खोटाङ्ग । “मानवता हराएको देश र गैर जिम्मेवार नागरिक भनेर यदाकदा बोलिने शब्दहरु आज गलत सावित भएका छन् ।” आफ्ना नगरका छिमेकी अगुवाहरुलाई मुरीमुरी धन्यवाद दिदै ः हलेसी तुवाचुङ नगरपालिका की नगर उपप्रमुख बिमला राईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखिन् । उनको स्टाटसमा लेखिएको थियो–“उहाँलाई सहयोग गर्ने छिमेकी उदाहरणीय पात्र हुनुहुन्छ, साह्रै खुशी लाग्यो ! संयोगले मलाई पनि एकछिन आमाको खुशीको मुहार हेर्ने अवसर मिल्यो ।”
२०७२ बैशाख १२ को बिनासकारी महाभुकम्पले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान स्थित ऐसेलुखर्ककी ८० वर्षीया एकल बृद्धा महिला हीरामाया राईको घर क्षतिग्रस्त भयो, राष्ट्रि«य पुनःनिर्माण प्राधिकरणबाट भुकप्प प्रतिरोधी घर निर्माण गर्न हीरामायाले अनुदान त पाउनु भयो तर जनशक्तिको अभावमा उहाँले आफ्नो घर बनाउन नसकेर बिचल्लीमा पर्नुभयो ।
गाँउमा बिधुत बिस्तार भएको सात वर्ष सम्म पनि त्यही जिर्ण घरको अन्धकारमा नै बिताउदै आउनु भएको थियो । चुल्होको आगोको उज्यालोकै भरमा रात्रीका कामहरु गर्दै दिनहरु कटाउँदै गर्दा हलेसी तुवाचुङ नगरपालिका–७ का स्थानीय खामाखा खार्चुम समाजमा आबद्ध छिमेकी युवाले घर बनाइदिएपछि, अहिले भने उमेरले पाकी नि–सन्तान ८० वर्षिय एकल बृद्धाको अनुहारमा खुसी छल्किएको छ ।
विसं १९९६ मा जन्मनु भएकी हीरामायाको घर पुनःनिर्माणमा स्थानीय खामाखा खार्चुम समाजका सचिव नवीन राई सँगै श्यामचन्द्र राई, आशिष राई, देविका राईलगायत छिमेकी युवाले निःशुल्क सहयोग गर्नुभएको जनाइएको छ । श्रमदानमा घर निर्माण गरिदिएका उनीहरूले हीरामायाको घरमा पहिलोपटक विद्युत्समेत जडान गरिदिएर घरमा बिजुली बलेपछि सहज भएको स्थानीय बासिन्दाले बताएका छन् ।
जस्तापाताको छाना हालेर चिटिक्क पारिएको हीरामायाको घर वरपर अहिले लामो समयदेखि थुप्रिएको फोहरसमेत सरसफाइ गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनका बीचमा पनि समाजमा आबद्ध छिमेकीले श्रमदान गरेर घर निर्माण गरिदिएपछि बेसहारा जीवन बिताइरहनुभएकी हीरामाया अहिले हर्षित देखिनुभएको छ ।