चेपाङले मनाए ‘न्वागी’

  • भदौ २३, २०७९ / नेपाल रेखा
alt

भरतपुर । चितवनका चेपाङ समुदायले ‘न्वागी’ पर्व मनाएका छन् । हरेक वर्ष भदौ महिनामा चेपाङ समुदायले यो पर्व मनाउँदै आएका छन् ।
भदौमा नयाँ अन्नबाली र फलफूल पाकेपछि यो पूजा गर्ने चलन छ । केही वर्षयता नेपाल चेपाङ सङ्घको पहलमा भदौ २२ गतेलाई छोनाम अर्थात् ‘न्वागी’ राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । यस दिन चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमि पूजा गरी पितृलाई खुवाउने गरिन्छ । झाँक्रीले पूजा नगरी गाउँमा नयाँ फलफूल तथा अन्न खाएमा रोगव्याधी लाग्ने विश्वास यो समुदायमा छ ।
रत्ननगर–१० स्थित गामबेँसी चेपाङ संरक्षण केन्द्रमा पनि त्यसैगरी झाँक्रीले पूजा गरी न्वागी मनाइयो । पूजामा सरिक झाँक्री अमितलाल चेपाङले भने, “यो हाम्रो ठूलो चाड हो, हामीले पूजा नगरी नयाँ अन्न कसैले खानु हुँदैन ।”उनले नयाँ अन्नको पूजा नगरी खाँदा विभिन्न रोगव्याधी लाग्ने विश्वास रहिआएको बताए ।
न्वागीमा छरछिमेकी र नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख दुःख साट्ने गरिन्छ । तर, पछिल्लो समय यो पर्व पनि लोप हुने खतरा बढेको छ । धर्म परिवर्तनले उनीहरूको मौलिक परम्परा नै धुमिल बन्दै गएको छ । यो पर्व मनाउने चेपाङ घट्ने क्रममा छन् । राप्ती नगरपालिका–१२, वाकराङका सञ्जीव चेपाङ पछिल्लो समय यो पर्व मनाउनेको सङ्ख्या घट्दो क्रममा रहेको बताउछन् ।
“पहिले धुमधामका साथ यो पर्व मनाइन्थ्यो, अहिले घट्दो अवस्थामा छ”,उनले भने “पछिल्लो समय धर्म परिवर्तनले झाँक्री लगाएर पूजा गर्ने चलन हट्न थालेको छ ।”
राप्ती नगरपालिकाकै कृष्णलाल चेपाङलाई पनि विगतभन्दा अहिले यो पर्व मनाउने अवस्था फेरिँदै गएको महसुस हुन्छ । “धर्म परिवर्तन गर्नेले मनाउन छोड्दै गएका छन्”, उनले भने । चेपाङ राप्ती नदी उत्तर र त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शङ्खला वरिपरिका रैथाने मानिन्छन् ।
मकवानपुर पश्चिम, चितवनको उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङको बसोबास छ । चेपाङको आफ्नै भाषा, संस्कृति र वेषभूषा रहे पनि त्यसको संरक्षण चुनौती बनेको छ । विगतदेखि मान्दै आएको चाडपर्व कतै लोप हुने हो कि भन्ने उनीहरूमा चिन्ता छ ।
चेपाङको जीवन वनजङ्गल र जमिनसँग जोडिएको छ । उनीहरू वनजङ्गल नजिक, भिरालो परेको जमिन र खोला नजिक छरिएर रहेका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा चेपाङको सङ्ख्या ६८ हजारभन्दा बढी छ । चेपाङको पर्वमा पहिलो पटक बागमती प्रदेशले सार्वजनिक बिदा दिएर सम्मान गरेको छ ।
गामबेँसी चेपाङ संरक्षण केन्द्रमा ‘न्वागी’
रत्ननगरको गामबेँसी चेपाङ संरक्षण केन्द्रमा ‘न्वागी’ पर्व मनाइएको छ । चेपाङ बालबालिकालाई आवासीय रुपमा शिक्षा दिँदै आइरहेको संरक्षण केन्द्रले बालबालिकामा संस्कृति संरक्षणका लागि चेतना बढोस् भन्ने उद्देश्यले पर्व मनाइएको केन्द्रका अध्यक्ष केपीकिरण शर्माले बताए ।
“अहिले धर्म परिवर्तन गरेर धेरै चेपाङले आफ्नो पर्व नै मनाउन छाडेका छन्, यहाँ रहेका बालबालिकाले ज्ञान प्राप्त गरुन् भनेर आश्रममै पर्व मनाएका हौँ”, उनले भने।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]