विद्यार्थीको नेता विद्यार्थी नै हुनु पर्छ भन्ने मान्यता स्थापित गर्न मेरो उमेदवारी ः नवीन दाहाल

  • भदौ २१, २०७८ / नेपाल रेखा
alt


जनता क्याम्पस इटहरीमा एमवीएस सेकेण्ड सेमेस्टारमा अध्ययनरत नवीन दाहाललाई अखिल क्रान्तिकारी सुनसरीको अध्यक्ष बन्ने हुटहुटी चलेको छ । खोटाङ्गको दिक्तेलमा बुबा रघुनाथ दाहाल आमा मुना दाहालको जेठो छोराकारुपमा २०५४ सालमा नवीन दाहालको जन्म भएको हो । युवा वर्ष प्राविबाट पढाई सुरु गर्नु भएका उहाँले पञ्च माध्यमिक विद्यालयबाट एस.एल.सी. पास गर्नु भयो । सरस्वती उच्च माध्यमिक विद्यालय खोटाङ्गबाटै व्यवस्थापन विषयमा १२ कक्षा पास गर्नु भयो । ११ र १२ कक्षा पढ्दाताका नै उहाँ विद्यार्थी राजनीतिमा सक्रिय रहदै आउनु भएको थियो । २०७० सालदेखि इटहरी स्थायी बसोबास गरी विद्यार्थी राजनीतिलाई उहाँले निरन्तरता दिइरहनु भएको छ । अखिल क्रान्तिकारीको जनता बहुमुखी क्याम्पसको क्याम्पस कमिटी सदस्य, इन्चार्ज सोही संगठनको जिल्ला समिति सुनसरीको १२ औं जिल्ला सम्मेलनमार्फत उहाँले जिल्ला सहसचिवको जिम्मेवारी पनि सम्हालिइसक्नु भएको छ । यही भाद्र २५ र २६ गते हुने अखिल क्रान्तिकारी सुनसरीको १३ औं सम्मेलनमा उहाँ जिल्ला अध्यक्षको आकांक्षी पनि हुनुहुन्छ । उहाँसँग पूर्वी हटलाइन दैनिकका संवाददाता रमेश लुइटेलले गरेको कुराकानी ः


१. तपाईंको परिचय ?


– म नवीन दाहाल । इटहरी–५ मा बस्छु ।


२ यतिबेला के गर्दै हुनुहुन्छ ?


– म यतिबेला सुनसरी, इटहरीको जनता बहुमुखी क्याम्पसमा एम वीएस सेकेण्ड सेमेस्टारमा अध्ययनरत छु । यसका साथै एल, एल. बी.को तयारी पनि गरिरहेको छु । यसका अलावा म अखिल क्रान्तिकारीको राजनीतिक, सांगठानिक गतिविधिमा पनि सक्रिय छु ।


३. यतिबेला अखिल क्रान्तिकारी सुनसरीको गतिविधि के कस्तो छ ?


– हामी जिल्लाको १३ औं अधिवेशनको तयारीमा छौं । अधिवेशनको तयारी स्वरुप गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, स्कूल, क्याम्पसहरुमा संगठन विस्तारको अभियान चलिरहेको छ ।


४ कुन–कुन पालिका, स्कूल र कलेजमा कमिट गठन भइसक्यो त ?


– सुनसरी जिल्लाको सबै क्याम्पसमा क्याम्पस सम्मेलन सम्पन्न भइसकेको अवस्था छ । इटहरी र धरान उपमहानगरपालिकामा पनि उपमहानगर स्तरीय सम्मेलन पनि सम्पन्न भइसकेको अवस्था छ । बर्जु गाउँपालिका, देवानगंज गाउँपालिका, रामधुनी नगरपालिकामा अखिल क्रान्तिकारीको सम्मेलन सम्पन्न भइसकेको छ । बराहक्षेत्र, दुहवीलगायत सबै स्थानीय तहमा हामी संगठन विस्तार कार्यक्रम सम्पन्न गर्ने योजनामा छौं । यही भाद्र २५ र २६ गते जिल्ला सम्मेलनको भव्य तयारी पनि गरिरहेका छौं ।


५. सुनसरी जिल्लामा अखिल क्रान्तिकारीको पोजिसन कस्तो रहेको छ ?


– हामी माओवादी केन्द्रसँग सामिप्यता राख्ने विद्यार्थी संगठन भएको नाताले विचार, मुद्दाको दृष्टिकोणले हामी अब्बल छौं । पहिलो नम्बरमा छौं । हामीले सबै विद्यार्थीलाई सहज रुपमा कोरोनाविरुद्धको खोप उपलब्धताका लागि स्थानीय सरकारका शिक्षा तथा खेलकुद महाशाखालाई ध्यानाकषर्ण गराएका छौं ।


६. लकडाउनको समयमा संचालन गरिएको अनलाइन कक्षाका नाममा विद्यार्थीसँग मनोमानीरुपमा फि रकम लिइरहेको अभिभावकको गुनासो आएको छ नि ?


– हामीले अनलाइन कक्षाका नाममा मनोमानीरुपमा लिइएका शुल्क लिने परिपाटीको विरोध गर्दै आएका छौं । स्वतन्त्र विद्यार्थीहरुको समूहले शुल्क बृद्धि विरुद्ध गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउदै स्थानीय सरकारसँग वार्ता गरी २ महिनाको शुल्क (लकडाउन अवधी) को छुट गराउने सहमति, समझदारी गरिएको थियो ।


७ यो वार्तामा को को सहभागि थिए त ?


– आन्दोलनरत स्वतन्त्र विद्यार्थीहरुको समूह, निजी कलेज संचालकहरुको संगठन प्याब्सनका प्रतिनिधिहरु र विद्यार्थी संगठनका प्रतिनिधिहरु बसी समझदारी गरिएको थियो । निजी कलेजहरुलाई तोकिएको १० प्रतिशत छात्रबृत्ति कार्यान्वयन भएको नभएकोबारे हाम्रो संगठनले अनुगमन गरिरहेको छ । साथै सबै कलेजहरुलाई ध्यानाकर्षण गराई यो कार्यान्वयन गराउनका लागि दबाब दिदै आएका छौं ।


८ तपाई १२ औं जिल्ला सम्मेलनबाट सहसचिव हुनु भएको रहेछ १३ औं जिल्ला सम्मेलनमा चाँही तपाई कुन पदमा उमेदवारी दिने तयारी गर्दै हुनुहुन्छ त ?


– हामीले माथि नै भनिसक्यौं कि अखिल क्रान्तिकारी सुनसरी १३ औं जिल्ला सम्मेलनको भव्य तयारीमा छ । यो १३ औं जिल्ला सम्मेलनमा मेरो अध्यक्ष पदमा उमेदवारी रहनेछ ।


९ तपाईं जिल्ला अध्यक्ष हुने आधार के के हुन् त ?


– १२ औं जिल्ला सम्मेलनबाट जुन खालको जिल्ला पदाधिकारीको टिम बनेको थियो त्यो पदाधिकारीको टिम सबै अहिले नेतृत्व दावी गर्ने अवस्थामा छैन । १२ औं सम्मेलनबाट उपाध्यक्ष भएका सिएम पौडेल र सचिव विक्रम थापा विद्यार्थी राजनीतिबाट हाल अलगजस्तो हुनुहुन्छ । त्यसैले स्वतः मैले अध्यक्षमा अकांक्षा राखेको हुँ, यसमा मैले माउ पार्टीबाट पनि सहयोगको अपेक्षा राखेको छु । साथै विद्यार्थी फाँटबाट आउनु भएका अग्रज दाइहरुबाट पनि सहयोगको अपेक्षा राखेको छु । मुख्य आधार चाँही प्रतिनिधि भएर आउने विद्यार्थीलाई आधार बनाएको छु ।


१० प्रतिनिधिहरु तपाईको पक्षमा हुन्छन् नै भन्ने आधार चाँही के छ ?


– म संगठन बनाउन जिल्लाभर दौडाहामा निस्केको छु । नियमित विद्यार्थी हुनुको नाताले पनि म विद्यार्थीहरुसँग भावनात्मकरुपले नजिक छु । विद्यार्थीको प्रतिनिधि विद्यार्थी नै हुनु पर्छ भन्ने मान्यता अनुसार पनि मेरो उमेदवारी न्यायोचित छ ।


११ तपाईंका ऐजेण्डाहरु चाँही के के छन् त ?


– हामीले इतिहासदेखि वैज्ञानिक शिक्षाको ऐजेण्डा उठादै आएका छौं यसको निरन्तरता नै मुख्य ऐजेण्डा हो । समय सन्दर्भ अनुसार रोजगारमुलक शिक्षा, निःशुल्क शिक्षा, स्वारोजगारमुलक शिक्षाका पक्षमा म निरन्तर लागिरहनेछु । शिक्षा क्षेत्रका विसंगति, विकृतिहरुको चिरफार गर्दै शैक्षिक सुधारका मुद्दाहरु स्थापित गराउने । यदि मैले अध्यक्षमा बाजी मार्न सकें भन्ने विना चन्दा संगठन चलाउने प्रतिबद्धता जनाउदछु । उत्पादनमा जोडिएर स्वरोजगार बन्ने कार्यको थालनी गर्नेछौं ताकि कुनै कार्यक्रम गर्न कसैसँग चन्दा उठाउन नपरोस् ।


१२ निजी कलेजहरुप्रति तपाईंको धारणा के हो ?


– निजी कलेजहरुको पनि शिक्षा क्षेत्रमा योगदान नभएको होइन तर, पनि यो महंगो बन्न गएको छ साथै शैक्षिक जनशक्ति विदेश पठाउने केन्द्रजस्तो पनि भएको छ, गरिब जनताको पहुँच भएन यसले शिक्षामा भेदभावको अवस्था सिर्जना गरेको छ ।


१२ त्यसो भए सामुदायिक कलेजहरुले चाँही के गर्नु पर्छ त ?


– सामुदायिक कलेजहरुमा सरकारले ठुलो लगानी गरेको छ तर, शैक्षिक गुणस्तर भने दिनानुदिन खस्किदो छ । यसको सुधारका लागि सरकारी संयन्त्रबाट प्रभावकारी अनुगमन र नियमन हुनु पर्यो । सामुदायिक कलेजका प्राध्यापकहरुले निजी कलेज लगानी गर्नु भएन । त्यस्ता कलेजमा लगानी गरेकाहरुलाई सामुदायिक कलेजमा नियुक्ती दिनु भएन । धन्यवाद ।

 

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]