इटहरी । इटहरी उपमहानगरको सातौ नगरसभाबाट आगामी आर्थिक वर्ष ०७७÷७८ को वजेट नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।
नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा भएको शुक्रबारको नगरसभा वैठकले सर्वसम्मतले वजेट नीति तथा कार्यक्रम पारित गरेको हो । वैठकले अर्थ विधेयक २०७७ र विनियोजन विधेयक २०७७ सर्वसम्मतले पारित गरेको छ ।
विधेयक माथिको छलफलमा १४ जना नगरसभा सदस्यहरुले भाग लिएका छन् । नीति कार्यक्रम वजेट, अर्थ र विनियोजन विधेयक माथि उठेका प्रश्नहरुको उपमेयर लक्ष्मी गौतमले जवाफ दिनुभयो । उहाँले नगरसभासदस्यहरुले अहिलेसम्मकै उत्कृष्ठ वजेट भन्नु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले कोरोना महामारीले जन्माएको जटिल परिस्थिति सहज हुने वित्तिकै रात्री बजार संचालन गरिने जानकारी दिनुभयो ।
इटहरीमा धुम्दै गरेको पृथ्वीमाथि नेपालको नक्सा सहितको आकर्षक स्तम्भ निर्माण गरिने वताउनुभयो । इटहरी उपमहानगरले भत्तामा कटौती गरेर कोरोना तथा स्वास्थ्यकोषमा जम्मा गरिने प्रष्ट पार्नु भयो ।
साथै उहाँले जनसंख्या, भूगोल र आयश्रोतलाई आधार मानेर ब्यवस्थित ढंगले वजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
शुक्रबारको वैठकमा नगरसभा सदस्यहरु निश्चल पोखरेल, पार्वता वराइली, तोयाकुमारी ढकाल र बालकृष्ण विष्टले अर्थ र विनियोजन विधेयकका बारेमा बोल्नुभयो ।
उपमहानगरको सातौ नगरसभामा गत असार १० गते उपप्रमुख लक्ष्मी गौतमले १ अर्व ७८ करोडको वजेट प्रस्तुत गर्नुभएको थियो । वजेटमा १ अर्व ७८ करोड कुल विनियोजन मध्ये चालु तर्फ ७१ करोड ७५ लाख, पूँजीगततर्फ १ अर्व ४ करोड ७५ लाख र वित्तीय ब्यवस्था तर्फ १ करोड ४० लाख अनुमान गरिएको छ । वजेटमा स्वास्थ्य, कृषि, रोजगार र भौतिक संरचना निर्माणलाई प्राथमिकता दिइएको छ ।
