काठमाडौँ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धन निरन्तररुपमा पाँच वर्ष चल्नुपर्ने बताएका छन् । शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता कार्कीले यो गठबन्धन अहिले मुलुकको आवश्यकता भएको बताए ।
‘केन्द्र र प्रदेशको सरकारबारे पनि कुरा छ । बजार र छापाहरुमा गठबन्धनको सरकारबारे धेरै समाचार आइरहेका छन् । यो गठबन्धन अहिले मुलुकको आवश्यकता हो । यो गठबन्धन निरन्तररुपमा पाँच वर्ष चल्नुपर्दछ,’ उनले भने ।
यो गठबन्धन पाँच वर्ष निरन्तर चलेन भने देशमा एक किसिमको अन्यौलता आउने उनको भनाइ छ । ‘हाम्रो समाजमा जुन निराशा रहेको छ,’ कार्की भन्छन्, ‘त्यो निराशाको जगमा अहिले चलिरहेको पपुलिजमले मुलुकको राजनीतिलाई अर्कै दिशातर्फ केन्द्रित गर्न सक्छ । त्यसतर्फ पनि हामी सजक हुनुपर्छ ।’
यस्तै उनले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीको अहिले मूल्यांकन गर्ने बेला नभएको बताए । ‘हामी २०४८ साल यता कुनै न कुनै रुपमा सरकारमा छौँ । अहिले हाम्रा साथीहरु सरकारमा हुनुहुन्छ,’ उनी भन्छन्, ‘उहाँहरुको मुल्याङ्कन गर्ने अहिले बेला भइसकेको छैन । साथीहरुले प्रभावकारी रुपमै काम गरिराख्नु भएको छ । अझै प्रभावकारी रुपमा काम गर्न साथीहरुलाई हामीले प्रेरित गर्नुपर्छ ।’
नेता कार्कीले बैठकमा महामन्त्रीको कार्याशैलीमाथि प्रश्न उठाएका छन् । कांग्रेसले साउन २० देखि ३० गतेसम्म सञ्चालन गरेको आन्तरिक विशेष अभियान व्यवहारिक नभएको कार्कीको भनाइ थियो ।
‘महामन्त्रीबाट प्रस्तुत एजेण्डाबारे मेरो धेरै टिप्पणी छैन । हामीले कार्यक्रम तय गर्दा व्यवहारिक र प्रभावकारी हुनुपर्छ । साउन महिनामा कार्यक्रम गर्ने समय थिएन,’ उनले भने, ‘तथापि ७७ जिल्लामा केन्द्रीय साथीहरु गरेर कार्यक्रम गर्नुभयो । यसको प्रभाव संगठनमा परेको छ । आगामी दिनमा कार्यक्रम तय गर्दा सबै कुरालाई विचार गर्न आग्रह गर्न चाहन्छु ।’
नेता कार्कीले केन्द्रीय समितिमा थाहा नदिएर महामन्त्रीहरुले ७५३ वटा पालिका सेवा दल गठन गर्ने निर्णय गरेको भन्दै विमति जनाए । ‘म केही दिनअघि जिल्लामा गएको थिएँ । जिल्लाका साथीहरुले यो सेवा दल भनेको के हो भनेर मलाई सोध्नु भयो ,’ उनले भने, ‘म पनि केन्द्रीय समितिमा थिएँ । सेवा दल कतिखेर बन्यो मलाई थाहा भएन । म चुपचाप बसेँ । सांगठनिक रुपमा साथीहरुमा एक किसिमको दुबिधा मैले पाएँ ।’
स्थानीय नागरिकको सुख, दुःखको सहयात्रीका रुपमा मानवीय सेवाका कामहरु गर्ने सेवा दल गठन गर्न लागिएको महामन्त्रीहरुले बताएका थिए ।
यस्ता काम जिल्लाका नेता–कार्यकर्ताबाट हुनुपर्ने भन्दै सेवा दल गठनको औचित्य नभएको कार्कीको तर्क थियो । ‘जिल्लामा साथीहरु सेवा दल बनाउनुहुन्छ कि के गर्नुहुन्छ आफै गर्न सक्नुहुन्छ । त्यस्तो कार्यक्रम बनाउँदा ध्यान दिइयोस् भन्ने मेरो आग्रह छ,’ उनले भने ।
पार्टी संगठनलाई कसरी मजबुद गर्ने भन्दा पनि संगठनका एक दुई जनालाई आफ्नो पक्षमा पार्न मात्र नेताहरुको ध्यान केन्द्रित भएको कार्कीको आरोप थियो । ‘यो संस्कृतिको विकास भए कांग्रेसले अहिले आउने चुनौतीको समाना गर्न सक्दैन,’ उनले भने ।