इटहरी । पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई अघि बढाउन पालिका तहसम्म आन्दोलन परिचालन समिति गठनको प्रक्रियालाई अगाडि बढाएको छ ।
पालिका स्तरीय आन्दोलन परिचालन कमिटि निर्माण गर्ने जिम्मेवारी पार्टीका केन्द्रीय सदस्य र प्रदेश सदस्यहरुलाई दिइएको छ । यसैअनुरुप केन्द्रीय सदस्य किरण राईलाई धरान उपमहानगरपालिका, रामधुनी नगरपालिका र कोशी गाउँपालिकामा आन्दोलन परिचालन समिति गठनको जिम्मेवारी दिइएको छ । उनलाई सहयोग गर्ने पार्टी प्रदेश कमिटि सदस्यहरु रमेश बस्नेत (जिल्ला सचिव) मुक्सामहाङ्ग मेन्याङ्बो (मुकेश), आइन्द्र विक्रम वेघा, जसकुमार राई, मनोज मेन्याङ्वो, राजेन्द्र किराती, सुरज चाम्लिङ्ग, सागर राई, सूर्य पन्धाक, जयकुमार राई, उमिता बराइली, सावित्री जोशी रहेका छन् ।
त्यसैगरी, केन्द्रीय सदस्य निर्मल बराललाई बराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका र बर्जु गाउँपालिकामा आन्दोलन परिचालन समिति निर्माण गर्ने जिम्मेवारी दिइएको छ । उनको साथमा प्रदेश कमिटि सदस्यहरु डि.बी. साहशंकर, पोष्ट नेपाल, सुरेन्द्र मेहता, बालेश्वर चौधरी, निरा आचार्य र नरेन्द्र बस्नेत रहेका छन् ।
त्यसैगरी, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका र गढी गाउँपालिकामा आन्दोलन परिचालन समिति गठन गर्ने जिम्मेवारी केन्द्रीय सदस्य रामकुमारी चौधरीलाई परेको छ । उनको साथमा प्रदेश कमिटि सदस्यहरु केशव विष्ट, द्वारिकलाल चौधरी, चिरन्जीवी भट्टराई, प्रमोद शेर्पा, अनिता परियार, रोहित कार्की, भानु मैनाली, सन्तोष चौधरी रहेका छन् ।
साथै केन्द्रीय सदस्य महम्मद महफूज अन्सारीलाई भोक्राह नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकामा आन्दोलन परिचालन समिति गठन गर्ने जिम्मेवारी परेको छ । उनको साथमा योगेन्द्रप्रसाद मण्डल (पप्पु) (जिल्ला अध्यक्ष), किरण कार्की, हिमाल सुवेदी, शिव डाँगी, चन्द्रकुमार चौधरी र जाकिर मियाँ रहेका छन् ।
यही पुस १८ गते भएको जिल्लाको विस्तारित बैठक तथा भेलाले जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य धर्म निरौला संयोजक रहेको जिल्ला स्तरीय आन्दोलन परिचालन समिति गठन गरिसकेको छ । पुस १९ गतेदेखि २४ गतेसम्म गाउँ, नगर कमिटको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेला गरी पालिका स्तरीय आन्दोलन परिचालन कमिटि गठन प्रक्रिया अघि बढेको केन्द्रीय सदस्य रामकुमारी चौधरीले बताइन् । त्यसैगरी २५ गतेदेखि २९ गतेसम्म वडा कमिटिहरुको बैठक तथा अगुवा कार्यकर्ता भेला गरिने जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद मण्डल (पप्पु) ले जानकारी दिए । जिल्ला कमिटि सदस्यहरुलाई भने आफू बसोबास गरेको पालिकामा केन्द्रित भएर स्थानीय तह हेर्ने इन्चार्जसँगको समन्वयमा काम गर्न निर्देशन दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघठनको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले सो सिफारिस सदर गरेपछि नेकपाको सुनसरी जिल्ला पार्टी कार्यालयमा जिल्लाभित्र रहेका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटिका सदस्यहरु र जिल्ला कार्यालय सदस्यहरु सम्मिलित बैठक बसी १४ गते विरोध प्रदर्शन गर्ने योजना बनाएको थियो । यो योजना भव्यरुपमा सम्पन्न भइसकेको छ । त्यसैगरी, पुस १५ गते नगर तथा गाउँ कमिटि इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवहरुको संयुक्त बैठक आयोजना गरिएको थियो ।
