‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको अग्र–मोर्चामा दलित नेत्रीहरू

  • कार्तिक १३, २०८० / नेपाल रेखा
alt

राजन केडी

इटहरी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ नाम दिई भुइँ–तहमा सञ्चालन गरिरहेका गतिविधिले परिवर्तन पक्षधर जनता र कार्यकर्तामा विशेष उभार आएको छ ।
भदौ १६ देखि थालिएको सो तीन महिने अभियान मध्यान्तरमा पुग्दैगर्दा आफूमा उर्जा थपिएको बताउँछिन् नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य धनमाया विश्वकर्मा (उर्मिला) ।
धनकुटा घर भएकी विश्वकर्मा यतिबेला उदयपुर जिल्लामा अभियान इन्चार्जको जिम्मेवारी निर्वाह गरिरहेकी छिन् । २०७९ मा भएको स्थानीय तह, प्रदेश र सङ्घको चुनावमा उनी धनकुटा जिल्लाको चुनावी इन्चार्जको भूमिकामा थिइन् ।
उदयपुर इन्चार्ज विश्वकर्माले अभियान सञ्चालन गर्दैगर्दा ‘पार्टी थप सङ्गठित र बलियो बन्छ भन्ने विश्वास’ आफूमा उत्पन्न भएको बताइन् । संविधानसभा सदस्य तथा शिक्षा राज्यमन्त्रीसमेत भएकी विश्वकर्माका अनुसार विशेष रूपान्तरण अभियानले पार्टी कमिटीमा देखिएका अन्तरविरोधहरूसमेत समाधान गर्न सजिलो भएको छ ।
उदयपुर जिल्ला इन्चार्जसहित कटारी नगरपालिका क्षेत्रमा पैदलै हिँडेर अभियानको अगुवाइ गरिरहेकी विश्वकर्माले बर्खामास, चुरे–भावर, चिप्लो बाटो, झोलुङ्गे पुल पनि नभएका कतिपय ठाउँ आदिमा अभियान संचालन गर्दैगर्दा जनयुद्धकालका कठिन दिनहरूको सम्झना आएको सुनाइन् ।
भौगोलिक विकटतालाई छिचोल्दै विश्वकर्माको नेतृत्वमा कटारीको ७, ८, ९, १०, र ११ नम्बर वडामा विविध गतिविधिहरू सञ्चालन भइरहेका छन् । अभियानअन्तर्गत बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण, सङ्गठन विस्तार र प्रचारलाई सामाजिक गतिविधिसँगै जोडिएको उनले बताइन् ।
केन्द्रीय सदस्य विश्वकर्माका अनुसार जिल्लामा घरदैलो, जन–भेटघाट, अन्तरक्रियाका साथै जनसेवामूलक कार्यलाई तीव्रता दिइएको छ । सँगसँगै सहिद परिवार एवम् जनयुद्धकालका सेल्टरदाता भेट्ने, उनीहरूका पिरमर्का बुझ्ने, पुराना कार्यकर्तालाई पार्टीमा जोड्नेलगायत कामहरू भइरहेका छन् । तोकिएको भूगोलमा यी कामहरूसहित अभियान जारी रहनेछ ।
२०५६ सालदेखि माओवादीमा क्रियाशील धनमाया विश्वकर्माको तत्कालीन सामाजिक रूपान्तरण अभियानलाई आत्मसात गर्दै विनोद खनालसँग अन्तर जातीय विवाह भएको थियो। जनविद्रोहका दैनिकका पत्रकार खनाल २०६२ सालमा मोरङको बेलबारीमा मारिए । उनलाई सुरक्षाकर्मीले घेरा हालेर, कब्जामा लिएर मारेका थिए ।
‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको अग्र–मोर्चामा रहेकी अर्की दलित नेत्री हुन्– अनिता परियार । केन्द्रीय सदस्य परियार मोरङको बुढीगङ्गा गाउँपालिकामा अभियान इन्चार्ज भएर खटिएकी छन् ।
संविधानसभा सदस्यसमेत रहेकी नेत्री परियारका अनुसार अभियानले जनतालाई उत्साहित बनाएको छ । ‘हामी पार्टीको नीति तथा कार्यक्रम लिएर बुढीगङ्गा गाउँपालिकाको दलित, थारु, मधेसी, मुस्लिम बस्तीलगायत सीमान्त क्षेत्रमा पुगेका छौँ,’ उनले भनिन्, ‘अभियानअन्तर्गत जनता माओवादी पार्टीको एजेन्डामा आकर्षित भइरहेका छन् ।’ यस अभियानबाट जनतासँग जोडिने क्रमलाई अटुट बनाउनुपर्ने रहेछ भन्ने शिक्षा आफूलाई मिलेको उनको भनाइ छ ।
बुढीगङ्गामा मोटरसाइकल दुर्घटनामा परी उपचारत अवस्थामा रहेका गाउँ पार्टी कमिटी अध्यक्ष डिल्ली आचार्यको धानखेत गोडेर अभियान आरम्भ गरिएको थियो । अभियानअन्तर्गत गाउँपालिकाकै सार्वजनिकस्थलहरूमा विभिन्न जातका पाँच सय ५० भन्दा बढी बिरुवा रोपिएका छन् ।
अभियानका क्रममा स्थानीयको सहभागितामा बुढीगङ्गा–२ स्थित मदरसा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम गरिएको छ भने जनसेवामूलक कार्यक्रम गर्दै यहाँ घर–घरमा माओवादी, जन–जनमा माओवादी भन्ने सन्देश टोल–टोलमा पुर्याइएको छ ।
यस पालिकामा पार्टी सदस्यता वितरण, विस्तार र नवीकरण कार्यलाई प्राथमिकतासाथ अघि बढाइएको छ । टोल भेला, टोल कमिटी गठनजस्ता साङ्गठानिक काम पनि सँगसँगै भइरहेका छन् ।
निवर्तमान मन्त्री तथा प्रतिनिधिसभा सदस्य अमनलाल मोदीकी आमा बालोदेबी मोदीबाट पार्टी सदस्यता नवीकरण गर्दै नवीकरण प्रक्रिया अघि बढाइएको केन्द्रीय सदस्य परियारले बताइन् । ‘हामीले पार्टी रूपान्तरणका लागि जनतासँग सुझाव सङ्कलन पनि गरिरहेका छौँ,’ उनले भनिन् ।
यहाँको मुस्लिम समुदायलाई पनि माओवादीको अभियानले आकर्षित गरेको छ । यसै क्रममा मोहम्मद हसरतको अध्यक्षतामा पार्टीको १३ सदस्यीय टोल कमिटी गठन गरिएको छ । बुढीगङ्गा–१ मा पार्टीको भगिनी सङ्गठन अनेम सङ्घ (क्रान्तिकारी) कमिटी पनि गठन गरिएको छ ।
अभियानमा जनताको उत्साहजनक सहभागिता देखिएकाले आफूलाई हौसला मिलेको परियारको भनाइ छ । अभियानलाई अझ व्यापक बनाउन युवालक्षित खेलकुद प्रतियोगिता, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान आदि कार्यक्रम गर्ने योजना छ । ‘पार्टी सदस्यहरूको वैचारिक राजनीतिक स्तर उकास्ने क्रियाकलाप पनि सञ्चालन गरिनेछ,’ परियारले भनिन् ।
दलित महिलाहरूबाट केन्द्रीय सदस्यमा पुग्ने सुनसरीकै अर्की नेत्री हुन्– उमिता विश्वकर्मा (रिमा) । सुनसरीको धरान घर भएकी उनी निवर्तमान कोसी प्रदेशसभा सदस्य पनि हुन् । उनलाई पार्टीले अभियानअन्तर्गत मोरङको लेटाङ र केराबारी गाउँपालिका क्षेत्रको जिम्मेबारीमा खटाएको छ ।
अभियानको क्रममा सहिद परिवार भेटघाटलाई विश्वकर्माको टोलीले प्राथमिकतामा राखेको छ । लेटाङ–५ मा सहिद ईश्वर ढुङ्गाना (प्रभात)की आमा, लेटाङ–८ जाँतेमा सहिद देवहरि अधिकारीका आमा–बुबा तथा लेटाङ–९ मा सहिद मेनुका लिम्बुका बुबासँग अभियानकर्मीले भेट गरेका थिए । लेटाङमा अभियान सफल बनाउन नगर पार्टी कमिटी इन्चार्ज गोपाल नेपालीले सक्दो सहयोग गरेको विश्वकर्माले बताइन् ।
सहिद परिवार भेटघाटकै क्रममा केराबारी–८ मा सहिद वीरबहादुर बस्नेतका आमा र भाइ, केराबारी–९ मा सहिद शर्मिला सुवेदीका बुबा तथा यसै वडाका अर्का सहिद नन्दकुमार थापाकी आमासँग अभियान टोलीको साक्षात्कार भएको थियो । अभियानको क्रममा जोडिएका सहिद परिवारका सदस्यले सहिदका सपना भुलेर दायाँ–बायाँ नगर्न कार्यकर्तालाई खबरदारी गरेका थिए ।
जनयुद्धकालमा सरकारद्वारा लगाइएको सङ्कटकालको अवधिमा सुरक्षाकर्मीको गिरफ्तारीमा परी चार महिनासम्म जेल जीवन बिताई यातनापीडित भएका राजनीतिक सहयात्री मौसम लिम्बू, बासु बराल र विवेक भट्टराईसँग पनि अभियानकै क्रममा उमिता विश्वकर्माको भेटघाट तथा अनुभूति साटासाट भएको थियो । २०५७ सालमा विश्वकर्मा पनि गिरफ्तारीमा परेकी थिइन् ।
जनयुद्धताका लेटाङका सेल्टरदाता तथा पूर्णकालीन कार्यकर्ता अर्जुन लिम्बू, पूर्व–जनमुक्ति सेना मेनुका तामाङ र जनयुद्धका घाइते योद्धा अजितसँग पनि भेटघाट र राजनीतिक कुराकानी भएको केन्द्रीय सदस्य विश्वकर्माले बताइन् ।
अभियानकै सिलसिलामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) केराबारी गाउँपालिका दोस्रो सम्मेलन तथा नेपाल दलित मुक्ति मोर्चाको वडा कमिटी गठनका साथै लेटाङ–८ को पार्टी कमिटी बैठक सम्पन्न भएको थियो ।
‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान चलाउँदै गर्दा केन्द्रीय सदस्य विश्वकर्माले सामाजिक रूपमा भने तितो अनुभव भएको सुनाइन् । उनले भनिन्, ‘गाउँमा छुवाछुतयुक्त व्यवहार कायमै भएको पाइयो, यसबाट मलाई पीडा अनुभव भएको छ ।’
रूपान्तरण अभियान चलाउदै गर्दा जनताले पार्टी र नेताका क्रियाकलापको आलोचना पनि गरेका छन् । नेताहरू सहरमा मात्र केन्द्रित भएको, गाउँमा आफूहरूलाई सहयोग नगरेकोलगायत गुनासो जनताको छ । ‘एजेन्डाको व्याख्या गरेर मात्र नपुग्ने रै’छ,’ विश्वकर्माले भनिन्, ‘व्यवहारले पनि जनताको मन जित्नुपर्ने रै’छ ।’
‘तल्ला कमिटीहरूमा पार्टीको साङ्गठनिक सेट भत्किएको पाइयो,’ उनले थपिन्, ‘भत्किएको सेटलाई व्यवस्थित बनाएर परिचालन गर्न सके पार्टी पूर्ववत् बलियो हुने विश्वास छ ।’
सुनसरीको इटहरीमा बसोबास गरिरहेकी नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य सपना परियारलाई पार्टीले मोरङको कटहरी र ग्रामथान गाउँपालिकामा अभियानको नेतृत्व गर्ने जिम्मा दिएको छ ।
कटहरी–६ मा वृक्षरोपण तथा रक्तदान कार्यक्रम गरी जनतासँग माओवादी विशेष रूपान्तरण अभियान उद्घाटन गरिएको थियो । त्यसै दिन कटहरी १ र २ मा सार्वजनिक स्थानमा सरसफाइसमेत गरिएको थियो ।
कोशी प्रदेशसभा सदस्यसमेत रहेकी परियारले जनयुद्धका क्रममा कटहरीमा सहिद भएका होलाइ राजवंशीको घर पुगेर अभियानको क्रमलाई गति दिएकी थिइन् । उनले होलाइकी पत्नी शान्तिदेवी राजवंशीलाई भेटेपछि अभियान थप प्रभावकारी बनेको प्रतिक्रिया दिइन् । शान्तिदेवी पनि संविधानसभा सदस्य हुन् । उनका छोरा अत्यानन्द राजवंशी त्यस क्षेत्रका सक्रिय युवा नेता हुन् ।
कटहरी–५ मा भने कार्यकर्ता अभिमुखीकरण गरी अभियान थालनी गरिएको थियो । केन्द्रीय सदस्य सपना परियार, कटहरी गाउँ पार्टी अध्यक्ष वीरबुद्ध मुडियारी, उपाध्यक्ष सीता मुडियारीले अभियानबारे प्रशिक्षित गरेका थिए । ग्रामथान १ र २ मा पनि अभियानबारे कार्यकर्ता प्रशिक्षण तथा युवाहरूका सवालबारे छलफल गरिएको थियो ।
कटहरीको मुडियारी टोलमा पनि अभियानको उज्यालो पुगेको छ । त्यहाँ अन्तु मुडीयारीलाई नेता बनाइएको छ । कटहरीकै गहेली टोल तथा थलाहामा टोल कमिटी गठन गरिएका छन् ।
ग्रामथान भट्टा टोलका दलितहरूलाई दलित राष्ट्रिय मुक्ति मोर्चामातहत सङ्गठित गरिएको छ । ग्रामथान सरदार टोलवासीले माओवादी पार्टीका नेता–कार्यकर्ता चुनावको बेलामात्र आफूहरूको घरमा आउने गरेको गुनासो गरेका थिए ।
ग्रामथान–४ मा सार्वजनिकस्थलमा सरसफाइ गरी अभियान अघि बढाइएको छ । माओवादी नेता–कार्यकर्ताले नेता चोकमा सरसफाइ गर्न थालेको देखेर स्थानीयसमेत कुचो–खरेटो र सफाइ सामग्री बोकेर अभियानमा जोडिएका थिए । अभियानअन्तर्गत ग्रामथान–५ स्थित देवी आधारभूत विद्यालय परिसरमा वृक्षरोपण गरिएको थियो ।
अभियानका क्रममा सङ्गठित रन्जित सरदारले ग्रामथान खङगरिया झोराको सरदार बस्तीमा सुनिता सरदारले थान टोलमा पार्टीको नेतृत्व गर्ने छन् । भसवारी र ढकियाबारीमा पनि टोल भेला गरिएको छ ।
ग्रामथान–७ मा १३ सदस्यीय लभ टोल कमिटी निर्माण गरिएको छ, जसको संयोजक राजो चौधरी रहेकी छन् । वडा नम्बर ७ मा स्वस्तिका चौधरीको नेतृत्वमा ११ सदस्यीय टोल कमिटी पनि गठन गरिएको छ । अभियानकै सिलसिलामा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको पनि टोल कमिटी गठन गरिएको छ, जसको नेतृत्वमा स्वस्तिका भगत रहेकी छन् ।
दुई पालिका (कटहरी र ग्रामथान)मा अभियान चलाइरहेकी परियारले जनता र माओवादीबीचको सम्बन्धलाई मजबुत बनाउन आफूहरू गाउँ–गाउँमा पुगेको बताइन् । उनले कात्तिक २६ देखि मङ्सिर ४ गतेसम्म तिहार र छैठलक्षित सांस्कृतिक कार्यक्रम गर्ने योजना रहेको पनि सुनाइन् ।
अभियानको सफलताबारे लेखाजोखा हुँदै गर्दा दलित मुद्दामा लेखिरहेका अग्रज पत्रकार गणेश लम्सालले नेपालमा दलित महिलाको राजनीतिक चेतनाको स्तर निकै माथि पुगिसकेको बताए । ‘रूपान्तरण अभियान’मा जातीय र लैङ्गिक विभेदविरुद्धको सङ्घर्षलाई पनि प्राथमिकता दिनुपर्ने पत्रकार लम्सालको सुझाव छ ।

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]