कुमोद अधिकारी विराटनगर । वैदेशिक रोजगारमा जानेहरुकालागि बनेको नीति तथा कानुनहरु प्रभावकारी कार्यान्वयन नहुदा कामदारहरु ठगिने गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । मानव अधिकारकालागि जनमन्च पिपुल फोरमले विराटनगरमा शनिबार वैदेशिक रोजगार कानुनसम्वन्धि संचारकर्मीहरुसंगको अभिमुखि कार्यक्रममा वक्ताहरुले सुरक्षित वैदेशिक रोजगारका लागि संचारकर्मीको भूमिका अहम् हुने बताए । खाडी राष्ट्रमा जाने कामदारका लागि सरकारले १० हजार तथा शुन्य शुल्क लाग्ने व्यवस्था गरेकाले संचारकर्मीहरुले समाचार सम्प्रेषण गरेर त्यस्ता विषयलाई प्राथमिकता दिनुपर्नेमा उनीहरुले जोड दिए । पिपुल फोरमका संस्थापन अध्यक्ष एंव वरिष्ठ अधिवक्ता सोम लुइटेलले आप्रवासी कामदारको अवस्था र मानव वेचविखन सम्वन्धि अवधारणा पत्र प्रस्तुत गर्दै वैदेशिक रोजगारको कानुनीपंक्षबारे जानकारी गराएका थिए । वैदेशिक रोजगारबाट वार्षिक वजेटको आधा हिस्सा ९ खर्व रुपैया भन्दा वढि विप्रेषण नेपालमा आउने गरेकाले सुरक्षित वैदेशिक रोजागारीका लागि सरकाले पहल गर्नु आवश्यक रहेको उनले बताए । उनले सरकारले १ सय ११ वटा राष्ट्रमा जानका लागि सरकारले श्रम स्वीकृती दिएपनि सबै राष्ट्रमा नियोग स्थापना नहुदा कामदारहरुलाई समस्या पर्ने गरेको बताए । त्यस्तै वैदेशिक रोजगारको प्रवृती र संचारकर्मीको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै संचारकर्मी रुद्र खड्काले नेपालमै कृषि, पर्याटन तथा अन्य व्यवसायमा रोजगारीका प्रसस्त संभावना रहेकाले यस्ता विषयलाई महत्व दिनेखालका समाचार सम्प्रेषण गर्न संचारकर्मीलाई आग्रह गरे । प्रत्येक दिन दुई हजारका दरले महिना नेपालवाट ६० हजार मानिस वैदेशिक रोजागरमा जाने गरेको उनको भनाई थियो । २०७५ सालदेखी एजेन्टवाट विदेश पठाउन पाउने व्यवस्था सरकाले खारेज गरेको भन्दै यस्ता विषयलाई समाचार बनाएर खवरदारी गर्न संचारकर्मीलाई आग्रह गरे । उनले कामका लागि रोजागारीमा जानै परे सिप सिकेरमा मात्र जान आग्रह गरे । पिपुल फोरमकी कानुन अधिकृत एंव अधिवक्ता कला त्रितालले वैदेशिक रोजगारमा जानेहरु ठगीमा तथा अन्य समस्यामा परेकाहरुको न्यायका लागि संस्थाले काम गर्दै आएको बताउदै त्यस्ता केहि समस्या भए विराटनगर स्थित आफ्नो कार्यालयमा आएर उजुरी दिन समेत आग्रह गरिन् । गत आर्थिक वर्ष देशभरका २६ हजार दुईसय जनालाई आफ्नो संस्थाले निःशुल्क कानुनी साहयता प्रदान गरेको उनको भनाइ थियो । संस्थाले दिएको जानकारी अनुसार बाह्य मुलुकमा ६० लाख भन्दा वढि नेपाली कामदार रहेका छन् । त्यसबाट गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ९ खर्व ४ अर्व विप्रेषण प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७।०७८ मा नेपालमा ९ खर्व ६१ अर्व विप्रेषण नेपाल भित्रिएको सो अवसरमा जानकारी गराइएको थियो । नेपालको कुल ग्राहस्थ्य उत्पादन जिडिपीमा विप्रेषणका २५ प्रतिशत हिस्सा रहेको छ ।