इटहरी । कोशी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गराएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ प्रति नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिले कडा रूपमा विरोध गरेको छ । प्रेस स्वतन्त्रता र संवैधानिक मर्ममाथि प्रहार गर्ने गरी विधेयक अघि बढाइएमा महासंघले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
महासंघका महासचिव हिमाकुमारी चेम्जोङ्गले बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विधेयक न्याय, प्रशासन तथा विधायन समितिबाट सरोकारवालको परामर्श बिना पारित भएको पाइयो । प्रेससँग प्रत्यक्ष सरोकार राख्ने विधेयकमा पत्रकार महासंघ र अन्य सरोकारवालाको सुझावलाई बेवास्ता गरिनु अत्यन्त दुर्भाग्यपूर्ण र लोकतान्त्रिक मूल्य विपरीत हो ।’
सरकार नियन्त्रित सोचका साथ ल्याइएको विधेयक प्रेस स्वतन्त्रताको घोर उल्लंघन हो । ‘राजनीतिक नियुक्तिहरूले स्वतन्त्र पत्रकारमाथि जरिवानासहित दण्ड दिन सक्ने प्रावधान प्रेस नियन्त्रणको खतरनाक बाटो बन्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो केवल पत्रकारको कलममाथि होइन, लोकतन्त्र र गणतन्त्रमाथिको प्रहार हो ।’
महासंघले सरकारलाई पटक–पटक सच्याउन सुझाव दिँदै आएको भए पनि ती सुझाव सुन्ने चासो नदेखाइनु गम्भीर भुल भएको जनाएको छ । ‘सुझाव लिने औपचारिकता मात्रै पूरा गरेर विधेयक अघि बढाउने प्रवृत्तिले पारदर्शिता, जवाफदेहिता र सुशासनमाथि प्रश्न उठाएको छ,’ चेम्जोङ्गको भनाइ छ ।
महासंघले तत्काल सरोकारवालासँग गम्भीर छलफल गरी विधेयकमा संशोधन गर्न प्रदेश सरकारसँग माग गरेको छ । ‘अन्यथा, हामी बाध्यात्मक रूपमा सडक आन्दोलनमा उत्रिनेछौं,’ महासंघले चेतावनी दिएको छ ।