असारे भाकासँगै बेठी परम्परा पनि लोप हुदै

  • असार २१, २०७७ / "नेपाल रेखा"
alt

खाँदबारी । सहरिया नयाँ पुस्तालाई ‘बेठी’ शब्द नै आश्चर्यको विषय बन्न सक्छ । बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ । ग्रामीण भेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ । नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ बेठी परम्परा किसानको संस्कृति अब स्मृतिमा सीमित हुँदै जान थालेको छ ।

पुर्खादेखि चल्दै आएको चलनलाई जीवन्त राख्न बेठी परम्परालाई संरक्षण गर्ने प्रयास गरिएको छ । लोप भइसकेको बेठी परम्पराको जगेर्ना गर्न सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ वानाका चार दाजुभाइले गत वर्ष बेठी लगाएर धान रोपाइँ गरेका थिए । चार दाजुभाइले २० वर्षपछि लगाएको बेठी युवापुस्ताका लागि अत्यन्तै नौलो र रोचक दृश्य बनेकोे पाँचखपनका स्थानीय वृद्ध बृहस्पति गौतमले बताउनुभयो । नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहित गत वर्ष बेठी लगाउँदै धान रोपाइँ गरिए पनि यस वर्ष निरन्तरता पाउन सकेन । हराउनै लागेको बेठीको संरक्षण गर्नका लागि आफूहरूले यस वर्ष बेठी लगाएको चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । वर्षौँअघिदेखि चल्दै आएको बेठी रोपाइँको चलन अहिले एक देशको कथाजस्तो भएको स्थानीयवासीको भनाइ छ ।

पहिले नै हिलो आली सकेर तयार पारेको पर्याप्त पानी पुग्ने खेत, तयारी अवस्थाको धानको बीउ, दर्जनौँ हलगोरु, सोही अनुपातमा बाउसे, रोपाहार अनि बाजागाजाको टोली भएपछि मात्र बेठीको रौनक शुरु हुन्छ । मानव जीवन र हिलो माटोबीचको अन्योन्याश्रित सम्बन्धको प्रतीकसमेत बन्दै आएका किसानले माटोको टीका थाप्नुपर्ने बेठीमा दर्जी समुदायले बाजा बजाउने र श्रमिकले आ–आफ्नो भूमिकाअनुसारको खेतमा काम गर्नुपर्ने चलन रहेको पाँचखपन–१ का ७१ वर्षीय टीकादत्त भट्टराईले बताउनुभयो ।

देशमा भूमिसम्बन्धी जिम्मावाल व्यवस्था कायम रहुञ्जेलसम्म जिम्मावालको सान र रवाफको पर्याय बन्दै आएको बेठी परम्परा विसं २०२१ मा लागू भएको भूमिसुधार कार्यक्रमपछि गाउँ समाजमा सामाजिक प्रतिष्ठाका रूपमा हुनेखाने वा गाउँका धनीमानी वा मुखियाहरूकै प्रतिष्ठा वृद्धिको माध्यमका रूपमा चल्दै आयो । नौमती बाजाको तालमा रौसिँदै, असारे गीतको भाका हाल्दै, जोतेको हिलो माटोलाई लेदो बनाउन दाँदे लाउने, हिलो सम्याउने बाउसे, कोही पानीको मात्रा मिलाउने, कोही ब्याडमा बीउ काढ्ने, कसैले गरागरामा बीउका मुठा ओसारिदिने, रोपाहारले आपसमा उछिन र पाछिन गर्दै लहर मिलाएर बीउ रोपेको दृश्य निकै रोमाञ्चक हुन्छ । सिमेभूमेको पूजा, ठूलो गरामा धान धेरै फलोस् भन्ने कामनासहित भकारी बाँधेर नाचसहित आपसमा हिलो छ्यापाछ्याप गर्दा दिनभरिको सबै थकान मेटिन्छ ।

रोपाइँ सकेपछि भोज 106217684_637610670296158_2406968593977300975_n खाने चलन रहेकाले यसलाई किसानले पछिल्लो समय पर्वका रूपमा मनाउन थाले । बेठीको दिन आप्mना चेलीबेटीलाई समेत बोलाएर रोपाइँ गर्ने चलन छ । नौमती बाजा, दर्जनौँ हलगोरु, सयौँ रोपाहार र बाउसेहरूले एकै दिन रोपाइँ गरेर उनीहरूले यसलाई पर्वका रूपमा मनाउने गरेका थिए । अरुबेला गरिएको रोपाइँमा खेताला पर्म र बोलाइएकाहरूलाई पैसा दिनुपर्ने भए पनि बेठीमा आएकाहरूको पर्म तिर्नु पर्दैन तर रोपाइँ सकिएपछि माटोको टीका र धानको बीउको फूल लगाएर रोपाहार र चेलीबेटीलाई दक्षिणास्वरुप पैसा दिने चलन छ । बेठी परम्परा विगतमा जुन हिसाबले थालनी गरिए पनि लोपोन्मुख संस्कृति भएकाले यसको संरक्षण गर्नु किसानको मात्र नभएर सरकारको समेत कर्तव्य भएको सरोकारवालाको भनाइ छ ।

नेपाली समाजमा यो चलन कहिले शुरु भयो कसैले यकिनसाथ भन्न सक्तैन । जे जसरी शुरु भए पनि पहिलेको समाजमा मुखिया वा जमीनदारहरूले बेठी लगाउने दिन भनेपछि उसको समाजका सबैले आफ्नो परिवारबाट एक जना श्रमिक पठाउने गर्दथे । तत्कालीन समाजमा बेठीमा आएका श्रमिकलाई ज्याला दिइँदैनथ्यो । न पर्म नै तिरिन्थ्यो । जिम्मावाल वा मुखिया प्रथामा आएको परिवर्तनसँगै बेठी परम्परामा समेत आएको परिवर्तनले श्रमिकहरूलाई ज्याला दिने चलन बसेको थियो । सामाजिक परिवर्तनको लहर वा मानिसहरूको दृष्टिकोण र बानी व्यवहारमा आएको परिवर्तनले बेठी परम्पराको अस्तित्व लोप हुनपुगेको छ ।106980341_2322862504688859_2766245385898846590_n

आजभोलि गाउँघरतिर पहिलेको जस्तो खेतीपातीको काममा आकर्षण छैन । पछिल्लो समय ग्रामीण भेगका युवापुस्ता शहर केन्द्रित श्रम, वैदेशिक रोजगारी र कृषि कार्यमा अपेक्षित ज्याला नपाइने भएकाले खेतीपाती छाड्ने गरेका छन् । सङ्खुवासभामा १३ हजार हेक्टर जमीनमा धानखेती गरिने गरेको कृषि ज्ञान केन्द्र सङ्खुवासभामा प्रमुख गोविन्द आचार्यले बताउनुभयो । जिल्लामा अहिलेसम्म १७ प्रतिशत धान रोपाइँ सकिएको प्रमुख आचार्यको भनाइ छ ।

सडककाे दुरावस्था ...

केही दिनदेखिकाे वर्षाका कारण सुनसरीको इनरुवा नगरपालिका- ...

पुलको ड्याम पुर्ननिर ...

कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली ...

समाजका लागि केही गर् ...

हामीले सुरु गरेको ‘व्यक्तित्व परिचर्चा’ कार ...

कोशी प्रदेशसभामा बजे ...

विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकमा आगामी आर्थि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]