दुहबी । नेपाल सरकार सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा मल्टि स्किल एण्ड इन्भारोमेन्ट डेभलपमेन्ट प्रालिद्वारा सुनसरीको दुहबी नगरपालिकामा ८० जना युवालाई व्यावसायी सिपमुलक तालिम प्रदान गरिएको छ ।
मंगलबार असिस्टेन्ट व्यूटीसीयन तालिम समापनमा दुहबी नगर उपप्रमुख सुनिता दाहाल साहले बोल्दै महिलाले सिप सिकेर रोजगार तथा व्यवसायी बन्दा आफूलाई खुसी लाग्ने गरेको बताउनु भयो । साथै सिप सिकेका प्रशिक्षार्थीले व्यवसाय गर्न स्पष्ट योजनाका साथ आए नगरपालिकाले सदैव सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा समृद्धि हेल्भेटासका कलस्टर मनिटरिङ्ग अफिसर तुलसी दाहालले तालिम पश्चात पनि प्रशिक्षार्थीलाई ६ महिनासम्म निजको फलोअप गरिने साथै सिप हासिल गरेकाहरुले स्पष्ट योजना बनाई स्वरोजगार वा व्यवसाय गर्नतर्फ लाग्न आग्रह गरे ।
साथै सोही कार्यक्रममा बोल्दै मल्टि स्किल एण्ड इन्भारोमेन्ट डेभलपमेन्टका कार्यक्रम संयोजक विकास खनालले तालिममा सिकेका सिपको सदुपयोग गर्दै रोजगारमा लाग्न आग्रह गरे ।
संस्थागत तर्फबाट पनि स्थानीय निकाय र रोजगारदातासंग समन्वय गरी सबैलाई रोजगारी बनाउने योजना रहेको बताए । यो तालिमका लागि तालिम नभएर रोजगारीको लागि तालिम रहेको जानकारी गराए ।
साथै कार्यक्रममा बोल्दै प्रशिक्षक सारा पौडेलले सिटीइभिटीइको पाठ्यक्रम अनुसार सिकाई गरिएको बजार माग अनुसार आवश्यक सिप सिकाइएकाले सहजै रोजगारी गर्न सकिने बताइन् ।
तालिमको सहप्रशिक्षक ज्ञानु चौधरी रहेकी थिइन् । साथै तालिममा सहभागि प्रशिक्षार्थीको तर्फबाट मिना श्रेष्ठ, बिना राई र मेलिना बस्नेतले तालिमबारे अनुभूति राखेका थिए । मल्टि स्किलद्वारा दुहबी नगरपालिकामा २० जना व्यूटिसीयन, २० जना टेलरिङ्ग, २० जना जुनियर प्लम्बर र २० जना मेसन (डकर्मी) तालिम संचालन गरिएको थियो ।