मानव जातिको विकास क्रममा संजोग र सन्दर्भले सन् २०२० लाई कोरोनाले संक्रमित वर्ष बनायो । अपरिचित भाइरसलाई मानव जीवनसंग जोडेर परिचय दिनका लागि भयानक र खतरनाक शब्दबाट सम्बोधन गर्ने विडम्बना मुस्किलले धान्नु परेको छ । विश्व स्वास्थ्य संगठनले कोविड–१९ नामाकरण गर्न केही समय लाग्यो । अन्तत सम्पूर्ण स्वास्थ्यकर्मी, बैज्ञानिक, चिकित्सा शास्त्रसंग विज्ञ रहेका व्यक्तित्वहरुको सरसल्लाहका साथ संसार भरिका मानिसहरुको मस्तिस्कमा सहज प्रवेश गर्ने गरि उद्गम मुलुक चिनको वुहानमा संक्रमित भएका मानिसहरु प्रतिको संवेदना साथ नामाकरण भयो । कोरोना भाइरसको उपजातिको रुपमा कोविड–१९ संक्रामक सुत्रको नामले विश्व भरि परिचित छ जसलाई विश्व भरीकै संचारकर्मीहरुले विश्वमानव मञ्चमा तत्काल प्रसारण गरे । नामाकरण पश्चात विश्वव्यापी रुपमा व्याप्त रहेको कोविड–१९ ले विश्व नै संक्रमित भै रहँदा विश्वभरि काम गर्ने आम संचारकर्मीहरु र संचार माध्यमहरुले विश्व मानव मञ्चलाई निमेष निमेषमा सूचना उपलब्ध गराएका छन् । यस विचमा विश्वभरी रहेका राष्ट्रराज्यहरु, मानवहितधिकारी संस्थाहरु, गैरसरकारी संस्थाहरु लगायत मानव हितमा तत्कालीन रहेका सम्पूर्ण संघ संगठनहरु यस संक्रमणलाई न्यूनिकरण र विपद व्यवस्थापन गर्ने कार्यमा लागि परेका छन् । त्यसमध्ये संचार जगत सही, सत्य र भरपर्दो सूचना प्रबाहमा लागेको छ ।
यस कठिन घडीमा समाजका सबै तह तप्काको सकारात्मक पहल कद्मीको आवश्यकता संसार भरिकै मानिसहरुले महसुस गरेका छन् । सामान्य नागरिक जीवन भन्दा भिन्न परिवेश भएको हुँदा गम्भीरताका साथ सूचना प्रबाह गर्नु पत्रकारहरुको दायित्व बनेको छ । नेपाल प्रेस काउन्सील ऐन २०४८ को दफा ७ को खण्ड ख बमोजिम सामान्य अवस्थामा प्रकासन प्रसारण गरिने सूचना संचार भन्दा यस परिवेशमा केही फरक रुपमा सूचना संचार प्रबाह गर्नु पर्ने भएको छ ।
यसै क्रममा नेपालमा पनि कोविड–१९ को संक्रमणबाट मानव जीवन संक्रमित हुँदै जाँदा विश्वमा भएका केही घट्नाहरु जस्तै मृत्यूका घटनाहरु शुरु भएका छन् । संक्रमित मानिसको मृत्यूको समाचार प्रबाह गर्नु संचार जगतको धर्म भए पनि कानुनले अस्वीकार गरेको भनाई र फोटा चित्रहरु फोटो पत्रकारिताको रुपमा निर्वाध प्रबाह भएको देखियो यस्ता फोटो चित्रले गोपनियतालाई प्रतिकूल प्रभाव पार्ने भएको हुँदा जारी निर्देशिकाको प्रकरण (६) मा संक्रमणबाट मृत्यू भएका मानिसहरुको फोटो प्रकाशित र प्रसारित गर्न नमिल्ने भनी स्पष्ट व्यवस्था गरेता पनि केही संचार माध्यमहरुले मानवीय संवेदनालाई महसुस नगरी प्रकाशित र प्रसारण गरेको पाइयो । यस कठिन घडीमा समाचार प्रकाशन तथा प्रसारण गर्दा मानव जीवनप्रतिको विपतिलाई मानवीय मूल्यमै तुलना गरि संवेदनशिल भई सूचना सूचित गर्नु परम धर्म मान्नु पर्ने हुन्छ ।