणा गर्दै शपथ गराएका थिए ।
संस्थाका अध्यक्ष लोक बहादुर तामाङको सभापतित्वमा आयोजित सो कार्यक्रमको प्रमुख आतिथ्यता सुन्दरहरैंचा नगरपालिका प्रमुख शिव प्रसाद ढकालले गरेका थिए । कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष चैतन्य सिटौला, मोसु प्रवास शाखा युएईका कार्यवहाक अध्यक्ष सूर्य खरेल, अष्ट्रेलियाका अभियन्ता अभिमान सिंह, सुनसरी सामाजिक स्वास्थ्य संघका गोपाल गुरुङसहित पूर्व अध्यक्ष बद्री प्रसाद बिमली, रामनाथ भण्डारी, मिलन खत्री, पूर्व कतार अध्यक्ष तथा प्रवास समन्वय समितिका सयोजक विनोद प्रसाद भट्टराईलगायत अन्य संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि र मोसुसम्बद्ध प्रवास शाखाका उपस्थित पदाधिकारी तथा पूर्व अध्यक्ष तथा सल्लाहकारहरुको आतिथ्यता रहेको थियो । सो कार्यक्रममा संस्थामा रहेर विभिन्न क्षेत्रका बिरामीका लागि सबैभन्दा धेरै रक्तदान गर्ने विनोद प्रसाद भट्टराई र रगतमा अभावमा भेडमा छटपटाईरहेका बिरामीलाई रगतको अभाव हुन नदिन दिनरात समन्वयमा काम गरिरहेका मोसुका पूर्व कोषाध्यक्ष प्रकाश गिरीलाई सम्मानपत्र तथा खादाले सम्मान गरिएको छ ।

संस्थाका महासचिव ललितबहादुर निरौलाले सञ्चालन गरेको सो कार्यक्रमलाई संस्थाका उपाध्यक्ष विवेक भट्टराईले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा संस्थाका हरेक गतिविधिलाई साथ र सहयोग गर्ने संस्था तथा स्थानीय पालिकालाई समेत सम्मान गरिएको छ । सम्मानित हुने स्थानीय पालिकामा सुन्दरहरैंचा नगरपालिक र केलाबारी गाउँपालिका रहेका छन् भने मोसुमा आवद्ध व्यक्तिहरुबाटै सञ्चालनमा रहेका वित्तिय संस्था ट्रेडभिजन इन्भेष्टमेन्ट प्रा.लि.विराटचोक, आत्मनिर्भर कृषि सहकारी संस्था, विराटचोक र केराबारीमा सञ्चालित खदम हिल बचत तथा ऋण सहकारी संस्था लि.लाई कदरपत्रले सम्मान गरिएको छ ।
कार्यक्रममा आतिथ्यता ग्रहण गर्ने विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि तथा मोसु प्रवास शाखाका पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेका थिए । प्रमुख आतिथ्यता ग्रहण गरेका सुन्दहरैंचा नगरप्रमुख ढकालले आफ्नो कार्यकालभरि मोसुले ल्याएका हरेक गतिविधि र योजनामा आफ्नो साथ रहने बताएर मोसु परिवारलाई विश्वस्त तुल्याएका थिए । नगरप्रमुख ढकालले मोसु सम्बद्ध विभिन्न मुलुकमा रहेका अभियन्ताहरुसँगको समन्वयमा आफ्नो पालिकाभित्रका विभिन्न व्यक्तिहरुलाई विदेशमा स्वदेश फर्काउन सफल भएको समेत बताएका थिए ।
सो कार्यक्रममा संस्थाको जग्गाको खोजी तथा भवन निर्माण परियोजनाका र साधारणसभा सम्पन्न गर्नका लागि मोसु प्रवास शाखा युएईका कार्यवहाक अध्यक्ष सूर्य खरेलले सहयोग रकम हस्तान्तरण समेत गरेका थिए । खरेलले भईरहेको १० साधारणसभा खर्चका लागि समेत रकम हस्तान्तरण गरे । कार्यक्रम स्थलमै आजीवन सदस्यता लिएका ८ जनालाई सदस्यता प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको खुल्ला सत्रमा अध्यक्षको प्रतिवेदन ता महासचिवको प्रगति प्रतिवेदन वाचन गरेर सुनाइएको थियो भने कोषाध्यक्षको प्रतिवेदन बन्दसत्रमा प्रस्तुत गरेर तीनवटै प्रतिवेदन हलले अनुमोदन गरेको थियो ।
बन्दसत्रको निर्वाचन प्रक्रियाको समापनसँगै संस्थाका नवनिर्वाचित अध्यक्ष बरालले संस्थाले सञ्चालन गर्दै आएका गतिविधिसँगै लिएका लक्ष्य र उद्देश्य पुरा गर्न आफु कटिबद्ध भएर लाग्ने र सकेसम्म आफ्नो कार्यकालमा जग्गाको व्यवस्थापन गरेर भवन निर्माण गरी मोसु परिवारलाई आफ्नै घरमा बस्न पाउने व्यवस्थापन मिलाउने उद्घोष समेत गरे । बरालले मोसुलाई यो अवस्थासम्म ल्याई पु¥याउने मोसुका अभियन्ता, अग्रज तथा सदस्यसहित दशौं साधारणसभामा उपस्थित प्रमुख अतिथि, अतिथि तथा मोसु सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।

यसैगरी निवर्तमान बनेका अध्यक्ष तामाङले आफ्नो कार्यकालका साथ, सहयोग, समर्थन र शुभेच्छा राख्ने मोसु सम्बद्ध र गैर मोसु सबैलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । मोसु संस्थाको केन्द्रीय पदाधिकारीको कार्यकाल २ वर्ष रहने व्यवस्था विधानले गरेको छ ।
‘मोरङसुनसरीको चाहना सभ्य र समृद्ध समाजको स्थापना’ भन्ने मुल नारा सहित प्रवास कतारबाट २००१ मै स्थापित मोरङसुनसरी सेवा समाजले २०६८ सालमा विधिवत रुपमा मोरङ जिल्ला प्रशासन कार्यालयबाट आधिकारिकता पाएपछि मोरङ र सुनसरी केन्द्रित विभिन्न विभिन्न सामाजिक तथा मानविय काम गर्दै आएको छ ।
संस्थाको वार्षिक क्यालेण्डर अनुसार संस्थाको वार्षिकोत्सवमा रक्तदान गर्ने तथा महिनामा एक पटक नेपाल सरकारको अन्धो निवारणका निम्ति सहयोगी भूमिका खेल्न दुई जिल्लाका विशेष गरेर ग्रामिण वस्तिहरुमा गोल्छा आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखा शिविर गर्ने, मानव कल्याणका निम्ति उपचार नपाएर छटपटाएका देखि मोसुभित्रका सदस्यहरुलाई व्यवसायिक बनाउने, उनीहरुको स्तर बृद्धि, व्यक्तित्व विकास हुँदै संस्थाले शैक्षिक अक्षयकोषमा रकम बढाउँदै जाने र सो कोषको प्राप्त व्याजबाट आर्थिक पहुँच नभएका बालबालिकाको शिक्षामा लगानी गर्ने, स्थानीय तहका सामाजिक अभियानका परियोजनाहरुमा सहयोग गर्ने लगायत काम गदै आएको छ । यस बाहेक दैविक विपत्तिको बेलामा मोसुले खेल्ने भूमिका छुट्टै प्रकारको रहँदै आएको छ । संस्थाको एम्बुलेन्स मार्फत् ग्रामिण बस्तिबाट बिरामी अस्पताल सम्म पु¥याउने काम समेत गरिरहेको छ ।
कोभिड–१९ बाट विश्व आक्रान्त भएको बेलामा धेरै संस्थाहरु आफ्नो पहुँच बाहिरको विषय भन्दै पन्छिएको बेला मोसुले विभिन्न पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री अक्सिजन सिलिण्डर र कन्सनट्रेटर वितरण गर्न सफल भएको थियो ।
संंस्थाले २०७८ जेठमा प्रवास शाखाहरुको आर्थिक सहयोगमा मोरङको सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिका, रंगेली नगरपालिका, रतुवामाई नगरपालिका, कानेपोखरी गाउँपालिका र सुनसरीको इटहरी अस्पताल, बराहक्षेत्र नगरपालिका र धरानस्थित एक उपस्वास्थ्य चौकीलाई ७८ वटा अक्सिजन सिलिन्डर उपलब्ध गराएको थियो भने इटहरी अस्पताल, चतरा स्वास्थ्य चौकी, बराहक्षेत्र, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी र रंगेली अस्पताल मोरङलाई २÷२ थान कन्सनट्रेटर उपलब्ध गराएको संस्थाका नवनिर्वाचित अध्यक्ष बरालले बताए ।
छोटकरीमा मोसु भनिने यो संस्थाका कतार, युएइ, बहराइन, अस्ट्रेलिया, साउदी अरब, ओमन, कुवेत ,माल्टा, जापान लगायतका देशहरूमा शाखाहरु क्रियाशिल रहेका छन् ।