राजन केडी
इटहरी । नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा थालिएको राष्ट्रिय मुक्ति मार्च आइतबार इटहरी आइपुगेकोछ ।
११ दिन अघि पूर्व मेचीपुलबाट सुरु भएको मार्च पुष २१ गते आइतबार सुनसरीको इटहरी आइपुगेको हो । पुस ११ गते माओ दिवसको अवसर पारेर राष्ट्रिय मुक्ति मार्च थालिएको सो पार्टीका केन्द्रीय सदस्य बालकृष्ण गजमेर (इस्लाम)ले बताए ।
माओ त्से तुङ एक चिनियाँ क्रान्तिकारी, राजनीतिक विचारक थिए । उनकै नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो । माओले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल सन् १९४९ देखि सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका थिए ।
माओ दिवसका दिन नेपालका कम्युनिष्ट घटकहरुले विविध कार्यक्रम गरि मनाउने क्रम अन्तरगत सो पार्टीले राष्ट्रिय मुक्ति मार्च थालेको थियो । मार्च टोलीले आइतबार इटहरीमा कोणसभासमेत गरेकोछ । कोणसभालाई सो पार्टीका केन्द्रीय सहसंयोजक हरिकृष्ण गजुरेलले सम्बोधन गरेका थिए । मार्च टोलीको नेतासमेत रहेका उनले विदेशी उत्पीडन र निजीकरणको अन्त्य गर्न दबाब दिने उद्देश्यले आफूहरु मैदानमा उत्रिएको बताए । मुक्ति मार्च अभियानले राष्ट्रिय मुक्ति क्रान्ति र स्वाधिन र साम्यवादी गणतन्त्रको यात्रालाई थप मजबुद बनाउने उनले बताए । कोणसभालाई सो पार्टीकी केन्द्रीय सदस्य इन्दिरा अधिकारीले सम्बोधन गर्दै समाजमा भइरहेका महिला हिंसा अन्त्यका लागि आफूहरुले राष्ट्रिय मुक्ति अभियान थालेको बताइन् ।
यो यात्रा चितवन पुगेर समापन हुनेछ । पश्चिमको गड्डाचौकीबाट थालिएको सो पार्टीको अभियान टोली पनि त्यही आइपुग्ने र समापन हुने बताइएकोछ ।