जनक पाण्डे
सुनसरी / नेपालरेखा। अर्थतन्त्रको बलियो आधार यूवा जनशक्ति रोजगारीका लागि तेस्रोे मुलुक पलायन हुने प्रचलन बढ्दै गएपछि उत्पादन मूलक उद्योगहरुमा समेत समय– समयमा जनशक्ति अभाव हुने गरेको छ ।
उद्योगमा काम गरिरहेका यूवा श्रमिकहरु वैदेशिक रोजगारीका लागि भिजा नलागेसम्म काम गर्ने भिजा लागेपछि दुई चार महिनामै रोजगारी छोडेर बिदेश जाने परिपाटीले उद्योगहरुमा जनशक्ति अभाव हुने गरेको हो ।
सुनसरी–मोरङ्गका अधिकांश उद्योगहरुले उत्पादनका लागि स्वदेशी श्रमिक परिचालन गर्ने गरेका भए पनि दक्ष जनशक्ति, प्राबिधिकहरु भारतबाट बोलाउने गरेका छन् । सोनापुरमा रहेको ओम उड प्रोडक्टका सञ्चालक सिताराम अग्रवाल प्राविधिकहरु भारतबाट ल्याउनु पर्ने बाध्यता नै भएको बताउँछन् । स्थानीयलाई प्राबिधिक ज्ञान दिन खोजे पनि चासो नराखेको उनको भनाइ छ । श्रमिकले केहि समय काम गर्ने अनि छोड्ने हुँदा उद्योगमा श्रमिकको ठुलो अभाव हुने गरेको अग्रवाल बताउँछन् ।
श्रम उत्पादनका लागि प्रमुख इकाई हो तर बैदेशिक रोजगारमा स्वदेशी श्रम पलायन हुँदा उद्योगहरुमा यसको असर पर्ने गरेको उद्योग प्रशासनहरुले बताउदै आएका छन् । खास गरेर चौविसै घण्टा सञ्चालन हुने उद्योगमा उत्पादन क्षमता अनुसारको जनशक्ति लगाउन नपाउँदा उत्पादनमा हुनसक्ने ह्रासले उद्योगको उत्पादन परिमाण पनि प्रभाबित गर्न सक्ने सुनसरीको दुहवी सोनापुर स्थित अरिहन्त मल्टी फाईवर लिमिटेडका प्रशासकीय अधिकृत रमेशकुमार सुब्बाले बताएका छन् ।
उद्योगहरुमा पूराना प्रबिधिका मेशीन, उपकरणहरुलाई नयाँ आधुनिक मेशीन, उपकरणहरुले प्रतिस्थापन गर्दै लक्षित उत्पादन हासिल गर्न उद्योग लागि परेको भएपनि कार्यरत श्रमिक काम छोडेर बिदेश गइदिँदा बेलाबेला उद्योगले श्रमिक संकट झेल्नु परेको पनि अरिहन्त मल्टी फाईवर लिमिटेडका प्रशासकीय अधिकृत रमेशकुमार सुब्बा बताउँछन् ।
नेपालमा मात्र जम्मा ७ वटा जुट मिल रहेका मध्ये हाल ५ वटा मात्र सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका अरिहन्त मल्टि फाईवर्स लिमिटेड सोनापुर, श्री रघुपति, स्वस्तिक, चन्द्र शिव लगायतका छन् । जसमध्ये अधिकांश सुनसरी–मोरङ्ग औद्योगिक करिडोरमा छन् । बाँकी दुई वटा बिबिध कारणले बन्द भइसकेको अवस्था छ ।
यस्तो बेला उद्योगका लागि चाहिने बिषेश किसिमको दक्ष जनशक्ति उत्पादन गर्न सरकारले बिषेश नीति बनाएर जान आवश्यक रहेको र यो नै दुरगामी हुने सुनसरीको दुहवी नगरपलिकाका मेयर बेदनारायण गच्छदार बताउँछन् । ‘दक्ष र अदक्ष जनशक्तिको तलव मै फरक पर्छ’ गच्छदार भन्छन्–‘उद्योगमा श्रमिक संकटको दिगो समाधानको लागि हामीहरु औद्योगिक प्रशिक्षार्थीको मोडलबाट जानुपर्छ ।’ उद्योगमा काम गर्ने श्रमिकलाई उद्योगमा ब्यावहारिक ज्ञान दिदै सरकारको तर्फबाट सैद्धान्तिक ज्ञान दिएर प्राबिधिक शिक्षालय (सिटिईभिटी) मार्फत प्रमाण पत्र उपलब्ध हुनेगरि दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने मेयर गच्छदारले बताएका छन् ।
दक्ष श्रमिकले स्वदेशमै राम्रो पारिश्रमिक पाउने अवस्था श्रृजना गराउन सके श्रमिकको पलायनलाई कम गराउन सकिने धारण गच्छदारको रहेको छ । यसका लागि आफूले पहिल्यै उद्योग संगठन कार्यालयमा स्वीस सम्झौता, प्रदेश सरकार र सिटिईभिटीका प्रतिनिधिहरुसंग कुरा राखिसकेको भए पनि यो पूर्णरुपले कार्यान्वयन हुन नसकेको गच्छदारले स्वीकार गरेका छन् ।
यद्दपी औद्योगिक प्रशिक्षणको आन्तरिक ब्यवस्थापन सहित २०५१ सालदेखि सञ्चालनमा आएको अरिहन्त मल्टि फाईवर लिमिटेड (जुट मिल) मा जनरल लेवरको रुपबाट काम शुरु गरेका श्रमिकहरु पदोन्नती हुँदै इन्चार्ज सम्म भइसकेको जुटमिलका प्रशासकीय अधिकृत रमेशकुमार सुब्बाले बताएका छन् ।

बिभिन्न पदमा तीस जना भन्दा बढी श्रमिक पदोन्नती भएको यो उद्योगमा स्थापनाकालदेखि हेल्परको रुपमा कार्यरत बिनोद शाह आफु चरणबद्ध रुपमा पदोन्नती हुँदै अहिले उद्योगमा मेकानिकल बिभागमा इन्चार्ज बनेको बताउँछन् । २०५० सालमा उद्योग निर्माण कालदेखी प्रवेश गरेका बिनोद शाह सुरुवाती समयमा कलकत्ताबाट आएका प्राबिधिकहरु संग हेल्परको रुपमा नियूक्त भएका थिए । एक बर्ष देखी प्रमोशन पाउदै उनी मेकानिकल इन्चार्ज भएका हुन् । बिनोद शाह संग मात्र प्राबिधिक प्रमाण पत्र छैन तर उनि जनरल फिटरको रुपमा सवै काम गर्ने बताउँछन् । उनले उद्योगमा सवै सेवा सुविधाबाट सन्तुष्ट रहेको पनि बताएका छन् ।
त्यसैगरेर, २०५१ सालमा जनलर वर्कर को रुपमा उद्योगमा प्रवेश गरेका राजन रेग्मी अहिले तान बिभाग, लुम डिपार्टमेन्टमा इन्चार्ज छन् । काममा लागेको एक वर्षभित्रमा सुपरभाईजरको टे«निङ्गको अवसर पाएका उनले कलकत्तामा टे«निङ्ग गरेर २०५२ सालमा सुपभाईजर पद सम्हालेको राजन रेग्मी बताउँछन् । त्यसपछि पटक पटक गरेर उनि ईन्चाज भएका हुन् । आफु उद्योगको सेवासुबिधामा सन्तुष्ट रहेको पनि उनले बताएका छन् । उद्योगबाट काम छोडेर बैदेशीक रोजगारमा जानेहरु भएपनि रोजगारबाट फर्किएपछि श्रमिकहरु पुनः उद्योगको काममा फर्किनेहरु पनि धेरै हुनेगरेको लुम इन्चार्ज राजन रेग्मीले जानकारी दिएका छन् । कामको गुणात्मकता अनुसार सवै श्रमिकका लागि पदोन्नतीको सामान अवसर उद्योगमा रहेको पनि ईन्चार्ज रेग्मीले जानकारी दिएका छन् ।

जुट मिलले कच्चा पदार्थ सनपाट (जुट) ३५ प्रतिशत स्वदेशी र बाँकी भारत र बंगलादेशबाट आयात गर्ने गरेको छ । उत्पादित सामाग्रीहरु नेपालमा शपिङ्ग ब्याग, चिया ब्याग, सुतली डोरी, बोराहरु नेपाली बजारमा खपत हुने गरेका छन् । निर्यात ब्यापारमा भारत लगायतका देशमा पठाउने गरिएको भए पनि नेपाली उद्योगलाई भारतसंग प्रतिस्पर्धा गर्न चुनौती रहेको छ । भारतमा जुट मिललाई बिभिन्न लगानीमा सरकारी सहयोग र अनुदान उपलब्ध हुने हुँदा कम उत्पादन लागतमा तयार भएका जुटजन्य सामाग्रीहरुसंग नेपाली जुट उद्योगहरुले प्रतिस्पर्धा गर्नुपर्ने चुनौती रहेको अरिहन्त मल्टि फाईवर लिमिटेडले जानकारी दिएको छ ।
क्षेत्रफलको हिसावमा सानो भएपनि जनघनत्वको हिसावले ठूलो मानिएको दुहवी नगरपालिकाको एकै वडामा जुट मिल लगायत २६ वटा उद्योगहरु सञ्चालित औद्योगिक नगरी सुनसरीको दुहवी नगरपालिका ८ नं. वडा सोनापुर रोजगारी र औद्योगिक उत्पादनमा जिल्लामै अग्र स्थानमा मानिएको छ । बर्सेनि रोजगारीका लागि हजारौ मानिसहरु बसाँइ सराई गरेर आइपुग्ने ठाँउ ८ नं. वडा सोनापुरमा रहेको अरिहन्त मल्टी फाईवर लिमिटेड (जुट मिल) उत्पादन र श्रमिकको सेवा र सुबिधाका हिसावमा अग्रणी स्थानमा मानिदै आएको छ ।
एउटै छानो मुनि कुल चार हजार ६ सय जनालाई रोजगारी उपलब्ध गराएको जुट मिलले आफ्नो फिनिस्ड प्रोडक्ट दैनिक सत्तरी मेट्रिक टन जुट जन्य सामाग्रीहरु उत्पादन गर्ने गरेको छ । सामाग्रीहरु राख्ने बिभिन्न प्रकारका बोराहरु, सुतली (डोरी एक प्रकारको), चिया प्याकेजिङ्ग गर्ने झोला लगायत आधुनिक सपिङ्ग ब्यागहरु समेत उत्पादन गर्दै आएको छ ।
जम्मा रोजगारी संख्यामा झण्डै दुईहजार महिला श्रमिकलाई रोजगारी उपलब्ध गराएको उद्योगमा एक हजार जनालाई आवास सुबिधा सहित खानाको ब्यवस्था समेत उद्योगले उपलब्ध गराएको उद्योगका प्रसासनिक अधिकृत रमेशकुमार सुब्बाले जानकारी दिएका छन् । त्यसैगरेर श्रमिकको स्वास्थ्य, सामाजिक सुरक्षा र भैपरि घटनामा समेत उद्योगले ब्यवस्थापन गरेको जनाएको छ ।
चौबिसै घण्टा सञ्चालन हुने यो उद्योगले श्रमिक स्वास्थ्य सेवामा चौबिसै घण्टा तिनजना स्वस्थ्य प्राबिधिकहरु, औषधी र आपतकालिन अवस्थाको उद्दार सेवाका लागि एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको छ । सामाजिक सुरक्षा ऐन अनुसार श्रमिकको सुरक्षा संरक्षित गर्ने गरिएको, घटनाका प्रकृति अनुसार श्रमीकलाई भैपरि ब्यवस्थापन, संञ्चयकोष र पेन्सनको ब्यवस्थापन समेत संरक्षित गरिएको उद्योगले जनाएको छ । कोरोना महामारीमा पूर्ण स्वास्थ्य प्रोटोकल अपनाईएको यो उद्योगमा ६० प्रतिशत श्रमिकलाई कोरोना बिरुद्धको भ्याक्सिन लगाई सकिएको र बाँकी लाई स्थानिय बडा मार्फत समन्वय भइ रहेको पनि उद्योगले जानकारी दिएको छ ।
फोटो फिचरः अरिहन्त मल्टिफाईवर लिमिटेड, सुनसरी ।
