धनकुटा । नेपाल नेत्रज्योति संघ धनकुटा, डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाले यहाँको मुलघाटमा रहेको विश्रान्ति वृद्धाश्रमका जेष्ठ नागरिकहरूको आँखा जाँच गरेको छ ।
वृद्धवृद्धाको आँखा सम्बन्धी उपचारका लागि निःशुल्क उपचार शिविर संचालनमा ल्याइएको हो । शिविरमा वृद्धाश्रमका ४६ जना वृद्धवृद्धाको आँखा जाँच गरिएको हो । शिविरमा निःशुल्क औषधि वितरण गरिएको र आँखा कमजोर भएका वृद्धवृद्धालाई निःशुल्क चस्मा वितरण गरिने नेत्रज्योति संघ धनकुटाका अध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिए ।
उक्त निःशुल्क आँखा शिविरबाट ६५–९९ बर्ष सम्मका जेष्ठ नागरिकहरुले सेवा लिएका थिए । उक्त शिविरमा डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पतालका चिकित्सकले सेवा दिएको नेत्रज्योति संघ धनकुटाका सचिव देवबहादुर खड्काले जानकारी दिए ।
शिविर नेत्रज्योति संघका केन्द्रीय कोषाध्यक्ष दोर्णप्रसाद गुरागाई, विश्रान्ति वृद्धाश्रम व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेको उपस्थितिमा सम्पन्न भएको थियो । विश्रान्ति वृद्धाश्रममा ६५ वर्षदेखि १ सय ६ वर्षसम्मका वृद्धवृद्धा बस्दै आएका छन् ।