इटहरी । इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ का १ अर्ब ७८ करोड बजेट विनियोजन गरेको छ ।
वुधबार सुरु भएको सातौं नगरसभामा उपमहानगर उपप्रमुख एवम् बजेट तथा योजना तर्जुमा समिति संयोजक लक्ष्मी गौतमले आगामी आर्थिक बर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि पौने दुई अर्ब बढीको अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो ।
कुल विनीयोजनमध्ये चालुतर्फ ७१ करोड ७५ लाख रहेको छ भने पँुजीगततर्फ १ अर्ब ४ करोड ८५ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड ४० लाख अनुमान गरिएको छ ।
आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघिय सरकारबाट प्राप्त समानीकरण अनुदानबाट ३० करोड १८ लाख, संघिय राजश्व बाँडफाँडबाट १५ करोड ५ लाख ८६ हजार १ सय ४०, समपुरकबाट १ करोड ६८ लाख, प्रदेश समानीकरण अनुदानबाट ९४ लाख ७० हजार, प्रदेश शशर्त अनुदानबाट ७ करोड, प्रदेश समपुरकबाट १ करोड, प्रदेश राजश्व बाँडफाँडबाट (रजिष्ट्रशनबाटसमेत) २४ करोड २१ लाख ४३ हजार ५ सय ९० रहेको छ ।
साथै आन्तरिक आयबाट ३८ करोड १५ लाख पनि बजेटमा समायोजन गरिएको छ । तराई मधेश समृद्धि कार्यक्रमबाट आउने ३५ लाख पनि यसै बजेटमा जोडिएको छ । शासकीय सुधारका लागि आउने २ करोड, न्यूनवित्त परिचालनबाट आउने ५ करोड
५० लाख र संचित कोषको १० करोडसहित इटहरी उपमहानगरको आगामी बजेट आएको हो ।
इटहरी उपमहानगरपालिकाले आर्थिक बर्ष २०७६÷२०७७ मा १ अर्ब ८५ करोड ५० लाखको बजेट बिनियोजन गरेको थियो । मङ्गलबारबाट सुरु भएको नगरसभाले उक्त बजेट बिनियोजन गरेको हो । आव २०७५÷७६ मा भने १ अर्ब ३७ करोड १० लाख ५८ हजारको बजेट ल्याइएको थियो ।
बजेट प्रस्तुतीको कार्यक्रममा संविधानसभा सदस्य रेवती भण्डारी, प्रदेश संसदहरु सर्वध्वज साँवा र लिलम बस्नेतले बजेट कार्यान्वयनको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले गर्नु भएको थियो । बजेट छलफलका लागि नगर सदस्यहरुले यही असार १६ गते नगर सचिवालयमा नाम दर्ता गराउनु पर्नेछ भने १७ गते विनीयोजन विधेयममाथि छलफल हुनेछ ।