विराटनगर । कोशी प्रदेशभर तीव्र गतिमा फैलिएको लम्पी स्किन रोगकाकारण हजारौं गाईभैंसी सङ्क्रमित हुँदा कृषकहरूको जीवनयापन संकटमा परेको छ । यही विषयमा प्रदेशसभा बैठकमा सांसद सपना परियारले सरकारको ध्यानाकर्षण गराएकी छन् ।
मंगलबार बसेको बैठकमा सांसद परियारले रोग नियन्त्रणमा सरकारको ढिलासुस्तीप्रति पशुपालक किसानमा असन्तुष्टि बढेको भन्दै तत्काल प्रभावकारी खोप अभियान सञ्चालन गर्न माग गरिन् । ‘कृषक र पशुपालक हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन्,’उनले भनिन्, ‘लम्पी स्किन रोगलाई संकटको रूपमा बुझी तत्काल कार्ययोजना ल्याइनुपर्छ ।’
उनको भनाइमा, खोप अभियान थालिएको भए पनि अधिकांश पालिकामा खोप नपुगेको र संक्रमित पशुचौपायाका लागि थप खोप सुनिश्चित गर्न घरदैलो कार्यक्रम आवश्यक छ । साथै, संक्रमित पशुको मृत्युबाट प्रभावित किसानलाई राहत प्रदान गर्न आकस्मिक राहत कोष स्थापना गर्नुपर्ने माग पनि उनले गरिन् ।
सांसद परियारले जनचेतनाको अभावमा रोग फैलिरहेको भन्दै गोठ सरसफाइ, प्रचार–प्रसार र सूचना प्रवाहमा समेत सरकार गम्भीर हुनुपर्ने बताइन् । ‘हामीले हरेक कृषकको पीडा बुझ्नुपर्छ,’उनले भनिन्, ‘सरकारले तत्काल पहल नगरे ठूलो क्षति हुन सक्छ ।’
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सुनसरीका अनुसार जिल्लामा हालसम्म १,५१६ वटा पशुमा संक्रमण पुष्टि भइसकेको छ भने ५३ वटा मरेका छन् ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, विराटनगरका अनुसार कोशी प्रदेशका १० जिल्लामा १८,००० भन्दा बढी गाईभैंसी लम्पी स्किनबाट प्रभावित भएका छन् । तीमध्ये ४२० वटा पशु मरेका छन ्।
सबैभन्दा बढी झापा जिल्लामा १३,११८ गाईभैंसी संक्रमित छन् । अन्य जिल्लाहरूमा मोरङ (१,९५८), इलाम (१,६६५), सुनसरी (१,१००), उदयपुर (५०१), खोटाङ (३५५), भोजपुर (७३), ताप्लेजुङ (४५), धनकुटा (३३) र पाँचथरमा १० वटा पशुमा संक्रमण देखिएको छ ।
यो रोग लामखुट्टे, भुसुना, झिँगा, किर्ना आदिको टोकाइबाट पशुमा सर्ने गर्दछ । संक्रमित पशुहरुमा उच्च ज्वरो, शरीरमा गाँठा, घाउ तथा त्यसबाट रगत र पिप बग्ने लक्षणहरु देखिन्छ । समयमै उपचार नभएमा पशु मर्ने सम्भावना उच्च हुने पशुचिकित्सकहरुको भनाइछ ।