इटहरी । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसका अवसरमा इटहरी उपमहानगरले वडा नम्वर १४ नरभासामा वृक्षारोपण सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य धर्म निरौला, विशिष्ठ अतिथि संविधानसभा सदस्य अनिता परियार, इटहरी उपमहानगर मेयर द्वारिकलाल चौधरी लगायत जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु र स्थानीयले वृक्षारोपण गर्नुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि निरौलाले रोपिएका विरुवा जोगाउन सके मात्र वृक्षारोपण सफल हुने बताउनुभयो । उहाँले रुख जीवनको एक आधार भएकाले संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो । विशिष्ठ अतिथि परियारले सम्वृद्धिलाई निष्कर्षमा पुर्याउन पुष्पलालले सिकाउनु भएको समन्वय र सहकार्यलाई ब्यवहारमा उर्तान सक्नुपर्नेमा जोड दिनुभयो ।
मेयर चौधरीले गाँउका जनतालाई उपमहानगरवासी भएको अनुभूत हुने गरि काम भइरहेको प्रष्ट पार्नुभयो । उहाँले मदन स्मृति दिवस, वीपीस्मृति दिवस र पुष्पलाल
स्मृति दिवसका अवसरमा गाँउमा वनेका सडक किनारामा वृक्षारोपण गरिएको वताउनुभयो । वडाध्यक्ष रमेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य दुःखीलाल चौधरीले स्वागत मन्तब्य ब्यक्त गर्नुभयो ।
त्यसैगरी, गैसार स्थित पुष्पलाल चौकमा पनि पुष्पलाल स्मृति प्रतिष्ठान इटहरी, सुनसरीले पनि पुष्पलालको शालिकमा माल्यापर्णको कार्यक्रम आयोजना गरेको छ । वुधबार नेकपाका केन्द्रीय नेताहरु धर्म निरौला, रामकुमारी चौधरी, भगवती चौधरी, निर्मल बराल लगायतका नेताहरुले पुष्पलाल चौकमा स्थापना गरिएको पुष्पलालको शालिकमा माल्यार्पण गर्नु भएको प्रतिष्ठानका अध्यक्ष केशव बस्नेतले जानकारी दिनु भयो । साथै सोही ठाउँमा पनि बृक्षारोपण गरिएको छ ।
त्यसैगरी, वीपी जयन्तीका अवसरमा इटहरी उपमहानगरले इटहरी–१८ रहिपुरमा वृक्षारोपण गरेको छ ।
प्रमुख अतिथि संघीय सांसद सीताराम मेहता, विशिष्ठ अतिथि मेयर द्वारिकलाल चौधरी लगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु र स्थानीयले वृक्षारोपण गर्नु भएको थियो ।
आँप, लिची, रुद्राक्ष, वेल, कपुर लगायतको जातका विरुवा रोपिएको छ । वृक्षारोपण अघि भएको कार्यक्रमलाई सम्वोधन गर्दै संघीय सांसद सीताराम मेहताले इटहरी उपमहानगरले वीपी जयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम राखेकोमा धन्यवाद ज्ञापन गरे । उनले वीपी कोइराला एउटा पार्टीको मात्र नभई देशकै नेता भएको बताउनु भयो ।
मेयर द्वारिकलाल चौधरीले देशका लागि योगदान दिएका नेताहरुको स्मृतिमा उपमहानगरले वृक्षारोपण कार्यक्रम गर्दै आएको जानकारी दिनु भयो । उहाँले देश र समाजका लागि योगदान दिनु भएका ब्यक्तित्वहरुको नाममा स्मृति भवन र स्मारक बनाउन उपमहानगरले वजेट विनियोजन गरेको जानकारी दिनु भयो । कार्यक्रममा नेकपा इटहरी अध्यक्ष बहादुर सिंह तामाङ्ग र काँग्रेस नगर सचिव प्रकाश वस्नेतले वीपी कोइरालाको योगदानको चर्चा गनु भएको थियो ।
वडाध्यक्ष रामकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य अन्जु चौधरीले स्वागत गनु भएको थियो ।
उपमहानगरले यो वर्ष १ लाख विरुवा रोपेर संरक्षण गर्ने अभियान चलाएको छ ।
त्यस्तै, पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २ सय ८२ पिन्ट रगत संकलन गरिएको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठान सुनसरीको आयोजनामा गरिएको कार्यक्रममा संकलित रगतले सुनसरीमा रगतको अभाव पूर्ति गर्ने प्रतिष्ठानका अध्यक्ष नन्द बस्नेतले बताउनु भयो ।
नेकपाका सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौलाको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा सुनसरी सहइन्चार्ज निर्मल बराल, सुनसरी सहइन्चार्ज एवम् पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, जिल्ला अध्यक्ष योगेन्द्र मण्डल पप्पु, जिल्ला सचिव रमेश बस्नेतलगायतको उपस्थिति रहेको प्रतिष्ठानका जिल्ला सदस्य काशीनाथ दंगालले जानकारी दिनु भयो ।