इटहरी । हुलाक सेवा विभागको पहलमा द्रुत डाँक सेवा (इएमएस) सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार इटहरीस्थित त्रियुगा होटलमा सम्पन्न भएको छ ।
जिल्ला हुलाक कार्यालय सुनसरीको समन्वयमा आयोजित कार्यक्रममा हुलाक सेवाको ऐतिहासिक यात्रा, वर्तमान संरचना, सेवा विस्तार र सुधारका सम्भावनासहित छलफल गरिएको हो ।
कार्यक्रममा हुलाक सेवा विभाग निर्देशक जमुना मिश्रले नेपालमा हुलाक सेवाको ऐतिहासिक विकासक्रम विषयमा प्रस्तुति दिँदै २०१७ सालदेखि २०८१ सालसम्मका प्रमुख संस्थागत परिवर्तन, विभागीय विस्तार, संरचनागत सुधार र सार्वजानिक सेवा प्रवाहमा हुलाकको योगदानबारे उल्लेख गरिन् ।
उनले हुलाक प्रशिक्षण केन्द्र (२०१९), केन्द्रीय टिकट भण्डार (२०२०), गोश्वारा हुलाकको डाँक केन्द्र (२०२२), हुलाक संग्रहालय (२०२८), हुलाक सेवा विभाग (२०२८), केन्द्रीय धनादेश कार्यालय (२०३१) लगायतका स्थापनाले हुलाक सेवाको आधार बलियो भएको बताइन् ।
त्यसैगरी २०८० तथा २०८१ मा गरिएको संरचनागत पुनःव्यवस्थापन–‘एक स्थानीय तह, एक हुलाक कार्यालय’–लाई सेवाप्रवाहलाई विकेन्द्रिकृत बनाउने महत्वपूर्ण कदमको रूपमा पेश गरियो ।
कार्यक्रममा विराटनगर हुलाक निर्देशनालयका निर्देशक विष्णुबहादुर बुढाथोकीले इएमएस द्रुत डाँक सेवाको कार्यप्रणालीबारे प्रस्तुति प्रदान गर्दै २७ देशमा यो सेवा विस्तार भइसकेको बताए ।
उनका अनुसार आन्तरिक इएमएसमार्फत २ किलोसम्म वैदेशिक इएमएसमार्फत २० किलोसम्म हुलाक वस्तु पठाउन सकिन्छ ।
जिल्ला हुलाक कार्यालय सुनसरीका प्रमुख कृष्णकुमार कार्कीढोलीले आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक हुलाक वस्तु दर्ता विवरण सार्वजनिक गर्दै स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका संयोजक राजन मेहता, इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरी, वडा नं. २ का अध्यक्ष माधव कोइराला र वडा नं. १२ का अध्यक्ष भुवनराज पोखरेलले हुलाक सेवाले डिजिटल युगसँग प्रतिस्पर्धा गर्न आधुनिक प्रविधि र द्रुत सेवा प्रवाहमा अझ ध्यान दिनुपर्ने सुझाव दिए ।
कार्यक्रमका आन्तरिक डाँक शाखा अधिकृत शालिकराम बस्यालले इएमएसलाई अझ प्रभावकारी बनाउन ग्राहक–मैत्री, पारदर्शी र प्रविधियुक्त सेवा अनिवार्य भएको बताए ।