इटहरी । चार दल सम्मलित समाजवादी मोर्चाले सुनसरी जिल्ला स्तरीय सन्देश सभा गर्ने भएको छ ।
विहीबार नेकपा (माओवादी केन्द्र) सुनसरीको जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै मोर्चा सम्मलित दलका नेताहरूले असोज २६ गते शुक्रबार सन्देश सभा गर्न लागिएको जानकारी गराएका छन् । सन्देश सभाको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमा बताइयो । सभा इनरुवा स्थित निर्माण व्यवसायी संघको सभा हलमा ११ बजेदेखि हुनेछ ।
नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी सम्मलित मोर्चामा चार पार्टीका जिल्ला अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाजवादी सिद्वान्त, कार्यक्रम र कार्यदिशालाई सफल बनाउन सन्देश सभा आयोजना गरिएको उल्लेख गरिएको छ ।
सन्देश सभालाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव एवम् कोशी प्रदेश इन्चार्च चक्रपाणी खनाल (बलदेव), नेकपा एकीकृत समाजवादीका पोलिट व्यूरो सदस्य तथा प्रदेश कमिटि सचिव महेश रेग्मी, जनता समाजवादी नेपाल केन्द्रीय सदस्य जयराम यादव र नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य अनिल सिले सम्बोधन गर्नेछन् ।
विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र)का सुनसरी जिल्ला संयोजक योगेन्द्रप्रसाद मण्डल (पप्पु), नेकपा एकीकृत समाजवादी सुनसरी जिल्ला अध्यक्ष गोविन्द निरौला, नेपाल कम्युनिष्ट पार्टी सुनसरी इन्चार्ज डिबी सि र जनता समाजवादी पार्टी नेपाल सुनसरी अध्यक्ष भगिरथ खत्वेले हस्ताक्षर गरेका छन् ।