इटहरी । वडावासीलाई वडामै आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले इटहरी–५ मा वुधवार वडास्तरीय स्वास्थ्य इकाई भवन शिलान्यास गरिएको छ ।
पचरुखी स्थित काव्यवाटिका परिसरमा ५ नम्बर वडाको स्वास्थ्य कार्यालय भवन सिलान्यास गर्दै इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले स्वास्थ्य कार्यालय भवनको सिलान्यास गर्दै १८ नम्बर वडामा पनि वुधवार नै वडास्तरीय स्वास्थ्य इकाई भवन सिलान्यास गरिएको जानकारी दिए ।
उनले कोभिड–१९ कारण विकास निर्माणका काम सोचे जसरी अघि बढाउन नसकिएको बताए । उनले भने–‘तर, पनि हामी अब विकास निर्माणमा फड्को मार्नेछौं, ।’ उनले विकास निर्माणमा जनप्रतिनिधहरु इमान्दार भएर काम गरिरहेको दावी गरे । उनले अब कोभिड–१९ का बाबजुद पनि विकास निर्माणलाई प्रभावकारी हिसाबले अघि बढाउने बताए । उपमहानगर प्रमुख चौधरीले यो वर्ष ३० देखि ४० किलोमिटर सडकहरु कालोपत्रे गरिसक्ने कुरा दोहोर्याएका छन् । उनले विकास निर्माणमा इटहरीवासीको ६० प्रतिशत सहभागिता रहेको जानकारी दिए ।
त्यसैगरी, भवन सिलान्यास कार्यक्रममा सहभागि हुदै इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले सबै वडाबाट जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने काम जारी रहेको बताइन् । उनले अति गरिब साथै दलित समुदायको स्वास्थ्य विमा इटहरी उपमहानगरपालिकाले गरिदिने पनि जानकारी दिइन् । उनले विमा अभिकर्तालाई गाउँ वस्ती पुग्न आग्रह पनि गरिन् ।
उपप्रमुख गौतमका अनुसार ५ नम्बर वडामा सहरी स्वास्थ्य केन्द्र भवन संचालन गर्ने योजना रहेपनि घर भाडा महंगो पर्ने देखिएपछि १७ नम्बर वडामा सारिएको वडावासीलाई जानकारी दिइन् । १७ नम्बर वडामा आफ्नै भवनमा सहरी स्वास्थ्य केन्द्र संचालनमा ल्याइएको छ ।
भवन सिलान्यास कार्यक्रमको सभापतित्वसमेत गरेका ५ नम्बर वडा अध्यक्ष कल्याणबहादुर कार्कीले भवन निर्माण भए पश्चात ल्याव परीक्षण गरेर मात्र भुक्तानी दिन इटहरी उपमहानगर कार्यालयलाई आग्रह गरे । २४ लाख ५ हजार ७ सय ५८ रुपैंया लागतमा सो भवन बन्न लागेको हो । इटहरी उपमहानगरका इन्जिनीयर जिवन घिमिरेले योजना गत वर्षकै भएपनि विविध प्राविधिक कारणले यस बर्ष मात्र काम अघि बढाउन सकिएको बताए । उनले साविकका ८ वटा आधारभूत स्वास्थ्य कार्यालय भवन रहेको र अब १४ वटा यस्ता भवन बनाउने अभियान अन्तर्गत ५ नम्बर वडामा पनि निर्माण कार्य थालनी गरिएको जानकारी दिए । त्यसैगरी, इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामचरण चौधरीले वडा स्तरीय स्वास्थ्य कार्यालयबाट आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने बताएका थिए ।
कार्यक्रममा ५ नम्बर वडा सदस्य सन्तोष पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने सोही वडाका पूर्व वडा अध्यक्ष बन्हुलाल चौधरीले भवन निर्माण चाँडै सम्पन्न होस् भनी शुभकामना दिएका थिए । त्यसैगरी निर्माण व्यावसायी माधव थापाले समयमै स्वास्थ्य कार्यालय भवन निर्माण गरिसक्ने प्रतिबद्धता जनाएका थिए । राजराजेश्वरी कन्ट्रक्सन प्रा.लि.सँग भएको सम्झौता अनुसार सो भवन २०७८ असार १० गतेभित्र पूरा भइसक्नु पर्नेछ । शिलान्यास कार्यक्रमको संचालन इटहरी उपमहानगरका कर्मचारी महेश सुवेदीले गरेका थिए ।